पूर्वी भारत र बंगलादेशमा मनसुनी कहरः कम्तिमा १८ को मृत्यु, लाखौं विस्थापित – Nepal Press

पूर्वी भारत र बंगलादेशमा मनसुनी कहरः कम्तिमा १८ को मृत्यु, लाखौं विस्थापित

काठमाडौं । उत्तरपूर्वी भारत र बंगलादेशमा मनसुनी कहर सुरू भएको छ । जसबाट अहिलेसम्म कम्तीमा १८ जनाको मृत्यु भएको छ भने २० लाख भन्दा बढी मानिसहरू विस्थापित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतको आसाम राज्यमा बाढीमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । २० लाख जनता विस्थापित भएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।
यस्तै बंगलादेशका केही भागमा हिजो चट्याङ लागेर नौ जनाको मृत्यु भएको छ ।

अहिले दुबै देशले उद्धार तथा प्रतिकार्यका काममा जुट्न सेना परिचालन गरेका छन् । वर्षा एकसातासम्म चल्ने त्यहाँका मौसम पूर्वानुमान महाशाखाहरूले जनाएका छन् । त्यसकारण अझैँ ठूलो समस्या निम्तनसक्ने जनाइएको छ ।

‘आइतबारसम्म आसामका धेरै भागहरूमा मध्यमदेखि भारी वर्षाको अनुमान गरेका छौं,’ आसामको राजधानी गौहाटीस्थित मौसम विज्ञान केन्द्रका अधिकारी सञ्जय ओनिलले भने,‘ वर्षाको मात्रा निकै भयानक छ ।’

भारतमा विगत पाँच दिनदेखि परेको अविरल वर्षाका कारण धेरै रेल सेवाहरू रद्द समेत गरिएका छन् ।

यस्तै भारतको सेनाले अन्य प्रकोप प्रतिकार्यमा काम गर्ने संघसंस्थाहरूलाई बाढी तथा डुबानमा फसेका मानिसहरूको उद्धार कार्यमा जुट्न र खाना तथा अन्य अत्यावश्यकीय सामग्रीहरू उपलब्ध गराउन आग्रह गरेको छ ।

उता बंगलादेशमा भारतीय सीमा नजिकका जिल्लाहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।

राजधानी ढाकास्थित बाढी पूर्वानुमान तथा सावधानी केन्द्रका अनुसार देशभरका सबै प्रमुख नदीहरूमा पानीको सतह बढेको छ । बंगलादेशमा लगभग १३० नदीहरू छन् । जहाँ पानीको बहाब उच्चतम विन्दूमा पुगेको छ ।

उता सिल्हटको स्मानी अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा बाढी पसेपछि त्यहाँ तीन दिनका लागि उडान बन्द गरिएको छ ।

बंगलादेशमा १६ करोड जनसंख्या छ । जहाँ समुद्र तटमा सतहभन्दा निकै कम उचाई भएका क्षेत्रमा ठूलो मात्रामा जनसंख्या बसोबास गर्छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघको एक निकायका अनुसार यदि वर्तमान दरमा जलवायू परिवर्तन भइरह्यो भने बंगलादेशका करिब १७ प्रतिशत मानिसहरूलाई अर्को दशकमा अन्यत्र स्थानान्तरण गर्नुपर्ने देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर