‘बीपी भन्नुहुन्थ्यो’बाट माथि उठेको जबज- देश विकास र कम्युनिष्ट निकासको म्याग्नाकार्टा
इटहरी । सन् १२१५ को जुन १५ मा इङ्ल्याण्डका राजा जोनले प्रजालाई एक अधिकार दिए । ‘विधिको शासन’ र ‘स्वतन्त्र प्रजा’को अवधारणा उनको त्यही अधिकारले प्रत्याभूत गर्यो । १३औं शताब्दीको यो घटनालाई विधिको शासन र व्यक्तिको स्वतन्त्रताको अधिकारलाई एक ऐतिहासिक घटना मानिन्छ । जसको औपचारिक नाम ‘म्याग्नाकार्टा’ भन्ने गरिन्छ ।
विधिको शासन र व्यक्तिगत स्वतन्त्रता स्वीकार्ने १३औं शताब्दीको बेलायती लेगेसी नेपाली कम्युनिष्ट आन्दोलनमा आउन भने आठ सय वर्ष लाग्यो । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) ल्याएर यसको अभ्यास गरे ।
जति वेला कम्युनिष्टहरुलाई निर्वाचन अस्वीकार गर्ने, विधिको शासनभन्दा पार्टीको शासन मान्ने, धनीको सम्पत्ति हडप्ने र गरीबलाई बाँड्ने जस्ता विभिन्न आरोप आउँथे, त्यो वेला भण्डारीले कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक र उदार बनाएर ल्याएको एक कार्यक्रम हो जबज । कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रीकरण गर्न ल्याएको जबजको आगमन आफैं लोकतान्त्रिक बाटोबाट भएको हो । यसको किस्सा पनि रोचक छ । आजको मदन भण्डारीको ७१ औं जन्मजयन्ती र जबजको ३० औं उत्सव आसपासको मौकामा यसको चर्चा गरौं ।
माले-मार्क्सवादी एकता र जबजको लोकतान्त्रिक इन्ट्री
२०४६ सालको आन्दोलन सकिएको थियो । तर, छिन्नभिन्न नेपाली कम्युनिष्टहरुको एकता भने सकिएको थिएन । २०४७ पुस ११ गते काठमाडौंको पानोरमा होटलमा एक पत्रकार सम्मेलन भयो । सम्मेलनले मदन भण्डारी नेतृत्वको नेकपा (माले) र मनमोहन अधिकारी नेतृत्वको नेकपा (मार्क्सवादी)ले एकीकरण गर्ने जानकारी दियो । माले र मार्क्सवादी मिलेर बन्यो– नेकपा (एमाले) ।
युवाहरुले हाँकेको नेकपा (माले) र नेकपाको कम्युनिस्ट आन्दोलनको पहिलो पुस्ता मनमोहनले हाँकेको नेकपा (मार्क्सवादी) दुवैको एकीकरण भएपछिको एकीकृत पार्टी नेकपा (एमाले)को पहिलो महाधिवेशन भयो २०४९ माघ १४ देखि २० सम्म । माघ १४ गते दशरथ रंगशालामा खुलासत्र भयो । बाँकी बन्दसत्र भयो कमलादीको प्रज्ञा प्रतिष्ठानको भवनमा । त्यही भवनमा पारित भयो जबज । जबजलाई च्यालेञ्च गर्ने अरु तीन नेताका पनि भिन्नभिन्न कार्यक्रम थिए । जस्तै, सहाना प्रधानको समर्थनमा सीपी मैनालीको ‘परिमार्जित नौलो जनवाद’, मोहनचन्द्र अधिकारीको ‘नौलो जनवाद’ र रघुजी पन्तको ‘सामाजिक समाजवाद’ ।
बन्दसत्रमा चार विचार प्रस्तुत भएपछि चुनाव भयो । चुनावमा जबजको पक्षमा ५४१ मत आयो । परिमार्जित नौलो जनवादको पक्षमा १०१ मत आयो । नौलो जनवादले ५५ मत पायो । सामाजिक जनवादको पक्षमा भने एक मत पनि आएन । यसरी कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरणको पक्षमा आएको जबजको औपचारिक भव्य अनुमोदन पनि लोकतान्त्रिक विधिबाटै भएको थियो ।
जबजको साइड इफेक्टः कम्युनिष्ट पार्टीको जनअनुमोदनमा वृद्धि
जबजलाई बन्दसत्रमा प्रस्तुत गर्दा दिइएको नाम थियो, ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ । उक्त कार्यक्रम नौ बुँदाको थियो । नौ बुँदामा विभिन्न उपबुँदाहरु थिए । कम्युनिष्ट विचार, कूटनीतिक कार्यक्रमदेखि पर्यावरण चेत हुँदै पर्यटनसम्मका विभिनन विषय जबजमा समेटिएका थिए ।
मूलतः कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरण गर्ने बुँदा ३.५ जबजको महत्वपूर्ण थियो । जसमा लेखिएको थियो, ‘संविधानको सर्वोच्चता र बहुदलीय प्रतिस्पर्धा, बहुलवादी खुला समाज, कानुनसम्मत शासन–प्रशासन, बहुमतको सरकार र अल्पमतको विपक्ष, मानव अधिकार र शान्तिको संवैधानिक प्रत्याभूति तथा रक्षा जस्ता दूरगामी प्रभाव पार्ने र निर्णायक महत्व भएका विषयहरु समावेश गरेका छौं ।’
अहिले सुन्दा सामान्य लाग्ने संविधानको सर्वोच्चता र बहुदलीय प्रतिस्पर्धाका कुरा त्यो समयका हार्डलाइनर कम्युनिष्टहरुले स्वीकार गर्ने कुरै थिएन । तर, ती कुराहरु ‘दूरगामी महत्व’का भन्दै मदनले भने स्वीकार गरेका थिए । दश वर्ष जनवादी सत्ता स्थापनाको बाटोमा दलाल संसदीय व्यवस्था मुर्दावाद भन्दै हिँडेको माओवादीसमेत जबजकै लाइनमा बहुदलवादी भएको छ ।
यसले जबजको बहुदलीय लोकतन्त्र स्वीकार गर्ने कुरा साँच्चिकै दूरमागी महत्वकै देखिएको छ । यस्तै जबजको ३.८ को एक बुँदामा लेखिएको थियो, ‘नेपाललाई स्वतन्त्र, सार्वभौम, धर्मनिरपेक्ष जनताको जनवादी गणतन्त्र घोषित गरिन्छ ।’
जबजपछि नै नेपाल धर्मनिरपेक्षदेखि गणतन्त्रसम्म यात्रा गर्न सफल भयो । खुला राजनीतिमा आएर पनि सक्रिय राजतन्त्रको समयमा गणतन्त्रको पक्षमा उभिने वैचारिक साहस जबजको देखिन्छ ।
यस्तै ३.१४ बुँदामा लेखिएको छ, ‘पैतृक सम्पत्तिमा छोरा र छोरीको समान हक स्थापित गरिनेछ । महिला र पुरुषबीच समान कामको समान ज्यालालाई प्रभावकारी ढंगले लागू गरिनेछ ।’ अहिले नेपालमा यस विषयमा कानूनै बनेको छ । मदनको प्रस्ताव साकार भएको छ ।
सामाजिक सुरक्षाको विषयमा ३.१५ बुँदामा जबजमा लेखिएको छ, ‘असहाय भएका वृद्ध तथा अपांग, अनाथ बालबालिकाको संरक्षण राज्यले गर्नेछ ।’ अहिले राज्यले विभिन्न सामाजिक सुरक्षाभत्ताको नाममा यी समुदायलाई कुनै न कुनै रुपमा समेटेको छ ।
ऊर्जा तथा जलस्रोतको विषयमा जबजले ‘सार्कस्तरीय अन्तर्राष्ट्रिय पावर लाइन स्थापना गर्ने’ कुरा गरेको थियो । अहिले नेपाल–भारत–बंगलादेश पावर लाइनको चर्चा बढेको छ । जबजले ऊर्जाको विकासमा देखेको लक्ष्य सम्भव हुने देखिन्छ । यस्तै पर्यावरणमैत्री विकासको पक्षमा जबजका बुँदाहरु देखिन्छन् ।
जबजको यस्तो दीर्घकालीन महत्वका कार्यक्रम र लोकतान्त्रिक विधि स्वीकारोक्तिसँग नेपाली मतदाताले पनि जबज बोक्ने कम्युनिष्ट पार्टीलाई स्वीकार गरेको देखिन्छ । २०१५ को चुनावमा ४ सीटसहित चौंथो पार्टी थियो कम्युनिष्ट पार्टी । तर, दोस्रो आम निर्वाचन २०४८ मा भने कम्युनिष्ट पार्टी दोस्रो ठूलो दल हुन सफल भयो । २०१५ को चुनावको ४ सीटको चौंथो ठूलो दल कम्युनिस्ट २०४८ को चुनावपछि ६९ सीटसहित प्रमुख प्रतिपक्षी दल भयो । यो आकारमा जबजको योगदान छ । मदन भण्डारीको योगदान छ ।
अझ रोचक कुरा त २०४८ सालको चुनावमा मदन भण्डारीले बहालवाला प्रधानमन्त्री कृृृष्णप्रसाद भट्टराईलाई नै पराजित गरेका थिए । काठमाडौं क्षेत्र नम्बर १ मा ७५१ मतान्तरमा भण्डारीले भट्टराईलाई पराजित गरेका थिए । २०१५ सालको पहिलो आम निर्वाचनमा कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाललाई कांग्रेसका संस्थापक नेता गणेशमान सिंहले काठमाडौंमै हराएको इतिहास थियो । मदन त्यो पहिलो आमनिर्वाचनको इतिहास दोस्रो आम निर्वाचनमा उल्टाउन सफल भएका थिए ।
समाजवादको आधार
मदनले पेश गरेको जबजमा कृषि, उद्योग, व्यापार, ऊर्जा, जलवायुदेखि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र विदेश नीतिमा जे कुरा उल्लेख छन्, नेपालको समग्र विकासका लागि यो म्याग्नाकार्टा नै हो । विश्वका परम्परागत कम्युनिष्ट पार्टीको असफलता र पूँजीवादको उदयका बीचमा मदन भण्डारीले जबजमार्फत नेपालमा कम्युनिष्ट पार्टीको अस्तित्वमात्र जोगाएनन्, पूँजीवादी पार्टी नेपाली कांग्रेसको विकल्पमा सशक्त प्रगतिशील पार्टी जनतामा स्थापित गरे ।
जबजमा उल्लेख भएका कुराहरु लागू हुने हो भने नेपालमा समाजवाद स्थापना गर्न अरु कुनै क्रान्ति आवश्यक पर्दैन र अरु कुनै सिद्धान्त चाहिँदैन । एमालेमात्र होइन कांग्रेस वा अन्य कुनै दलले पनि जबजको अक्षरशः पालना गर्ने हो भने समाजवादको आधार तय गर्न सक्छन् ।
नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवाद भने पनि लिखित दस्तावेज छैन, बीपीले भन्नुहुन्थ्यो भन्नेबाहेक । त्यसैले मदन भण्डारीको लिखित दस्तावेज जबज प्रजातान्त्रिक समाजवादको पनि विकसित रुप हो । मार्क्सवादको सिर्जनात्मक प्रयोग विश्वकै कम्युनिष्टहरुको लागि पहिलो थियो जबज ।
राजनीतिक रुपमा माओवादीले १० वर्ष हिंसा मच्चाए पनि अन्ततः जबजकै बाटोमा आएको हो र नेकपाकालीन ३ वर्षमा जबज नामबाहेक सबै कन्टेन्ट त्यही मानेर जनताको जनवादको नामाकरण गरिएको हो । आज एमालेकै घनश्याम भुसालहरुसमेत जबजको च्याप्टर क्लोज भयो भने पनि जबजको च्याप्टर कहिल्यै क्लोज हुन्न । बरु यसको अक्षरशः पालना हुने हो भने घनश्यामहरुले भन्ने गरेको दलाल पूँजीवादको अन्त्य र समाजवादको सुरुवात हुनेछ ।