देशमा अमेरिकी सैन्य गठबन्धन एमालेलाई अस्वीकार्य : महासचिव पोखरेल – Nepal Press

देशमा अमेरिकी सैन्य गठबन्धन एमालेलाई अस्वीकार्य : महासचिव पोखरेल

रूपन्देही । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशलाई अमेरिकी सैन्य गठबन्धनमा सहभागी गराउन लागिएको टिप्पणी गरेका छन् ।

प्रेस चौतारीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत अमेरिकी सैन्य गठबन्धनमा सामेल गर्न खोजिएको बताए । पोखरेलले कुनै पनि बहानामा सैनिक गठबन्धनको पक्षमा एमाले नरहेको स्पष्ट पारे ।

उनले भने, ‘नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत अमेरिकी सैन्य रणनीतिमा देशलाई पुर्‍याए गलत काम भैरहेको छ । कुनैपनि बहानामा सैनिक गठबन्धनको पक्षमा एमाले छैन । असंलग्न परराष्ट्र नीतिको पक्षमा एमाले छ ।’

नेता पोखरेलले पन्चशीलको राजनीतिक सिद्धान्तविपरीत गठबन्धन सरकार अगाडि बढ्न खोजे एमालेले प्रतिकार गर्ने बताए ।

महासचिव पोखरेलले स्थानीय तहको निर्वाचन परिणामले एमालेले जनमत थपेपनि पाँच दलको गठबन्धनका कारण केही पालिकाको नेतृत्व गुमाएको बताए । गठबन्धनबाट कांग्रेस पहिलो भएको हो, यो विषयमा कोही भ्रममा नपरे हुन्छ, एकल प्रतिस्पर्धामा, मतका आधारमा एमाले नै पहिलो छ, गठबन्धनलाई एक पक्ष र एमालेलाई अर्को पक्ष मान्दा मात्रै एमाले दोस्रो भएको हो, पोखरेलको दाबी थियो ।

अहिलेको गठबन्धन सरकार सत्ता स्वार्थका लागि मात्रै बनेको र यसबाट कुनै विकास तथा समृद्धिको काम हुन नसक्ने उनको आरोप थियो ।

‘आर्थिक अवस्था देख्नुभएको छ, पुँजीगत खर्च विगतमा कस्तो थियो अहिले हेर्नुस्, बैंकमा रकम छैन, बजारमा पनि छैन, यो गतसाल ल्याएको प्रतिस्थापन विधेयकले गर्दा हो, देशमा अझै ठूलो आर्थिक संकट आउने अवस्था छ’, पोखरेलले भने ।

नाममात्रका वामपन्थी दलहरू कांग्रेसलाई बोकेर सरकारमा जाने, चुनावी गठबन्धन गर्ने अनि एमालेसँग बामगठबन्धनको चर्चा चलाउने गरेको पोखरेलले बताए । ‘बामगठबन्धनका लागि उहाँहरूले दक्षिणपन्थी यात्रा पहिले छोड्नुपरो अनि बल्ल यतातिर कुरा गर्न आउनुपर्छ अन्यथा त्यो दाउपेच मात्र बन्नेछ’, उनको भनाइ थियो ।

महासचिव पोखरेलले पार्टी विभाजन भएको बेला, सबै दलको गठबन्धन भएको बेला आएको जनमतले एमाले कमजोर नभएको दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर