निर्वाचन आयोगमा प्रधानमन्त्री, चुनावबारे छलफल हुँदै (तस्बिरहरू) – Nepal Press

निर्वाचन आयोगमा प्रधानमन्त्री, चुनावबारे छलफल हुँदै (तस्बिरहरू)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली वैशाखमा निर्धारित प्रतिनिधिसभा निर्वाचनको तयारीबारे छलफल गर्न आफैं निर्वाचन आयोगमा पुगेका छन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल,अर्थमन्त्री विष्णु पौडेल र नेता सुवास नेम्वाङसहित निर्वाचन आयोग पुगेका ओलीले मन्त्रिपरिषदको हिजोको निर्णय अनुसार पहिलो र दोस्रो चरणको चुनाव हुने जिल्लाको बारेमा समेत छलफल गर्दैछन् ।

ओलीपक्षीय नेकपाको तर्फबाट निर्वाचन आयोगसँग समन्वय गर्ने जिम्मेवारी पाएका नेता नेम्वाङले प्रधानमन्त्री नेकपा विवादको बारेमा छलफल गर्न नभई निर्वाचन आयोगको तयारीका बारेमा छलफल गरिरहेको बताए ।

उनले भने, ‘कतिपयले नेकपाको आधिकारिकताबारे छलफल गर्ने भनेर बुझेका होलान् तर उहाँ वैशाख १७ र २७ गतेको निर्वाचनको तयारी के छ र सरकारको तर्फबाट के सरसहयोग आवश्यक पर्छ भनेर छलफलका लागि हामीसहित आउनुभएको हो ।’

नेम्वाङले नेकपाको विवादबारे एकचरण निर्वाचन आयोगले टुंगो लगाइसकेको र अध्यक्ष केपी ओलीले आधिकारिकता मागेर जाने कुरा नहुने बताए । यसअघि निर्वाचन आयोगले नेकपाका दुवै अध्यक्षलाई निर्वाचन तयारीबारे छलफल गर्न बोलाएको थियो ।

त्यसबेला ओलीको तर्फबाट महासचिवव पौडेल र नेम्वाङसहित ७ जना नेता छलफलमा भाग लिन गएका थिए भने प्रचण्डको पक्षबाट गएका राजेन्द्र पाण्डे, लीलामणि पोखरेललगायतका नेताले पत्र बुझाएर फर्किएका थिए ।

त्यसको केही दिनपछि प्रचण्ड र माधवकुमार नेपाल नेकपाको आधिकारिकता आफूहरुले पाउनुपर्ने लिखित माग लिएर आयोगमा गएका थिए । आयोगले त्यसको सुनुवाइ गरिरहेको छ ।

तस्बिरहरू : विजय गजमेर ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर