उत्पादित वस्तुको बजारको ग्यारेन्टी सरकारले गर्छ: कृषिमन्त्री अर्याल
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा कुमारी अर्यालले मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताएकी छन् ।
मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारको अवलोकन गर्दै मन्त्री अर्यालले किसानको पसिनाको उचित मुल्य प्राप्त गर्नुपर्ने बताउँदै बजार र किसानलाई प्रत्यक्ष जोड्ने विधिको निम्ति मन्त्रालयले सोच बनाएको बताएकी हुन् ।
उत्पादित वस्तुको बजारीकरणको व्यवस्था गर्नु आजको आवश्यकता भएकाले किसानलाई बजारको व्यवस्थापन गर्न उत्पादित वस्तुको बजारको ग्यारेन्टी सरकारले गर्ने उनको भनाई छ । उत्पादनलाई बढावा दिने तथा उत्पादनलाई बजारमा विक्रि हुने वातावरण बनाउन सरकारको तर्फबाट योजना ल्याउने उनले बताइन् ।
मन्त्री अर्यालले भोलि जुनसुकै परिस्थिति आउँदापनि समस्या नआउने गरी मलको भण्डारण स्थापना गर्ने बताइन् । किसानलाई मलको अभाव हुन नदिने उनको भनाई छ । अहिले गहुँ लगाउने सिजनमा पनि मल पर्याप्त रहेको र किसानले सहज ढंगले मल पाएको उनको दाबी छ ।
मन्त्री अर्यालले कालीमाटी फलफूल तथा तरकारी बजारमा अनुगमनका क्रममा व्यवस्थित ल्याब रहेको भेटेको बताइन् । छिट्टै परिक्षण गरी खराब चिजहरुलाई नियन्त्रण गरी उपभोक्ताको जान नदिन फास्टट्रयाकबाटै काम भएको पाएको उनको भनाई छ ।
उनले कालीमाटी बजारको फोहोर व्यवस्थापनलाई वैज्ञानिक हिसाबले व्यवस्थापन गर्ने चुनौती रहेको पनि बताइन् । त्यस्तै केही स्टलहरुको बेथितिलाई नियन्त्रण गरी प्रणालीमा ल्याउनुपर्ने उनको भनाई छ ।
कालीमाटी फलफूल तथा तरकारी बजारको साधारणसभा सम्म मन्त्रालय र बजार व्यवस्थापन बसेर बेतिथति अन्त्य गरी व्यवस्थित गराउनको निम्ति योजना लिएर आउने मन्त्री अर्यालले बताइन् ।