नेपालमै पहिलोपटक द क्लिफमा स्काइ ग्लाइडिङ सञ्चालनमा, कति छ शुल्क ?
काठमाडौं । विभिन्न एड्भेन्चरलगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा नयाँ साहसिक खेल ‘स्काइ ग्लाइडिङ’ सञ्चालनमा आएको छ ।
स्काइ ग्लाइडिङका लागि करिब १ सय मिटर लामो डोरीको दुईतर्फ टावर निर्माण गरिएको छ । एउटा टावरबाट अर्को टावर जान तल्लो डोरीमा स्केटबोर्ड राखेर टेक्ने र शरीरमा हार्नेस बाँधेर क्याराविनरको मद्दतले लठ्ठा (फलामे डोरी) माथि घिर्नीमा झुण्डिँदै एक टावरबाट अर्को टावरसम्म चिप्लिँदै पुग्न सकिन्छ ।
टावरमा समानान्तर दुई डोरी भएकाले एकै पटकमा दुई जना सँगै खेल्न सकिन्छ । स्काइ ग्लाइडिङ खेल्न प्रतिव्यक्ति एक हजार २०० रुपैयाँ लाग्ने बताइएको छ । उक्त शुल्कमा सेवाग्राहीले थ्रीसिक्स्टी क्यामेराले कैद गरेको फोटो र भिडियोसमेत प्राप्त गर्नेछन् ।
एड्भेन्चरका पारखी आन्तरिक पर्यटकलाई नयाँ अनुभव दिने उद्देश्यले स्काइ ग्लाइडिङ सञ्चालनमा ल्याएको द क्लिफ प्रालिका अध्यक्ष राजु कार्की बताउँछन् ।
बन्जी र स्विङका लागि प्रख्यात द क्लिफमा अहिले ११ वटा साहसिक खेल सञ्चालनमा छन् । स्काइ क्याफे, हर्स राइडिङ, स्काइ चियर, फ्यामिली पिङ, वसिङ ह्याण्ड, क्रेवी ब्रिज, जाइन्ट पिङ निकै लोकप्रिय छन् ।
स्काइ ग्लाइडिङ सञ्चालनमा आएपछि कुल १२ वटा साहसिक खेल सञ्चालनमा रहने कार्की बताउँछन् । उक्त क्षेत्रलाई एड्भेन्चर हबका रूपमा विकास गरिएको र भविष्यमा अन्य गतिविधिसमेत थपिने कार्कीले बताए ।