संसद छल्दै प्रधानमन्त्री, एसपीपीबारे जवाफ दिनुपर्छ भनेर संसदीय समिति बैठक बंक – Nepal Press

संसद छल्दै प्रधानमन्त्री, एसपीपीबारे जवाफ दिनुपर्छ भनेर संसदीय समिति बैठक बंक

सभापति निरौलाले भनिन्- यो संसदको अपमान हो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदलाई छल्ने क्रमलाई निरन्तरता दिँदै आज अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा समेत अनुपस्थित भएका छन् ।

यसअघि बजेट र विदेश नीतिबारे उठेका प्रश्नको जवाफ दिन प्रतिनिधिसभाको बैठकमा उपस्थित हुने कार्यसूची रहँदा पनि प्रधानमन्त्री देउवाले संसद छलेका थिए ।

प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण,एसपीपी विवाद लगायतका विषयमा जानकारी लिन यसअघि नै संसदीय समितिले पत्राचार गरेकोमा प्रधानमन्त्रीले आफूलाई जानकारी नै नभएको जवाफ पठाएका छन् ।

प्रधानमन्त्रीको जवाफ सुन्न बिहान समयमै बैठक कक्षमा पुगेका सांसदहरूलाई समितिका सभापति पवित्रा निरौलाले प्रधानमन्त्रीको तर्फबाट आफूहरू धनगढीमा रहेको र पत्र नै प्राप्त नभएको जवाफ आएको जानकारी दिइन् ।

सभापति निरौलाले नै प्रधानमन्त्री कार्यालयमा सम्पर्क गर्दा पत्र पाए पनि विभिन्न कारणले समितिमा आउन नसकेको जवाफ पाएको बताएकी छन् । सभापति निरौलाले प्रधानमन्त्रीको तर्फबाट आएको गैरजिम्मेवार जवाफलाई समितिको अपमान भनेकी छन् ।

‘आउनको समय मिलेन ठीक छ प्रधानमन्त्रीको व्यस्तता हुनसक्छ । कम्तीमा समयमा खबर हुनुपर्छ नि । यो अपमान नै हो भन्छु म । हिजो मात्र पनि उहाँले मलाई खबर गर्नसक्नुहुन्थ्यो’, सभापति निरौलाले भनिन्, ‘मैले बारबार फोन कन्ट्याक्ट गरिरहँदा आउँन सक्दिनँ पछाडि सारौं भनेको भए म यो बैठक पछाडि सार्थेँ । तर त्यो पनि जानकारी नभएर एकैचोटी बिहान ८ बजे त्यसमा पनि सचिवज्यूलाई फोन गरेर भन्दा यो अपमान नै हो । ‘


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर