बुटवल मण्डपको नाम गिरिजाप्रसाद राख्ने प्रस्तावप्रति आपत्ति – Nepal Press

बुटवल मण्डपको नाम गिरिजाप्रसाद राख्ने प्रस्तावप्रति आपत्ति

रुपन्देही । बुटवलमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण भइरहेको बुटवल मण्डपको नाममा गिरिजाप्रसाद कोइरालाको नाम थप्ने उपमहानगरको योजनाप्रति विभिन्न दल, संघसंस्था तथा स्थानीयले आपत्ति जनाएका छन् ।

यस्ता आयोजनामा हरेक पटक आउने सरकारले आफ्ना नेताको नाम थप्दै जाँदा त्यसको महत्व घट्ने बताउँदै उनीहरुले यस्तो गलत संस्कारलाई रोक्न आग्रह गरेका छन् ।

पूर्वपश्चिम राजमार्गसंगै जोडिएको बुटवलमण्डपको १६ विगाह क्षेत्रमा हाल संघीय बजेट अन्तर्गत बुटवल सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्र निर्माण भइरहेका छन् । २०७१ सालदेखि यहाँ निर्माणको काम भइरहेको छ ।

११ औं नगरसभामा नगरप्रमुख खेलराज पाण्डेले बुटवल मण्डपको नामका अगाडि गिरिजाप्रसाद कोइरालाको नाम राख्ने प्रस्ताव नीति तथा कार्यक्रममा राखेका छन् । कांग्रेसका नगर सभापतिसमेत रहेका पाण्डेले ल्याएको प्रस्ताव नगरसभामा बहसमत भएकाले पारित हुने भएपनि गठबन्धनमै रहेका अन्य दल, कांग्रेस निकट व्यवसायी, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले तथा स्थानीयले चर्को विरोध गरेका छन् ।

कांग्रेस निकट व्यवसायी रोशन कंडेलले यस्ता ठूला आयोजनाको नाममा नेताहरुको नाम जोडेर विवादमा तान्न नहुने जनाएका छन् । ‘म कांग्रेस निकट व्यवसायी हुँ, यहाँ यो आयोजना आउनुपर्छ भनेर धेरैपटकका आन्दोलनमा सहभागी भएको छु तर यसमा नेताहरुको नाम जोडेर विवादमा पार्नु राम्रो होइन’ उनले भनेका छन् ।

बुटवलका युवा व्यवसायी युवराज रानाले बहुमतको दम्भमा यस्ता आयोजनामा नेताको नाम जोडिनु राम्रो नहुने बताएका छन् । ‘अहिले कांग्रेसको बहुमत छ, भोलि एमाले, माओवादी, राप्रपाको आउला, यसरी आफ्ना नेताको नाम जोड्दै जाने रोग बस्नसक्छ, यस्ता विषयलाई समयमै ध्यान दिन जरुरी छ’उनले भने ।

रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले सबैको अपनत्व हुनेगरी नाम राखिएको बुटवल मण्डपको नाम फेर्न आवश्यक नै नरहेको बताएका छन् । पौडेलले भने,‘यसमा सबैको अपनत्व हुने नाम छ, कुनै नेताको नाम जोड्न आवश्यक छैन, अनावश्यक विवादमा पार्ने काम नगरौं ।’

नेकपा माओवादी केन्द्रका प्रदेश सांसद दीपा बिकले बुटवल मण्डपलाई नाम फेर्न आवश्यक नरहेको बताएकी छन् । ‘बुटवल मण्डप बुटवल मण्डप नै रहनुपर्छ, यसको नाम फेर्न र जोड्न आवश्यक छैन’ उनले भनेकी छन् ।

बुटवल उपमहानगरमा एमालेका तर्फबाट प्रतिनिधित्व गरेका नकुल शाहीले बहुमतको आधारमा यहाँको गौरवको आयोजनाको नाम फेर्ने विषय स्वीकार गर्न नसकिने बताए । ‘मैले मेयर सापले प्रस्ताव गरेको विषयमा तत्काल आपत्ति जनाएको छु, यसलाई बहुमतका हिसाबले लैजान खोजिए राम्रो नहुने भनिएको छ’ शाही भन्छन् ।

एमाले बुटवल नगर अध्यक्ष किसन ज्ञवालीले यति लामो समयसम्म एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले योजनाको शुरुवात गरेर अगाडि बढाउँदा पनि सबैको अपनत्व नाम राखिएकोमा अहिले फेर्न खोजिएको नामप्रति आपत्ति भएको बताए । ‘काम गर्ने कालु मकै खाने भालु भनेजस्तै भएको छ, अहिलेसम्म कुनै सरोकार नै नभएका व्यक्तिको नाम जोडेर अब यसलाई विवादमा पार्न खोजिएको छ, यो हामीलाई सैह्य हुनेछैन’ ज्ञवालीले भनेका छन् ।

तर नगर प्रमुख खेलराज पाण्डेले बुटवल मण्डपको जग्गा प्राप्तिमा तत्कालीन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण भूमिका रहेकोले बुटवल मण्डपको नाम गिरिजाप्रसाद कोइराला बुटवल मण्डप राखिने जनाएका छन् ।

उनले बुटवल उपमहानगरपालिका वडा नं ११ मा नेकपाका संस्थापक महासचिव पुष्पलाल र नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला र बुटवल उपमहानगरपालिकाका पूर्व नगर प्रमुख सूर्यप्रसाद प्रधानको प्रतिमासहितको पार्क निर्माण गरिने जनाए ।

याे पनि पढ्नुहाेस् ।

बुटवलमा नेताका नाममा आयोजना र पार्क बनाउने हतारो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर