भोलि नयाँ पार्टी घोषणा गर्दै रवि लामिछाने, बसुन्धारामा खुल्यो कार्यालय – Nepal Press

भोलि नयाँ पार्टी घोषणा गर्दै रवि लामिछाने, बसुन्धारामा खुल्यो कार्यालय

काठमाडौं । सञ्चारकर्म त्यागेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले नयाँ राजनीतिक दल निर्माण गर्ने भएका छन् ।

भोलि राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा उनको दलको औपचारिक घोषणा हुने भएको छ ।

ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएका लामिछानेले आगामी प्रतिनिधिसभाको चुनावमा काठमाडौंबाट उम्मेदवारी दिन चाहेका छन् । तर, स्वतन्त्र लड्ने वा कुनै पार्टीबाट भन्ने अहिलेसम्म खुलाएका छैनन् ।

उनी कांग्रेस, राप्रपा लगायतका पार्टीसँग सम्पर्कमा थिए ।

तर, पार्टी प्रवेश गर्ने वा स्वतन्त्र लड्नेभन्दा आफैँले पार्टी निर्माण गर्ने निधोमा लामिछाने पुगेका हुन् ।

संघीय चुनावमा समानुपातिकतर्फ आफ्नो पार्टीले राम्रो नतिजा ल्याउने अपेक्षासहित उनले यो निर्णय लिएको बुझिएको छ । रवि स्वयम् भने प्रत्यक्षमा नै लड्नेछन् ।

रविले पार्टी निर्माणको तयारी गरेको दाजु हरिशरण लामिछानेले नेपाल प्रेसलाई जानकारी दिए ।

उनले भने, ‘भाइसँग मेरो कुरा भएको थियो । उसले मङ्गलवार नयाँ पार्टी घोषणा गर्न लागेको मलाई बताएको छ । उसलाई मैले शुभेच्छा दिएको छु ।’

हरिशरण स्वयम्ले काठमाडौंमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । उनले भाइलाई पार्टी निर्माण साथ दिन आफू तयार रहे पनि रविले अहिले सहकार्य नगर्ने मनसाय राखेको उनले बताए ।

‘दाजुभाइ एउटै पार्टीमा हुँदा परिवारवाद, नातावादी इत्यादि कुराहरू आउँछन् भनेर उसले मलाई त्यसमा नजोडिन सुझाव दियो र मलाई पनि ठिकै लाग्यो,’ उनले भने ।

रविनिकट अर्को स्रोतले पनि उनले नयाँ पार्टी घोषणा गर्न लागेको पुष्टि गरेको छ ।

सबै कुरा गोप्य, कार्यालय बसुन्धारामा

रविको टिमले भने भोलिसम्म सबै कुरा गोप्य राख्न चाहेको छ । उनको पार्टीको नाम पनि फाइनल भइसकेको बुझिएको छ, जुन भोलिको कार्यक्रममा घोषणा गरिने छ । पार्टीको मुख्य नेतृत्वमा रवि रहनेछन् भने अन्य पदाधिकारीहरूको विषयमा कुनै जानकारी प्राप्त हुन सकेको छैन ।

रविले काठमाडौंको बसुन्धारामा आफ्नो कार्यालय स्थापना गरिसकेका छन् । ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएपछि उनले यो कार्यालय खोलेका हुन् ।

रविको टिमका एक सदस्य दीपक बोहराले सबै कुरा भोलि थाहा हुने भने कुनै पनि जानकारी दिन अस्वीकार गरे ।

‘भोलि उहाँले आफ्नो राजनीतिक करिअरको सुरुवात गर्नुहुन्छ । के–कसरी जाने भन्ने भोलि नै बताउनुहुन्छ,’ बोहराले भने ।

कतिपय विषयहरूमा अझै पनि छलफल जारी रहेको उनको भनाइ छ ।


प्रतिक्रिया

One thought on “भोलि नयाँ पार्टी घोषणा गर्दै रवि लामिछाने, बसुन्धारामा खुल्यो कार्यालय

  1. रविन्द्र मिश्र, रमेश खरेल, कटुवाल अब रवि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर