वामदेवको टिप्पणी- एमसीसी आईपीएसकै अंग हो, एसपीपीबाट हामी बच्यौँ (भिडिओ) – Nepal Press

वामदेवको टिप्पणी- एमसीसी आईपीएसकै अंग हो, एसपीपीबाट हामी बच्यौँ (भिडिओ)

काठमाडौं । राष्ट्रियसभाका सदस्य वामदेव गौतमले अमेरिकी सहायता नियोग (एमसीसी) इन्डो-प्यासिफिक स्टाट्रेजी (आईपीएस) कै अंग भएको दाबी गरेका छन् । राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

‘एमसीसी आईपिएसकै एउटा अंग हो,’ सांसद गौतमले भने,‘शेरबहादुर देउवाजीको पालामा पहिलो सम्झौता भयो, दोस्रो पटक केपी ओलीजीको पालामा भयो । संसदबाट अनुमोदन भएको छ ।’

नेपाल पक्षलाई प्रतिबद्ध गराउन र देशव्यापी भएको विरोधलाई मत्थर पार्न मात्रै १२ बुँदे व्याख्यात्मक घोषणा गरिएको उनले बताए । ‘त्यसले हामीलाई नैतिक बन्धनमा राख्छ, अमेरिकालाई राख्दैन,’ उनले थपे ।

पछिल्लो समय स्टेट पार्टनरसिप प्रोजेक्ट (एसपीपी) नेपाललाई अमेरिकी सैनिक गठबन्धनमा समावेश गर्नका लागि रहेको गौतमले दाबी गरे । संसदमा समयमै कुरा उठ्दा नेपाल जोगिएको भन्दै उनले भने, ‘एसपीपी नेपालको शिरमाथि बज्र प्रहार हुनेवाला थियो त्यसबाट मुक्त भयौँ ।’

प्रधानमन्त्री शेरबहादुर देउवामा देशको विकास गर्नुपर्ने नाममा जे-जे गर्नुपर्छ सबै तयार हुने चरित्र रहेको उनको आरोप छ ।

‘शेरबहादुरजी देशको विकास गर्नुपर्छ भने, के के गर्नुपर्छ ? भनेर सोधे, के के गर्नुपर्छ सबै गर्ने भन्दिनुहुन्छ । कसैले सहयोग गर्छ हात थापिहाल्नुहुन्छ । उहाँको चरित्र त्यस्तो हो,’ उनले भने । त्यसले स्वयम् देउवालाई पनि धेरै नोक्सान गरेको, राष्ट्रलाई पनि गरेको र सम्भवत: नेपाली कांग्रेसलाई पनि उत्तिकै नोक्सान गरेको उनले बताए । उनले भने, ‘अहिले एसपीपी आउँदावित्तिक्कै पनि उहाँ तयार हुनुभो ।’

संसदमा छलफल भएपछि अहिले नेपाली कांग्रेसले त्यसमा सहमत नहुने निर्णय गरेको र प्रधानमन्त्री देउवाका तर्फबाट गृहमन्त्री बालकृष्ण खाण सदनमा आएर हामी यो सम्झौता गर्दैनौँ भन्न पुगेको सांसद गौतमको दाबी छ ।

एसपीपीका सन्दर्भमा नेपालमा पहिले भएको भनिएका पत्राचारमा तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाको सहभागिता नरहेको पनि सांसद गौतमले दाबी गरे ।

उनले भने, ‘मेरो नजरमा सुशिल कोइराला सन्त नेता हो । मैले उहाँसित कहिल्यैपनि मत बझाइन् । मसँग सल्लाह नभइकन उहाँले केही पनि राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका काम गर्नुभएन, निर्णय गर्नुभएन ।’

अहिले कुरा उठ्दा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशिल कोइरालाको पालामा भएको भनेपछि आफ्नो ध्यान केन्द्रीत भएको उनले बताए ।

‘सुशिल कोइरालाका पालामा भएको भए त्यसमा संलग्न हुन्छु । म फेरि प्रधानमन्त्रीले गरेको हो, म त छैन भन्दिन् । सरकारमा सामेल भइसकेपछि प्रधानमन्त्रीले गरेको काम प्रधानमन्त्रीको विचारसित सहमत हुनुपर्छ,’ उनले भने,‘त्यसो भएर ममाथि पनि आरोप लाग्नसक्छ भनेर मैले त्यस सम्बन्धमा खोजिनीति गर्दा अब के के चाही भएको हो अस्ति मात्रै एउटा पत्र आको छ ।’ त्यो पत्रले प्रस्ट पारिदिएको उनले बताए ।

‘यसको सुरुवात जसले गरेपनि अगाडि बढाउने काममा नेकपा एमालेका अध्यक्ष त्यसबेला प्रधानमन्त्री हुनुभएको अध्यक्ष ज्यू त्यसमा संलग्न हुनुहुन्छ,’ उनले भने । अब एमालेले सदनलाई सत्य बताउनुपर्ने सांसद गौतमले बताए । उनले भने,‘सत्य बताउदा पार्टी पनि सानो हुँदैन्, व्यक्ति पनि सानो हुँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर