विवाद नभएको दाबी गर्दै जीवनरामले भने- मन्त्रीहरूकै उपस्थितिमा भएको निर्णय हो, छिट्टै कार्यान्वयन हुन्छ – Nepal Press

विवाद नभएको दाबी गर्दै जीवनरामले भने- मन्त्रीहरूकै उपस्थितिमा भएको निर्णय हो, छिट्टै कार्यान्वयन हुन्छ

दलीय निर्णय गर्न पार्टी स्वतन्त्र छन्

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले मन्त्री फेरबदलबारेको निर्णय छिट्टै कार्यान्वयन हुने बताएका छन् । आज बसेको पार्टीको पोलिटब्यूरो बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीमा यो विषय सर्वसम्मत निर्णय भएको बताए ।

पार्टीमा कुनै विवाद नभएको पनि नेता श्रेष्ठले दाबी गरे । उनले भने, ‘पार्टीगत रूपमा केही पनि विवाद छैन । सर्वसम्मत निर्णय हो । कार्यान्वयमा मात्रै केही कारणले ढिलासुस्ती भएको होला ।’

बैठकको निर्णय हुँदा स्वयम् दुईजना मन्त्रीहरू नै सहभागी रहेको र त्यहाँ कुनै मतभेद नदेखिएको श्रेष्ठले जानकारी दिए ।

‘स्थायी समिति बैठकमा स्वयम् दुईजना मन्त्रीज्यूहरू स्थायी समिति सदस्य विरोध खतिवडा र रामकुमारी झाँक्री उपस्थिति हुनुहुन्थ्यो,’ उनले भने,‘त्यहाँ कुनैपनि मतभेद भएको छैन । उहाँहरूकै उपस्थितिमा निर्णय भएको छ ।’

मन्त्रीसहित १० जना सांसदले आज अध्यक्ष माधवकुमार नेपाललाई बुझाएको आठबुँदे ध्यानाकर्षणपत्रका विषयमा सञ्चारकर्मीहरूको प्रश्नमा त्यस विषयमा आजको बैठकमा छलफल नभएको बताए ।

‘त्यस विषयमा बैठकमा छलफल भएन । अध्यक्ष कमरेडले सल्लाह गर्नुहुन्छ,’ उनले भने ।

नयाँ मन्त्रीहरू नियुक्ति र सपथग्रहणका विषयमा सोधिएको प्रश्नमा छिट्टै हुने कुरा आएको श्रेष्ठले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गरिरहेको ढिलाईका विषयमा उनले सांकेतिक रूपमा विरोध जनाउँदै दलीयरूपमा निर्णय गर्न सबै दल स्वतन्त्र रहेको र गठबन्धनको नेतृत्वले दलको निर्णय कार्यान्वयन गर्नुपर्ने बताए ।

‘गठबन्धनमा भएपनि पार्टीहरू स्वतन्त्र छन् । ढिलासुस्ती भएको छ,’ उनले भने,‘यसविषयमा पार्टीले गठबन्धनको नेतृत्वको ध्यानाकर्षण गराइसकेको छ । छिट्टै कार्यान्वयन हुन्छ भन्ने हामीले थाहा पाएका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर