केन्द्रीय कमिटी बैठकले पदाधिकारी टुङ्ग्याउँछः गुरुङ – Nepal Press

केन्द्रीय कमिटी बैठकले पदाधिकारी टुङ्ग्याउँछः गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले आगामी असार १५ गतेदेखि बस्ने पार्टीको केन्द्रीय कमिटी बैठकले पदाधिकारी टुङ्ग्याउने बताएका छन् ।

महाधिवेशन भएको महिनौ‌ं बितिसक्दा पनि माओवादी केन्द्रले पदाधिकारीको टुंगो नलगाएकाे समयमा उनले यस्तो बताएका हुन् ।

माओवादी केन्द्रका प्रमुख सचेतकसमेत रहेका नेता गुरुङले एमाले संसद विघटन गरेर प्रतिगमनतिर गएकाले पार्टीले कांग्रेससँग सहकार्य गरेर स्थानीय तह निर्वाचनमा जानुपरेको बताए । ‘यदि तत्कालीन नेकपाको एक समूह प्रतिगमनमा नगएको भए स्थानीय तह निर्वाचनमा देशभर कम्युनिष्ट पार्टीको वर्चश्व हुने थियो’, उनले भने ।

कांग्रेससँग मिलेर चुनावमा जाँदा सोचेजस्तो परिणाम नआएका कारण आगामी प्रदेश तथा संघीय चुनावमा वाम गठबन्धन हुन सक्नेतर्फ नेता गुरुङले संकेत गरे ।

गुरुङले भने, ‘राष्ट्रिय स्वाधीनताको सवालमा निकट रहेका पार्टीसँग सहकार्य गरेर जान सकिन्छ । हामी प्रदेश तथा संघीय चुनावमा राष्ट्रिय स्वाधीनताको सवालका मुद्दा मिल्ने माओवादी नजिकका दलहरुसँग सहकार्य गर्छौं । गठबन्धन रहिरहेको अवस्थामा गठबन्धनबाट नै गए पनि कतिपय स्थानमा अन्य दलहरुसँग पनि सहकार्य हुन सक्ने सम्भावना छ ।’

माओवादीको असार १५ मा बस्ने केन्द्रीय कमिटीको बैठकले पदाधिकारी टुंगो लगाउने भनिए पनि माओवादी निकट अधिकांश जनवर्गीय संगठनहरुले समेत अझै पदाधिकारीको टुंगो लगाउन सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर