बागमती प्रदेशसभा सदस्य गुरुङ भन्छिन्- प्रदेश संरचनाले देश टाट पल्टने अवस्थामा पुग्यो तुरुन्तै खारेज गरौँ – Nepal Press

बागमती प्रदेशसभा सदस्य गुरुङ भन्छिन्- प्रदेश संरचनाले देश टाट पल्टने अवस्थामा पुग्यो तुरुन्तै खारेज गरौँ

हेटौँडा । बागमती प्रदेशसभा सदस्य रिना गुरुङले नेपालमा प्रदेश संरचना आवश्यक नरहेको भन्दै प्रदेश सरकार तुरुन्तै खारेजी गर्नुपर्ने बताएकी छन् ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक २०७९÷८० को लागि बजेट प्रस्तुत गरेपछि प्रतिक्रिया दिँदै प्रदेशसभा सदस्य गुरुङले पाँच वर्षभरी प्रदेशसभा सञ्चालन, सरकार सञ्चालनमा लागेको करिब अरबौ खर्च खेर गएको र उक्त रकम स्थानीय सरकारलाई दिएको भए देशले मुहार फेरिसक्ने बताइन् ।

उनले भनिन् ‘प्रदेश सरकारले १ सय रुपैँया खर्च गर्न १ सय ५० रुपैँया भन्दा धेरै लगानी गर्नुपरेको छ, यसरी देश कहाँ पुग्छ ? ’ प्रदेश तहले कर्मचारी, मन्त्री देखि उनीहरुका सचिवालय, सांसदहरु पाल्नको लागि मात्र पाँच वर्षमा सयौं अरब खर्च गरेको भन्दै उनले यस्तो प्रदेश संरचनाले देश टाट पल्टने बताइन्।

गठवन्धनको सरकारले ल्याएको बजेटको आकार मात्र ठुलो भएको भन्दै गुरुङले यो बजेटल विपन्न किसानको मुद्धालाई कतैपनि नछोएको समेत टिप्पणी गरिन्।

उनले भनिन् ‘बजेटमा जनयुद्ध, जनआन्दोलनमा घाइते, अपाङ्गता भएकाहरुको लागि सहुलियतको व्यवस्था गरिएको छ तर बर्षौंबाट खेती किसानी गरेर जीवन बिताइरहेको आम किसानहरुको लागि कतै केही सहुलियतको व्यवस्था नै छैन, के अब सहुलियत पाउन कुनै दलको कार्यकर्तानै बन्नुपर्ने हो त ? ’

प्रदेश सरकारको खर्चको अवस्था बितेको पाँच वर्षमा निकै निरासालाग्दो रहेको भन्दै यो संरचना खारेज नभएसम्म विकासले गति लिन नसक्ने उनले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर