माधव नेपाल नेता हुन् नेता ! अपमान सहन जन्मिएका होइनन्
काठमाडौं । असार २९ गते सर्वोच्च अदालतको परमादेशका आधारमा प्रधानमन्त्री नियुक्त शेरबहादुर देउवाले साउन ३ मै संसदबाट विश्वासको मत लिने सूचना चुहिएपछि तत्कालीन नेकपा एमालेमा समानान्तर कमिटी चलाइरहेका माधव नेपाल पक्षधर नेताहरु झस्किए ।
पार्टी एकताका लागि १० बुँदे सहमति गरेर बसेका भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरु ३ गते बिहानै माधव नेपालको घरमा पुगेर ‘के गर्न लागेको ?’ भन्दै जिज्ञासा राखे । उनीहरु देउवाले विश्वासको मत लिन हतार गरेकोमा सशंकित थिए ।
आफूहरुसँग सल्लाह नगरी माधव नेपालले देउवालाई विश्वासको मत दिन लागेको संकेत पाएका नेताहरुले त्यसो गर्दा संसदीय मर्यादाविपरीत हुने र नेकपा एमाले विभाजन हुने भन्दै नेपाललाई रोक्न खोजे । तर, नेपाल रोकिने मुडमा थिएनन् । उनले त्यतिञ्जेल देउवा र प्रचण्डबाट एमालेकै केपी ओली पक्षधर आधा दर्जन बढी सांसदको भर्पाइ गराइसकेका थिए । नेपाललाई त्यसवेला नेताहरु होइन सांसदहरु चाहिएको थियो ।
माधव नेपालको जुगाड
‘तपाईंहरु जे गर्नुहुन्छ गर्नुस्, म देउवालाई विश्वासको मत दिन्छु’ भन्दै नेपाल टक्टकिएपछि भीम रावललगायतका नेताहरु माधव नेपालजस्ता डरपोक नेताको शक्तिको स्रोत खोज्न लागे । आफूसँग देउवा सरकार जोगाउन पुग्ने सांसद जुगाड भइसकेको नेपालले बताएका थिए । हुन त योगेश भट्टराईलगायतले जसको भरमा पार्टी फुटाउँदै हुनुहुन्छ तिनीहरु राजनीतिक मान्छे होइनन्, तपाई पश्चातापमा पर्नुहुन्छ भनेका थिए । तर, त्यसबेला माधव नेपाल जसले भने पनि पछि नहट्ने ठाउँमा पुगिसकेका थिए ।
नभन्दै साउन ३ गते साँझ देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा माधव नेपाललाई निरन्तर साथ दिँदै आएका १० भाइ सांसद मतदान प्रक्रियामा भाग नलिई संसदबाट बाहिरिए । तर, ओलीलाई साथ दिँदै आएका प्रेम आले, किसान श्रेष्ठ, धनबहादुर बुढा, गोपाल बम, पार्वती बिसुंखे, वीना बुढाथोकी, समिना हुसेनलगायतले देउवालाई विश्वासको मत दिए ।
जसले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति भवनदेखि सर्वोच्च अदालतसम्म हस्ताक्षर लिएर गए, उनीहरुले विश्वासको मत दिएनन् । त्यही दिनबाट माधव नेपाल र उनले भरोसा गरेका र दुनियाँले पत्याएका दोस्रो तहका नेताहरुबीचको बाटो अलग भयो । माधव नेपाल कुनै हालतमा एमाले विभाजन गर्ने पक्षमा उभिए भने १० बुँदे सहमति गरेका नेताहरु कुनै हालतमा पार्टी नफुटाउने पक्षमा उभिए ।
करिब एक महिनापछि देउवा सरकारले दल विभाजन गर्न संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत सदस्य भए पुग्ने अध्यादेश ल्याइदियो । त्यो अध्यादेश माधव नेपालका लागि एमाले विभाजन गर्न ल्याइएको थियो । नेपालसँग २० प्रतिशत पनि सांसद नपुग्ने अवस्था थियो ।
पद, पैसा र स्कुटर
मन्त्री बन्नकै लागि केही सांसदले ओली छाडेर माधव नेपाललाई साथ दिए । कतिपयले त्यतिबेला नगद बुझे । एमाले विभाजनका लागि माधव नेपाललाई निर्णायक बेलामा साथ दिएका एकजना मन्त्रीका अनुसार समानुपातिकतर्फका केही सांसदलाई पैसा र स्कुटर किनेर दिइयो । केहीलाई ठेक्का र केहीलाई अर्कोपटक मन्त्रीको आश्वासन दिइयो ।
राजनीतिमा लागेर अब केही पाइने आशा नभएका तीनजना सांसदले जनही ५० लाख बुझेको चर्चा मन्त्रीहरुको निवासमा अझै चल्ने गरेको छ । विधि पद्धतिको पक्षमा एमालेभित्र लडेको र त्यो नभएपछि विद्रोह गरेको भन्ने गरेका माधव नेपाल आज त्यही भूमरीमा फसकेका छन् ।
पूर्वसहमतिअनुसार ४ जना मन्त्रीले पदत्याग गर्न मानेनन् । बरु उनीहरुले शेरबहादुर देउवा र प्रचण्डलाई सामूहिक र एक्लाएक्लै भेटेर यदि माधव नेपालको निर्णय लागू भएमा पार्टी फुटाउने र सरकार अल्पमतमा पर्नसक्नेसम्मको चेतावनी दिए । बजेट नै पारित नभएर सरकार अल्पमतमा पर्ने खतरा देखिएपछि देउवाले नै नेकपा एसको निर्णय कार्यान्वयन गरेनन् ।
यो कुरा नेकपा एसका नेता तथा प्रस्तावित मन्त्री मेटमणि चौधरीले मुख खोलेरै भनिसके । प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले नेकपा एसको निर्णयको वैधता र यस पार्टीको सार्वभौमिकतामाथि धावा बोलेको चौधरीको भनाइमा दम भए पनि नेकपा एस आफैंमा स्वतन्त्र पार्टी होइन भन्ने घटनाक्रमहरु बुझ्नुपर्छ ।
विधि पद्धति र परिबन्द
सबैभन्दा बढी विधि र पद्धतिको वकालत गर्ने माधव नेपालले एमाले विभाजन गर्दा दुवै पदावली पछ्याएनन् । विधिको हिसाबले उनले नेकपा एमाले विभाजन गर्नु वा उनको भाषामा विद्रोह गर्नुको औचित्यमाथि आज पनि प्रश्न कायमै छन् ।
न एमालेको विधानअनुसार न त मुलुकको कानूनअनुसार नेकपा एस गठन भएको हो । विधिको हिसाबले तत्कालीन नेकपामा केपी ओली सरकारले ल्याएको ४० प्रतिशतवाला अध्यादेशको विरोध गरेर फिर्ता गराउने माधव नेपाल नै एमाले विभाजन गर्न आफूलाई पायक पर्नेगरी २० प्रतिशतको अध्यादेश ल्याउने र त्यसको सहारामा नयाँ दल बनाउने नेतामा दरिए ।
माधव नेपाल कुन परिबन्दमा थिए ? जसले गर्दा उनलाई एमाले विभाजन नगरी नहुने अवस्था आयो ? यसको जवाफ सम्भवतः केही वर्षमा नेपालले नै दिनेछन् । तर, विधि पद्धति, राजनीतिक, सांगठनिक कुनै पनि हिसाबले नेकपा एसको गठनको औचित्य स्थापित गर्न नपाउँदै यो पार्टी विघटनको दिशामा गएको छ ।
जसले नेकपा एस गठनका लागि २० प्रतिशत पुर्याउन सांसदको योगदान गरे उनीहरु नै आफूहरुलाई मन्त्रीबाट हटाइएमा जे पनि हुन सक्ने चेतावनी दिँदैछन् । यदि नेकपा एसले गरेको निर्णय कार्यान्वयन भए देउवा अल्पमतमा पर्ने र कार्यान्वयन नभए माधव नेपाल संकटमा पर्ने अवस्था अहिले देखिएको छ ।
आजभोलिमै नेकपा एसको निर्णय कार्यान्वयन होला, मन्त्रीहरु पनि हेरफेर होलान् । तर, नेकपा एसले दलको आकार लिन भने कठिन छ । मन्त्रिपरिषद् हेरफेरसँगै नेकपा एसमा पनि धेरै हेरफेर हुनसक्छ । उसै पनि मतदाताको तहसम्म पुगिनसकेको पार्टी मन्त्री पदका कारण विघटनतर्फ गइरहेको छ । आज नेकपा एसमा रहेका २४ मध्ये सबै सांसदहरु आउने चुनावसम्म सोही पार्टीमा रहने देखिन्न ।
माधव नेपाल नेतृत्वको पार्टी मुलुकको र कम्युनिष्ट आन्दोलनको आवश्यकताका लागि नभएर सत्ताका लागि आवश्यक थियो । त्यसैले गैरकानूनी बाटोमार्फत नेकपा एसलाई जन्म दिइएको थियो । सभामुख र प्रधानमन्त्री मिलेर बनाइएको पार्टीका वैधानिकता अदालत परीक्षण भइरहेको बेला प्रधानन्यायाधीशले सहयोग गर्ने ग्यारेन्टी नभएपछि महाअभियोग लगाएर अहिलेसम्म पेण्डुलम बनाइएको यथार्थलाई लुकाउन मिल्दैन । यसले पनि नेकपा एकीकृत समाजवादी लामो समय कायम राख्न बनाइएको दल नै होइन भन्ने पुष्टि गर्छ ।
इगो, कुण्ठा र बिगो
वास्तवमा माधव नेपालको एमालेबाट विद्रोह भनौं वा पलायन, त्यो कुनै सैद्धान्तिक कारणले नभएर इगो, कुण्ठा र अदृश्य शक्तिसँग गरिएको वाचाको कारण थियो । उनलाई साथ दिनेहरुहरु पनि कि एकबारको जुनीमा मन्त्री बन्ने अतृप्त आत्माहरु थिए कि त उनीजस्तै कुण्ठा, अपमान र इगोबाट ग्रसित थिए । अनि धेरैजसो राजनीतिमा आउडेटेडहरु थिए । उनको पार्टीमा दुनियाँलाई देखाउने राष्ट्रिय फिगरहरु नै रहेनन् ।
पार्टी बनाउँदा र सरकारमा पठाउँदा ६/६ महिनामा मन्त्रीहरु फेरिने र सबैले भाग पाउने भनिएको थियो । तर, ९ महिनामा फेर्न खोज्दा पनि मन्त्रीहरुले किन बगावत गरे ? पार्टीको निर्णय किन मानेनन् ? यसले के देखाउँछ भने माधव नेपालको पार्टीले पार्टीको स्वरुप लिएकै रहेनछ । जो मान्छेहरु (सांसदहरु) लागे उनीहरुले माधव नेपालको दल बनाइदिएबापत भाग खोज्ने नै भए ।
प्रचण्डले बेला–बेलामा भन्छन्, ‘निकै ठूलो मेहनत र लगानीबाट माधव नेपालको पार्टी बनाइएको हो ।’ त्यसैले उनले माधव नेपालको पार्टीका निर्णय रोक्ने हैसियत पनि राख्छन् । भन्नलाई त माधव नेपालको विद्रोहका कारण देउवा प्रधामन्त्री बनेको र माओवादीको सक्किएको साख जोगिएको भन्छन् नेकपा एसका नेताहरु । यथार्थ के हो १० जनाले देखाइदिए ।
खासमा माधव नेपालको अहिलेसम्मको उपलब्धि भनेको एमालेको सरकार ढालेर पार्टी विभाजन गर्नु र केही थान लोभीपापीलाई मन्त्री बनाउनुबाहेक अरु केही देखिएन । विधि पद्धतिको व्याख्याता माधव नेपाल आज आफ्नै निर्णय कार्यान्वयन गराउन नसक्ने निरीह हालतमा पुगेका छन् ।
गठबन्धनका दलहरुले उनीभन्दा बलिया उनका मन्त्री र सांसदहरुलाई देखिसके । नेकपा एसको हैसियत स्थानीय तह निर्वाचनमा देखिइसक्यो । गठबन्धनको बलमा २० वटा पालिका प्रमुख जितेको नेकपा एसले एक्लै लडेर जितेको भनेको तीमध्ये ५ वटा पालिका हुन् मधेसका । जहाँ गठबन्धन भएन, त्यहाँ नेकपा एसले कुनै पनि पालिकामा एक्लै ५०० मत कटाउन सकेको छैन ।
‘म नेता हुँ नेता’ भन्ने माधव नेपालले बितेका वर्षहरुमा सबैभन्दा बढी बोलेको शब्द हो अपमान..। उनी अपमान सहन नसक्ने नेता हुन् । ओलीले अपमान गरेकै कारण प्रचण्डसँग लाग्नुपरेको बताइसकेका छन् । तर, गठबन्धनभित्र स्थानीय चुनावबाट सुरु भएको अपमान आउने प्रदेश र संघीय चुनावमा अझ बढ्ने निश्चित छ ।
आफ्नै मन्त्री र सांसदले अपमान गरेर ध्यानाकर्षणपत्र बुझाइसकेका छन् । नेपालले जति प्रयास गरे पनि नेकपा एमाले विभाजनको औचित्य साबित गर्न त सक्ने छैनन् नै, गठबन्धनको औचित्य पनि उनका लागि कमजोर बन्दैछ ।
आफ्नै सांगठनिक र जनाधार नभएको र एकथान मन्त्रीबाहेक अरु केही होइन भन्ने समूह बोकेर हिँडेको नेताले सामना गर्ने भनेको दुर्घटना नै हो र अपमान नै हो । किनकि माधव नेपालको पार्टीमा लागेका ९९ प्रतिशत मान्छेहरुलाई यो पार्टीले गरिखान्छ भन्ने आत्मविश्वास नै छैन । इगोमा बनेको पार्टीले व्यहोर्ने यस्तै बिगो नै हो ।
अहिलेका घटनाक्रमबाट जोगिए पनि माधव नेपालको पार्टी एकल अस्तित्वमा टिक्न सक्दैन । बढीमा आउने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावसम्म गठबन्धनमा देउवाले उदारता देखाउँदासम्म यो दल टिक्ने हो । माधव नेपालको सन्दर्भमा प्रचण्डभन्दा देउवा बढी उदार छन् र उनले स्थानीय तह चुनावका बेलासमेत माधव नेपाललाई सडकमा फाल्न नसक्ने बताएका थिए ।
नेकपा एसलाई माओवादीले पनि मौका पाउँदा अपमान गरेको तीतो अनुभव माधव नेपालले जति कसले भोगेको होला र ? लोभीपापी र आउटडेटेडहरुलाई बोकेर कुनै गन्तव्यमा पुगिन्न भन्ने पनि उनले बुझेका छन् । मात्र यो भारी कहाँ लगेर बिसाउने भन्नेमात्र हो ।
स्थानीय चुनावको बेला सीट बाँडफाँटमा गठबन्धनबाट हेपिएपछि माधव नेपालले भनेका थिए, ‘हामी अपमान सहन जन्मिएका होइनौं ।’ तर, त्यसपछि लगातार अपमानबाहेक उनको भागमा केही परेको छैन । झलनाथ खनालले समेत आफूहरु कांग्रेस र माओवादीको भोटरमात्र बन्नु परेको र अपमान सहनुपरेको बताए ।
त्यसो भए ओलीको अपमानभन्दा धेरै तल्लो तहबाट अपमान झेल्न माधव नेपाल अभिशप्त हुन् ? अबका केही दिनमा अरु परिदृश्यहरु खुल्नेछन् ।
एउटा के कुरामा प्रष्ट हुनुपर्छ भने, माधव नेपाल १० प्रतिशत संख्या पनि नपुगेर देउवालाई विश्वासको मत पुर्याउन सक्ने संख्यासमेत नभएर बसेको बेला ओलीलाई छाडेर उनलाई साथ दिन गएकाहरू समाजवादी क्रान्तिका लागि गएका थिएनन् । माधव नेपालको मायाले वा केपी ओलीको पेलानमा पनि थिएनन् । एकमात्र उद्देश्य थियो मन्त्री हुने र खाने । जुन प्रयोजनका लागि माधवलाई साथ दिएका थिए त्यो गुमाएपछि उनीहरू त्यो पार्टीमा बस्नुको कुनै अर्थ थिएन र छैन ।
कानूनीरूपमा दल विभाजन गर्न नमिले पनि राजनीतिक रूपमा अझै केही छिद्रहरू सत्ता राजनीतिमा बाँकी नै छन् । यही बुझेर देउवाले माधव नेपालको अपमान गरेर भए पनि अहिलेका मन्त्रीहरूलाई चलाएका छैनन् । हुन त देउवा र प्रचण्डले पनि त्यो दिनसम्म माधव नेपाललाई प्रयोग गर्छन् जुन दिनसम्म आवश्यक हुन्छ । एमालेलाई पराजित गर्नका लागि माधव नेपाल निर्णायक शक्ति रहेनन्, सहायकमात्र रहे । त्यसैले यो सत्ता राजनीतिको खेलमेलोसँगै माधव नेपालले अझ धेरै अपमानका सिलसिलाहरू झेल्नुपर्नेछ । त्यतिबेला अवसरवादीहरु तितरबितर भइसकेका हुनेछन् ।
यो लेख हो कि समाचार विश्लेषण हो ?
सटिक विश्लेषण ।
Yes you are right matrika ji
मात्रिका दाइले सत्य लेखे जे होस मात्रिका दाइको पत्रकारीतामा दम छ । अलि आलेदाइको पक्ष लिन्छन र मात्र हो , लिन पनि पर्याे
नि हैन त दाइ । हा हा हा
केही आफन्तहरु जस्तै बहिनी ज्वाइँ, सम्धिका साढु हरुलाई नियुक्ती पनि दिलाए। अर्को कुरा एमालेमा हुँदा के अपमान गरिएको थियो भन्ने मेसो विश्लेषण भित्र परेन। घनश्याम हरुले भन्ने बाम भित्र यिनी पर्छन् कि पर्दैनन् होला? अर्का ठुला धाकड भनेर चिनिएका वामदेवको पनि नामै आएन। यी सकिएका हुन् र?