बोनससहित जसपाबाट बाबुरामको बहिर्गमन !
काठमाडौं । तत्कालीन संघीय समाजवादी फोरममा एक्लै छिरेका डा. बाबुराम भट्टराई चार वर्षपछि बोनससहित बाहिरिने निश्चित भएको छ ।
अध्यक्ष उपेन्द्र यादवसँगको पछिल्लो वार्तामा सहमतिका आधारमा छुट्टिने र बाबुराम पक्षमा लागेका सांसदलाई कारबाही नगर्ने समझदारी भएपछि उनले बोनस पाउने भएका हुन् ।
तत्कालीन नयाँ शक्ति पार्टीबाट उनी एक्ला संघीय सांसद थिए । प्रदेशतर्फ गण्डकीमा २ र बागमतीमा एक सांसद थिए । वागमतीका सांसद प्रेम तामाङ कांग्रेसतिर लागिसकेका छन् ।
यसबीचमा बाबुराम संघीय समाजवादी फोरममा पुगिसकेपछि तत्कालीन राजपासँग एकीकरण गरेर जसपा बनेको थियो । जसपा पनि फुटेर राजपाको अधिकांश हिस्सा महन्थ ठाकुरसँगै लोसपा बनिसकेको छ ।
महन्थ निस्किएको ९ महिनापछि बाबुराम पनि जसपाबाट बहिर्गमन हुने निश्चित भएको छ । तर, यो बहिर्गमन विभाजन नभएर सहमतिका आधारमा हुन लागेको उपेन्द्र पक्षधर केन्द्रीय कार्यकारिणी सदस्य युवराज कार्कीले नेपाल प्रेसलाई बताए ।
बाबुरामसँगै हालका कृषिमन्त्री महिन्द्रराय यादव जसपाबाट बाहिरिने लगभग निश्चित भएको छ । उपेन्द्र पक्षले तत्कालीन राजपाका राजकिशोर यादव, अमृता अग्रहरी पनि बाबुरामसँगै जाने दाबी गरेको छ । तर, राजकिशोरले भने सो दाबी अश्वीकार गरेका छन् ।
यसैबीच बाबुरामलाई उपेन्द्रमाथि कारबाही गरेर भने पनि पार्टी कब्जा गर्न उक्साउनेमध्येका सांसदहरू इस्तियाक राई, प्रदीप यादवलगायत भने रातारात उपेन्द्रसँग प्याक भएका छन् । अबको मन्त्रिपरिषद् पुनर्गठनमा उनीहरूलाई मन्त्री बनाउने आश्वासनपछि बाबुरामको साथ छाडेका हुन् ।
केही दिनअघिसम्म बाबुराम पक्षमा कार्यकारिणी समिति र संसदीय दल दुवैतिर बहुमत पुग्ने अनुमान थियो । तर, एकाएक उपेन्द्र बलियो बनेका छन् । बाबुराम र उपेन्द्रबीच सहमतिमै अलग हुने तर भविष्यमा सहकार्य हुनसक्ने सहमति भएको छ ।
बाबुरामको पक्षमा जाने सांसदलाई कुनै कारबाही नगरिने उपेन्द्रले बताएका छन् । उसैपनि अब केही महिनामात्र यो संसदको कार्यकाल बाँकी रहेकाले जति जान्छन् उनीहरूको सांसद पद खारेज गर्न सभामुखलाई पत्र नलेख्ने सहमति भएको छ । बाबुरामसँग ४० प्रतिशत सांसद नपुग्ने भएकाले यो बाटो लिइएको हो ।
भत्काउन सिपालु , बनाउन त जाने पाे !
चुनावमा मिल्ने गरी निक्लनु राम्रो !
वावुराम र उपेन्द्रले राजनीतिबाट सन्यास लिए हुन्छ अब ।