एसपीपीबारे ईश्वरको चुनौती- ओलीका पालामा अगाडि बढेको प्रमाण प्रस्तुत गर्नुस् – Nepal Press

एसपीपीबारे ईश्वरको चुनौती- ओलीका पालामा अगाडि बढेको प्रमाण प्रस्तुत गर्नुस्

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं सांसद ईश्वर पोखरेलले अमेरिकाको स्टेट पार्टनसिप प्रोग्राम (एसपीपी) एमाले सरकारका पालामा अगाडि बढेको प्रमाण दिन चुनौती दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

यसअघि आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओलीका पालामा सन् २०१९ मा एसपीपी अगाडि बढेको बताएका थिए । यही कुराको प्रतिक्रिया दिँदै सांसद पोखरेलले एमाले सरकारका पालामा अगाडि बढेको प्रमाण पेस गरे जिम्मेवारी लिन तयार रहेको बताए ।

सांसद पोखरेलले एसपीपी प्रस्ताव पठाउँदा सन् २०१५ मा सुशिल कोइराला प्रधानमन्त्री र २०१७ मा शेरबहादुर देउवा प्रधानमन्त्री रहेको दाबी गरे ।
‘त्यतिबेला सकारात्मक ढंगले प्रस्ताव पठाउनेहरू अहिले गलत कुराहरू जो बोलिरहनुभएको छ । एमालेप्रति संकेत गर्दै जुन आक्षेप लगाउनुभएको छ म निन्दा गर्न चाहन्छु,’ उनले भने, ‘म चुनौतीका साथ भन्न चाहन्छु केपी ओलीको नेतृत्वको सरकारमा म उपप्रधानमन्त्री र रक्षामन्त्री थिए । यदि त्योबेला कुनैपनि सकारात्मक कुरा, त्यसका लिखत, वक्तव्यहरू, माइन्युटहरू केही भए यो संसदसमक्ष प्रस्तुत गरियोस् त्यसको जिम्मेवारी लिन हामी तयार छौं ।’

ओली सरकारका पालामा यो विषय उठ्दा कार्यदल निर्माण गरेको सांसद पोखरेलले बताए । त्यो कार्यदलमा परराष्ट्र सचिव, रक्षासचिव, गृहसचिव र नेपाली सेनाको प्रतिनिधित्व रहेको बताउँदै उनले भने, ‘अगाडि बढाउनु उचित हुँदैन भनेर निष्कर्ष निकालेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर