मदन भण्डारीप्रति सिपी मैनालीका असहमति बुँदाहरु (अन्तरवार्तासहित) – Nepal Press

मदन भण्डारीप्रति सिपी मैनालीका असहमति बुँदाहरु (अन्तरवार्तासहित)

‘क्रान्ति अपरिहार्य छ, तर मेरो जीवनकालमा होलाजस्तो छैन’

काठमाडौं । २०४६ सालको जनआन्दोलन सफल भएसँगै देशमा एउटा ‘करिस्मेटिक’ नेताको जबरजस्त उदय भयो । नाम थियो– मदनकुमार भण्डारी ।

तत्कालीन नेकपा एमालेका महासचिव भण्डारी प्रजातन्त्र स्थापनापछिका ६ वर्ष नेपाली राष्ट्रिय राजनीतिमा राम्रैसँग छाए । ०४८ सालमा भएको चुनावमा बहालबाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएर उनले हासिल गरेको सनसनी जितले अन्तर्राष्ट्रिय चर्चा नै पाएको थियो ।

एमालेले मात्रै होइन, देशले नै ठूलो आशा राखेका नेता थिए मदन । उनलाई दक्षिण एसियाकै उदीयमान नेताको रुपमा हेरिएको थियो । तर, देशका लागि ठोस योगदान दिन नपाउँदै, कुनै सार्वजनिक पदमा नपुग्दै उनको अनपेक्षित एवं दुखद अवसान भयो । २०५० सालमा भएको अत्यन्त शंकाष्पद ‘दुर्घटना’ मा मदन भण्डारी त्रिशुली नदीमा खसे । आजपर्यन्त दासढुंगा दुर्घटना रहस्यकै गर्भमा छ ।

पञ्चायतकालमा लामो समय भूमिगत राजनीति गरेका मदन भण्डारीलाई सम्झिनुपर्ने धेरै कारणहरु छन् । एउटा नेतामा हुनुपर्ने सबै गुणहरुबाट सुसज्जित थिए उनी । जनताको बहुदलीय जनवादको सिद्धान्त अघि सारेर उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई नै नयाँ दिशा दिए । बन्दुकको नालबाट मात्रै सत्ता हासिल हुन्छ भन्ने पुरातन कम्युनिष्ट मान्यताबाट उनले आफ्नो पार्टीलाई नयाँ लिकमा उभ्याए, जहाँ शान्तिपूर्ण राजनीति र बहुदलीय प्रतिस्पर्धालाई स्वीकारे ।

माले बनेपछि मदन र मेरो पहिलो मतभेद चाहिँ जनमत संग्रहको विषयमा भएको हो । जनमत संग्रह घोषणाका बेला उनी पूर्वमा नै थिए । पार्टीको केन्द्रीय सदस्य मात्रै थिए त्यसबेला, पोलिटब्यूरोमा थिएनन् । पोलिटब्यूरोमा म, माधव नेपाल, जीवराज आश्रित र अमृत बोहोरा थियौं ।

त्यसो त मदन भण्डारीले ल्याएको जबजलाई कतिपय जडसूत्रीय कम्युनिस्टहरु ‘गैरमार्क्सवादी’ चिन्तन भन्ने गर्छन् । यो सिद्धान्त भनेको संघर्ष छोडेर सिधै सत्तामा पुग्ने भर्‍याङ मात्र भएको आलोचकहरुको तर्क छ । त्यसैले आजपर्यन्त नेपालका कम्युनिष्टहरु जबजको पक्ष र विपक्षमा बाँडिएका छन् ।

जबजका प्रमुख आलोचक मध्येका एक हुन् सीपी मैनाली । झापा आन्दोलनबाट उदाएका मैनाली तत्कालीन मालेका संस्थापक महासचिव थिए । २०३३ सालमा नख्खु जेल तोडेर भागेपछि मैनाली त्यसबेलाको सत्ताका निम्ति एउटा हाउगुजीजस्तै बनेका थिए । मैनालीले उनीभन्दा धेरैपछि आएका भण्डारीले नेतृत्वबाट हुत्याइदिए र पार्टीमा एकल प्रभूत्व कायम गरे । उक्त विगत सम्झेर आजपर्यन्त भण्डारीप्रतिकुण्ठाग्रस्त मनोविज्ञान बोकेर बाँचिरहेका छन् मैनाली । उनी आज पनि भण्डारीको आलोचना गरेर थाक्दैनन् ।

हामीसँगको कुराकानीमा मैनालीले नेपालको कम्युनिष्ट आन्दोलनलाई मदन भण्डारीले भड्खालोमा हालेको आरोप मात्रै लगाएनन्, बाह्य शक्तिले उनलाई काँधमा बोकेर आफूलाई पार्टीको सत्ताबाट गलहत्याएको दाबी पनि गरे ।

दुई कम्युनिष्ट योद्धाहरुको सम्बन्धका उतारचढाव कस्ता थिए ? मैनालीकै शब्दमा सुनौं :

मदनसँग मेरो पहिलो भेट भएको २०३४ सालतिर हो । म २०३३ सालको चैतमा जेल ब्रेक गरेर निस्किएँ । बाहिर केही साथीहरुले मुक्तीमोर्चा समूह निर्माण गरेर अगाडि बढाइरहेका थिए । त्यो समूहमा जीवराज आश्रित र मोदनाथ प्रश्रितपछिको नेता मदन भण्डारी थिए ।

खासमा भन्नुपर्दा उनी नेपालको राजनीतिक आन्दोलनमा संलग्न भएको २०३४/३५ सालतिर मात्रै हो । उनी पुष्पलालको पार्टीमा माथिल्लो कमिटीमा थिएनन् । मुक्तिमोर्चा आएपछि त्यसमा आवद्ध भए । हरिद्वारबाट अध्ययन सिध्याएपछि मोरङमा बसेर राजनीति गर्ने मनस्थिति उनको रहेछ । मुक्तिमोर्चा र हाम्रो कोअर्डिनेसन केन्द्र एकीकरण भएर नेकपा माले गठन भएपछि भण्डारी त्यसको केन्द्रीय सदस्य भएका हुन् । उनलाई पहिले मोरङ र पछि पूर्वाञ्चलकै जिम्मेवार बनाएर काम गरिएको हो । काम लगाउने सिलसिलामा नै २०३४ सालको कुनै महिनामा उनीसँग भेट भयो । अहिले ठ्याक्कै सम्झिन्न ।

२०३५ सालमा नेकपा मालेको पहिलो राष्ट्रिय सम्मेलन मदन भण्डारीको कार्यक्षेत्रमा, उनी सेल्टर लिएकै गाउँमा भयो । सहकार्यका क्रममा मैले उनको प्रगतिशील साहित्यमा रुची रहेको, कविता रचना गर्ने क्षमता रहेको थाहा पाएँ । पार्टीका आन्तरिक वैठकहरुमा मन्तव्य राख्दा उनको बोल्ने सीप र शैली राम्रो लागेको हो । तर विस्तार हामीबीच बैचारिक मतभेदहरु सुरु भए ।

माले बनेपछि मदन र मेरो पहिलो मतभेद चाहिँ जनमत संग्रहको विषयमा भएको हो । जनमत संग्रह घोषणाका बेला उनी पूर्वमा नै थिए । पार्टीको केन्द्रीय सदस्य मात्रै थिए त्यसबेला, पोलिटब्यूरोमा थिएनन् । पोलिटब्यूरोमा म, माधव नेपाल, जीवराज आश्रित र अमृत बोहोरा थियौं ।

२०३६ साल जेठ १० गते जनमतसंग्रहको घोषणा भएपछि जेठको तेस्रो हप्तातिर रुपन्देहीको सितापुरमा मालेको पोलिटब्यूरो वैठक बस्यौं । त्यसमा अमृत बोहोरा आउन सक्नुभएन । बाँकी तीनजना थियौं । जनमत संग्रहलाई उपयोग गरौं भन्ने पक्षमा म थिएँ । जनतालाई व्यवस्था रोज्ने विकल्प दिनु भनेको राजा पछि हट्नु हो र यसलाई सकारात्मक मान्नुपर्छ भन्ने मेरो धारणा थियो । तर सुर्यबहादुर थापाको सरकारले पञ्चायत जिताउन सत्ता र शक्तिको दुरुपयोग गर्ने खतरा भएकाले पञ्चायतविरोधि आन्दोलनलाई पनि सँगसँगै अगाडि बढाऔं भन्ने प्रस्ताव मैले राखे ।

मलाई वास्तवमा उठ्नै नसक्ने गरी ढाल्न खोजेका थिए मदन भण्डारीले । मैले नैतिकताका आधारमा दिएको राजीनामा मदन, माधवहरुलाई स्वीकार्य भएन । मैले कसैको छोरी बुहारी तानेको थिइनँ । दुई पैसा हिनामिना गरेको थिइनँ । त्यसैले केही नपाएर मलाई अनुशासन उल्लंघनको आरोप लगाएका थिए मदन भण्डारीहरुले ।

सुरुमा मेरो प्रस्ताव सहजै पास भयो । त्यसपछि माइन्युटिङ गर्न र पर्चा लेख्न म सीतापुरमै सेल्टरमा गएँ । जीवराज र माधव नेपाल चाहिँ बामदेवको ससुराली गाउँतिर साथीभाइ भेट्न भनेर जानुभयो । फर्केर आउँदा मसालको पर्चा भेट्नुभएछ, जसमा जनमतसंग्रह धोका हो भनेर यसको विरोधमा लेखिएको थियो । त्यो पर्चा पढेपछि उहाँहरुको मन बदलिएछ । त्यसपछि आएर जनमत संग्रह स्वीकार गर्न नहुने अडान लिनुभयो । धेरै बहस भएपछि उहाँहरु दुईजना एकातिर र म अर्कोतिर भयौं । म अल्पमतमा परेपछि उहाँहरुले जनमतसंग्रह बहिष्कारको नीति पास गराउनुभयो । यद्यपि, मैले नोट अफ डिसेन्ट लेखिनँ ।

झापा विद्रोहबाट आएका साथीहरुमा संकीर्ण उग्रवामपन्थि सोच र अन्धानुकरणको रोग थियो नै । मेरै नेतृत्वमा त्यस्ता सोचहरुलाई हटाउँदै नेपालको विशेषता आधारमा माक्र्सवाद प्रयोग गर्ने कुरालाई अगाडि बढाएको थिएँ । म अल्पमतमा परेपछि बहुमतको निर्णय मानेर काम गरेँ । तर, ३६ सालको माघ–फागुनमा परिस्थितिमा बदलाव आयो । मेरो प्रस्तावमा पार्टीले पुरानो निर्णय उल्टाएर जनमतसंग्रहलाई उपयोग गर्ने नयाँ निर्णय एकमतले लियो । तर, यो निर्णयमा पार्टी टक्न सकेन ।

२०३७ साल वैशाखको पहिलो साता मकवानपुरमा पार्टीको विस्तारित केन्द्रीय समिति वैठक बस्यो । त्यसमा मेरो प्रस्ताव अल्पमतमा पर्यो । मतदानका क्रममा बहुदलका पक्षमा अभियान चलाउँ, निलोमा मतदान गरौं भन्ने मेरो प्रस्ताव थियो । तर संकिर्ण साथीहरु एकजुट भएर बहिष्कारको निर्णय गराए । यसको अगूवाइ मोदनाथ प्रश्रितले गरेका थिए भने माधव नेपाल मुख्य सहयोगी थिए । मुक्तिमोर्चाबाट आएका मदन भण्डारीलगायत सबै बहिष्कारको पक्षमा उभिए ।

एउटा संयोग के भने त्यसबेला दक्षिणको सरकार नेपालमा निर्दललाई नै जिताउने पक्षमा रहेछ । यदि बहुदलले जितेको खण्डमा राजा र आन्दोलनकारी मिल्छन्, अनि आफूले खेलकुद गर्न पाइँदैन भन्ने दक्षिणी राष्ट्रले सोचेको थियो । उसले यस्तो नीति लिनु र हाम्रो पार्टीले बहिष्कारको पक्षमा निर्णय गर्नु संयोग हो कि संयोजन भन्ने प्रश्न इतिहासलाई नै छोडौं । कुनै दिन पुष्टि होला । जे होस,पार्टीमा मेरो पकड कमजोर बन्न थालेको पनि त्यही बेलादेखि हो ।

त्यसयता विभिन्न विषयमा मदन भण्डारी र मबीच अन्तरविरोधहरु भए । जस्तो कि राजाले अघि बढाएको शान्ति क्षेत्रको प्रस्तावमा हाम्रो फरक विचारहरु थिए । म शान्तिक्षेत्र प्रस्तावको पूरा विरोध नगरौं भन्नेमा थिएँ । मदन भण्डारीले चाहिँ शान्तिक्षेत्रको बहानामा राजाले आन्दोलन दवाउने रणनीति लिन सक्छन् भनेर यसको विपक्षमा उभिनुपर्ने अडान लिए ।

पार्टीको कार्यनीतिक सवालमा हामीबीच गहिरो विमति थियो । २०३६ सालको भदौमा सिराहमा भएको चौंथो महाधिवेशनमा निर्दलीय व्यवस्थालाई आन्दोलनद्वारा उल्टाउनका निम्ति वाममोर्चा बनाउने र कांग्रेससँग पनि सहकार्य गर्ने प्रस्ताव गरेको थिएँ । तर, साथीहरुले मेरो प्रस्तावलाई कांग्रेसपरस्त र पूँजिवादी बुर्जुवा करार गरिदिए ।

२०३९ सालमा भएको बैठकमा मेरो विपक्षमा वामदेव गौतमले मसाल पार्टीको जस्तो देशभक्त जनताबीच सहकार्यमार्फत पूँजिवादी बुर्जुवा गणतन्त्रको स्थापनाका निम्ति आन्दोलन गर्नुपर्ने कार्यनीति अघि सारे । बामदेवको कार्यनीति बहुमतले पारित भयो र म अल्ममतमा परेँ । त्यसपछि मैले राजीनामा दिने निर्णय गरेँ । राजीनामा लेखेर माधव नेपालको हातमा थमाएँ पनि । तर, त्यो राजीनामा स्वीकृत गर्नुको साटो च्यातेर फाल्ने काम भयो अनि मलाई कारबाही गरेर हटाउने निर्णय पार्टीले गर्यो । अनुशासन उल्लंघन गरेको हावादारी आरोपमा मलाई महासचिवबाट मात्र नभएर केन्द्रीय कमिटीबाटै हटाइयो ।

तर पछि केपी ओलीको नेतृत्वमा एउटा आयोग बन्यो र त्यसले ममाथि गरिएको कारवाही गलत भएको ठहर गर्यो । महासचिवबाट हटाइनु जाय भए पछि केन्द्रीय समिति र पोलिटब्यूरोबाट हटाइनु अनुपयुक्त रहेको ठहर आयोगले गरेको थियो । त्यसपछि म पोलिटब्यूरोमा पुन:स्थापित भएँ ।

वामदेवको कार्यनीतिको वास्तवमा कुनै पनि वैचारिक जग थिएन । केवल नेकपा मसालको अन्ध नक्कल गरिएको थियो, जसको हावा फुस्किन समय लागेन । मसाल आफैं बुर्जुवा गणतन्त्रको कार्यनीतिबाट पछि हटेपछि वामदेवको विचल्ली भयो । उनी हतप्रभ भए । एउटा रुख ढल्दा त्यसमा चढेका बाँदरको जे हाल हुन्छ त्यही भयो ।

त्यसबेला दुई पात्र माधव नेपाल र मदन भण्डारी कार्यनीतिविहिन थिए । उनीहरुले न आफ्नो कार्यनीति ल्याए न मेरो वा वामदेवको कार्यनीतिलाई समर्थन गरे । अन्ततः महाधिवेशनले कुनै कार्यनीति बनाउन सकेन । मेरो कार्यनीति पराजित भयो । सरकारका गलत कुराको विरोध गर्ने र संघर्ष जारी राख्ने भन्ने निर्णय पार्टीले गर्यो ।

२०४६ सालमा भएको महाधिवेशनले भने एमालेलाई मेरै लाइनमा पुर्‍यायो । उक्त महाधिवेशनमा बहुदलिय प्रजातन्त्रका लागि संघर्ष गर्ने राजनीतिक प्रस्ताव मदन भण्डारीले अघि सारे । उनी महासचिवमा निर्वाचित पनि भए । तर, पहिले मेरो कार्यनीति फेल गराएकोमा उनीहरुले कुनै प्रायश्चित गरेनन् ।

मलाई वास्तवमा उठ्नै नसक्ने गरी ढाल्न खोजेका थिए मदन भण्डारीले । मैले नैतिकताका आधारमा दिएको राजीनामा मदन, माधवहरुलाई स्वीकार्य भएन । मैले कसैको छोरी बुहारी तानेको थिइनँ । दुई पैसा हिनामिना गरेको थिइनँ । त्यसैले केही नपाएर मलाई अनुशासन उल्लंघनको आरोप लगाएका थिए मदन भण्डारीहरुले ।

नेकपा मालेमा छँदा मैले लिएको ओरियन्टेसन नेपालमुखी देशभक्तिपूर्ण रहेकाले बाह्य शक्तिका लागि म कमर्फटेबल थिईंन । त्यसैले बाह्य शक्तिसँग तादाम्यता भएर नै मलाई ढाल्ने योजना बनेको हुनुपर्छ । हाम्रो पार्टीका नेताहरु बाह्य शक्तिबाट प्रभावित थिए । त्यो शक्तिसँग मदन भण्डारीको सिधा सम्बन्ध कस्तो थियो मलाई थाहा छैन, तर परिस्थितिले के देखाउँछ भने विदेशी मुलुकको रणनीतिअनुसार उनले काम गरे ।

तर पछि केपी ओलीको नेतृत्वमा एउटा आयोग बन्यो र त्यसले ममाथि गरिएको कारवाही गलत भएको ठहर गर्यो । महासचिवबाट हटाइनु जाय भए पछि केन्द्रीय समिति र पोलिटब्यूरोबाट हटाइनु अनुपयुक्त रहेको ठहर आयोगले गरेको थियो । त्यसपछि म पोलिटब्यूरोमा पुन:स्थापित भएँ ।

अब प्रस्तुत छः मैनालीसँग गरिएको सवालजवाफ :

तपाईंको आशय मदन भण्डारी भारतपरस्त नेता थिए भन्ने हो ?

उनीबाट गल्ति भएको हुन सक्छ । माधव नेपाल, मदन भण्डारीहरूले पहिले गलत सोच लिएको हुन सक्छ । ०४६ सालमा त त्यो कुरालाई आफैं उल्टाए नि । वाममोर्चा बनाउने र कांग्रेससँग सहकार्य गर्ने बाटोमै आए नि । तर, उनीहरुले पहिले लिएको गलत अडानप्रति आत्मालोचना किन गरेनन् ? पहिले यदि नबुझेर त्यस्तो अडान लिएको भए आत्मालोचना गर्नुपर्थ्याे । तर, उनीहरुले गरेनन् । यसको अर्थ उनीहरुले आफ्नो मनोज्ञानले मात्रै मेरो प्रस्तावको विरोध गरेका थिएनन् । उनीहरुमा बाह्य प्रभाव थियो ।

तर, तपाईंले भनेजस्तो मदन भण्डारीमा बाह्य प्रभाव थियो भन्ने त कुनै पनि तथ्य–प्रमाणले पुष्टि गर्दैनन् । आफ्ना विरोधिजति सबैलाई भारतपरस्त देख्ने तपाईंको मनोरोग मात्रै हो कि ?

यसमा म स्पष्ट छु । बाह्य शत्तिको प्रभाव कोबाट आयो, तर नेकपा मालेमा आएकै हो । हिजोको मुक्तिमोर्चामा काम गर्ने मान्छे र कोअर्डिनेसन केन्द्रमा काम गर्ने नेताकै माध्यमबाट त्यो अगाडि बढ्यो । कसले अगूवाइ गर्यो त्यो चाहिँ विश्लेषणको पाटो हो र मदन भण्डारी बाहक बने त्यसको । उनले त्यसवापत लाभ पनि उठाएकै हुन् । मजस्तो स्थापित नेतालाई पन्छाएर उनी पार्टीको शक्तिमा स्थापित भए ।

अर्को महत्वपूर्ण पाटो चाहिँ के हो भने आफूलाई बोकेर शक्तिमा पुर्‍याइदिने बाह्य शक्तिलाई उनले गुन तिर्न भने खोजेनन् । उनले महाकाली सन्धीलाई राष्ट्रघाति भनेर विरोध नै गरे । त्यो उनको राष्ट्रभक्ति थियो । सही अडान थियो । तर, आफैंले बोकेको नेताले नै महाकाली सन्धीको विरोध गरेपछि अन्ततः त्यही बाह्य शक्तिले दासढुंगा दुर्घटना रचेको मेरो निस्कर्ष छ ।

तपाईंको विचारमा दक्षिणको शक्तिले नै मदन भण्डारीको योजनाबद्ध हत्या गरेको हो ?

बिल्कुल त्यही हो । जसले एउटा नौसिखिया मान्छेलाई नेता बनायो, उसले नै आफूले भनेको नमानेपछि यो घटना गराइएको हनुपर्छ ।

नौसिखिया भन्नाले ?

राजनीतिमा नयाँ–सिकारु भनेको । उनी हामीभन्दा धेरै पछाडि आएका नेता हुन् । उनी मुक्तीमोर्चामा केन्द्रीय सदस्य समेत थिएनन् । पुष्पलालको पार्टीमा सांस्कृतिक संघको केन्द्रीय सदस्य थिए जसको महासचिव मोदनाथ प्रश्रित थिए । उनी वास्तवमा कम्युनिष्ट आन्दोलनमा ०३४ सालदेखि मात्रै आन्दोलनकर्मी भएर लागेका हुन् । उनी नौसिखिया नै थिए । उनलाई बाह्य शक्तिले उचालेरै महासचिव बनाइदिएको हो ।

यस्तो आरोप लगाउन तपाईंसँग कुनै ठोस आधार–प्रमाण छ कि पूर्वाग्रही अनुमान मात्रै हो ?

अनुमान होइन, यो मेरो राजनीतिक विश्लेषण हो । मैले मदन भण्डारीलाई नराम्रो मात्रै भनेको छैन । जसले उनलाई महासचिव बन्न मद्दत गर्यो, उसको नेपाल विरोधि नीतिको विरोधमा उभिनु त मदन भण्डारीको राम्रो पक्ष हो नि । उनको यो राष्ट्रभक्तिको म अहिले पनि प्रशंसा गर्छु । कुनै एउटा शक्तिबाट लाभान्वित भएर पद लिए पनि त्यो शक्तिले भनेको नमानेपछि उसले बदला लिने काम त गर्छ नि । त्यस्तै भएको हो ।

भनेपछि, मदन भण्डारीले बाह्य शक्तिको षडयन्त्र बुझ्न नसकेका हुन् ?

उनले बाह्य दबाबलाई कसरी हुन्छ छल्न सक्नुपथ्र्यो । सर्प पनि मर्ने र लाठी पनि नभाँचिने गरी बुद्धिमतापूर्ण तरिकाले काम गर्न उनले जानेनन् । उनी राजनीतिमा नौसिखिया नै थिएन नि त । त्यसैले जुन शक्तिले उनलाई उचाल्यो उसैले समाप्त पनि पार्यो । म दासढुंगा हत्याकाण्डको घोर निन्दा गर्छु, तर मदन भण्डारीले बाह्य शक्तिले दिएको लाभ ग्रहण गरेको कारणले नै यो नतिजा आएको हो ।

त्यो स्वभाविक दुर्घटना होइन । भोलिपल्टै म आफैं गएर दुर्घटनास्थल हेरेँ । त्यो रचिएको काण्ड भन्ने स्पष्टै छ । यद्यपि, यसमा मसित कुनै खुफिया जानकारी चाहिँ छैन ।

तपाईंको शब्दमा नौसिखिया नै भए पनि मदन भण्डारीले जनताको बहुदलीय जस्तो सिद्धान्त ल्याएर पार्टी पंतिको विश्वास जित्नु, अनि २०४६ सालको चुनावमा कृष्णप्रसाद भट्टराईलाई हराउनु चानचुने सफलता त होइन नि ?

उनको वक्तृत्व कला राम्रो थियो । आफ्नो गलत कुरालाई पनि सही भनेर भ्रम छर्न सक्ने खुबी थियो । त्यही प्राविधिक खुबीले गर्दा उहाँले पार्टी पंतिको विश्वास जित्न सफल भए । त्योभन्दा महत्वपूर्ण, मैले अघि नै भनेँ, कि बाह्य शक्तिले उनलाई हात दिए ।

मदन भण्डारीको जबज ल्याउँदा तपाईंले निकै आलोचना गर्नुभयो, आखिर तपाईंसहित नेपालका सबै कम्युनिष्ट आज जबजकै बाटोमा हिँडिरहेको यथार्थलाई नकार्न सक्नुहुन्छ ?

जबज भनेको वास्तवमा कम्युनिष्ट सिद्धान्त नै होइन । नेपालमा २०४६ सालको परिवर्तन हुँदा सोभियत संघको विघटन भएको अवस्था थियो । समाजवादी मुलुकहरु धमाधम ढलिरहेका थिए । विश्व्यापीरुपमा मार्क्सवाद र समाजवादमाथि साम्राज्यवादले तीव्र राजनीतिक प्रहार गरिरहेको बेला भण्डारीले मार्क्सवाद छोडेका हुन् । जनताको बहुदलीय जनवाद भनेको मार्क्सवादी शब्दावलीमा प्रजातान्त्रिक समावाद हो ।

जे भए पनि एउटा मौलिक सोच र कार्यक्रम त मदन भण्डारीले ल्याएकै हुन् नि ?

केको मौलिक हुन्थ्यो ? युरोपमा पराजित भएको थोत्रो सिद्धान्तको अन्धनक्कल हो यो । कसरी मदन भण्डारीले युरोकम्युनिज्मको डकुमेन्ट पढेर त्यसबाट अनुकरण गरे भन्ने साक्षी प्रमाण अहिले पनि जिवित छन् । जसले उहाँलाई युरोकम्युनिष्टका दस्तावेज दिए, उनीहरुले आवश्यक पर्दा सार्वजनिक गर्न सक्छन् । युरोपमा चुनावकै माध्यमबाट समाजबाद ल्याउन सकिन्छ भन्ने कम्युनिष्ट मान्यता थियो । बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष भन्ने सिद्धान्त मदन भण्डारीले युरोकम्युनिज्मबाटै साभार गरेका हुन् । तर, युरोपमा यो सिद्धान्त १० वर्ष पनि टिकेन । अहिले युरोकम्युनिज्मको नामोनिसान छैन । मदन भण्डारीले पनि यही माध्यमबाट नेपालमा जनवाद, समाजवाद, साम्यवाद आउँछ भनेका छन्, जुन मार्क्सवादसँग मेल खाँदैन ।

तर, तपाईं पनि त आजका दिनसम्म ‘बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष’ प्रणालीमै हुनुहुन्छ नि होइन र ?

हो, नेपालको राजनीति केही समय संसदीय प्रणालीबाटै अगाडि बढ्ने अवस्था छ । यसरी हेर्दा मदन भण्डारीको जबज तत्कालको निम्ति उपयोगी देखिन्छ । कार्यनीतिकरुपमा संसदीय प्रणालीलाई तत्काल उपयोग गर्ने कुरा मार्क्सवादसम्मत नै हो । तर यसलाई नै रणनीतिक सिद्धान्तका रुपमा अपनाउन सकिँदैन । मेरो विरोध जबजकै माध्यमबाट समाजवाद, साम्यवादमा पुग्न सकिन्छ भन्ने भण्डारीको सोचमाथि हो । यस्तो विल्कुल अमार्क्सवादी हुन्छ । तर मदन भण्डारीले यो कुरा पटक्कै मानेनन् । उनले जबजलाई रणनीतिक सिद्धान्त नै बनाए । अहिले केपी ओली अध्यक्ष भएको पार्टीे यही बहुदलीय जनवादबाट साम्यवाद आउँछ भन्छ ।

त्यसो भए के अझै पनि क्रान्तिबाटै जनवाद ल्याउनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ ?

जनवाद संसदीय प्रतिस्पर्धाबाट आउँदैन । यसका लागि जनताले बल प्रयोग नगरी हुन्न भन्ने मुख्य मेरो मान्यता हो । नत्र जनवादी सत्ता स्थापना सम्भव छैन । ठ्याक्कै चीनमा जस्तो नेपालमा नहोला । तर, जनताको बल प्रयोग वा क्रान्ति बेगर जनवाद आउँदैन ।

बल प्रयोग भनेको चाहिँ कस्तो ? सशस्त्र युद्ध नै हो कि सामान्य सडक आन्दोलन ?

सशस्त्र वा निशस्त्र भन्दा पनि जनताबाट बल प्रयोग हुनुपर्यो । झापामा आन्दोलनपछि मैले नै भनेको थिएँ, नेपालमा बलप्रयोगको रुपमा जनआन्दाेलन, चाहे जनविद्रोह वा अल्पकालीन सशस्त्र विद्रोह हुन सक्ला । चीनको जस्तो दिर्घकालिन जनयुद्ध चाहिँ नेपालमा हुन सक्दैन । झापा विद्रोहपछि हामीले समिक्षा गर्दा बलप्रयोगको रुप फरक हुन्छ, तर बिना बलप्रयोग पुरानो सत्ताको गर्भबाट नयाँ सत्ता जन्मिँदैन भन्ने निश्कर्ष निकालेका हौं । नयाँ सत्ता भनेको जनगणतन्त्र हो ।

संक्षेपमा भन्दा जबजमार्फत एमालेलाई मदन भण्डारीले बुर्जुवाकरण गर्नुभयो भन्ने तपाईंको आशय हो ?

बिल्कुल सही । त्यसमा कुनै शंकै छैन । उनी राजनीतिको मामलामा मार्क्सवादबाट च्यूत भए । स्खलित भए । उनले अरु धेरै मार्क्सवादी कुरा गरेका होलान् । तर मुख्य राजनीतिलाई हेर्ने दृटिष्कोण चाहिँ मार्क्सवादी भएन । राजनीति वर्गीय कुरा हो भन्छ मार्क्सवादले । शान्तिपूर्वकक सरकार बदल्न सकिन्छ तर सत्ता बदल्न सकिन्न । सुत्केरी स्याहार्नलाई धाइआमा चाहिएजस्तै सत्ता बदल्न जनताको बलप्रयोग आवश्यक पर्छ । तसर्थ यो राजनीतिक मामलामा मदन भण्डारी मार्क्सवादबाट स्खलित भए । त्यो स्खलन भनेको पूँजीवाद हो । पूँजिवाद पनि सक्कली होइन नक्कली पूँजिवाद ।

४६ सालपछिको पहिलो आम निर्वाचनमा लोकप्रिय प्रधानमन्त्रीलाई हराउनुमा उहाँको केही प्रतिभा र क्षमता त देख्नुहुन्छ होला नि ?

त्यसबेला जनमत नै वामपन्थीको पक्षमा थियो । म त वास्तवमा कृष्णप्रसाद भट्टराइलाई चुनाव जिताउनुनपर्छ भन्ने पक्षमा थिएँ । उनी र गणेशमान अलि बढी कम्युनिष्टसँग सहकार्य गर्ने नीतिका पक्षधर भएकाले भट्टराईको विरोधमा नजाउँ भनेको हुँ । तर राजनीतिक विश्लेषण नगर्ने एउटा भिडले मदनलाई भट्टराईसँग भिडाइदियो ।

कांग्रेसभित्र गिरिजा पनि भट्टराईविरुद्ध थिए । त्यो पक्षसँग मिलेर एमालेले भट्टराईलाई हराएको हो । थोडी एमालेले मात्रै हराएको हो र ? गिरिजा उनलाई हराउन सक्रिय भए । यो नतिजा नेपालको राजनीतिका निम्ति हानिकारक भयो । कृष्णप्रसाद आएको भए राजनीति यस्तो भ्रष्ट र आचरणहीन हुने थिएन । पूँजिवादी प्रजातन्त्र यति चाँडो विकृत हुने थिएन । उत्साहित फ्यानहरुको पछि लागेर मदन भट्टराइको विरुद्ध उठे । यसले देशलाई ठूलो नोक्सानी भयो । म कुनै बहादुरी ठान्दिनँ । त्यसलाई त नासमझी ठान्छु । उनले देशको मर्मलाई बुझेनन् । कृष्णप्रसाद आएर नेतृत्वको भए राजनीतिमा जुन गिरिजा आएपछि गन्दा खेल भयो, भ्रष्टाचार नांगो ढंगले भयो, त्यो हुने थिएन होला । सम्भवत माओवादीले ५२ सालमा विद्रोह गरेर जानुपर्ने हुँदैन थियो । नौसिखिया मदन भण्डारीको निर्णयले देशलाई नै गलत दिशामा लग्यो ।

एमालेले मदन भण्डारीलाई जननेता भन्नु गलत हो त्यसो भए ?

यो उनीहरुको कुरा हो । मदन भण्डारीको एउटा पक्षलाई अहिले पनि महत्व दिन्छु । जतिसुकै बाह्य शक्तिले उचाले पनि महाकाली सन्धीलाई उनले साथ दिएनन् । देशभक्तीपूर्ण अडान लिए । मृत्यूपर्यन्त देशभक्त नै रहे । तर उनका उत्तराधिकार भन्नेहरु उनको बाटोमा हिँडेनन् । न केपी ओली न माधव नेपाल । जे कुराको निम्ति मदन भण्डारी मारिए, माधव नेपाल, केपी ओलीले त्यसैलाई साथ दिए ।

मदन भण्डारी जिवित रहेको भए राजनीति धेरै फरक हुन्थ्यो भन्छन् नि कतिपयले, तपाईंलाई कस्तो लाग्छ ?

केही फरक हुन हुँदैनथ्यो । कि त उनले आफ्नो गल्ति सच्याउनुपथ्र्यो । जबजलाई कार्यनीतिकरुपमा लिएर माक्र्सवादी ढंगले अगाडि जाने हिम्मत भएको भए एमालेको बुर्जुवाकरण रोक्न सकिन्थ्यो । जबजलाई नै निरन्तरता दिएर मात्रामा परिवर्तन आउन सक्थ्यो होला, तर चरित्र र गुणमा परिवर्तन आउने थिएन । उनले लिएको बाटो नै विकृतिकरण, स्खलनको बाटो हो । विदेशी सिद्धान्तको अन्धनक्कल गर्ने उनी हुन् । बदल्न पनि उनलाई सजिलो हुन्थ्यो । तर, उनका पछुवाले सही वा गलत भए पनि त्यसलाई क्रिटिकल रुपमा हेर्नै सक्दैनन् । दोस्रो तेस्रो पिँढीकाले गलत कुरालाई अघि बढाउने बाहेक घटाउन कामै गर्दैनन् ।

तपाईं आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा  हुनुहुन्छ । अझै पनि क्रान्तिको कुरा गर्दै हुनुहुन्छ । यो उमेरसम्म नगरेको क्रान्ति अब कहिले गर्नुहोला ? अनि आफ्नो जीवनकालमा कार्यान्वयनमा ल्याउन नसकेको कुरालाई कागजी सिद्धान्त मात्र बनाएर के उपलब्धी हासिल हुन्छ ?

एउटा कुरा के हो भने हाम्रा आफ्नै मान्छेले आँगनमा फोहोर गरिदिए । यही फोहोर हटाउन मा र मजस्ता देशभक्तको पनि समय व्यतित भएको छ । यो फोहोरले जनता पनि प्रभावित छन् । कार्यकर्ता पनि प्रभावित छन् । लामो समय लिन्छ । त्यसैले मेरो जीवनकालमै जनवादी क्रान्ति हुन्छ भन्न सक्दिनँ ।


प्रतिक्रिया

One thought on “मदन भण्डारीप्रति सिपी मैनालीका असहमति बुँदाहरु (अन्तरवार्तासहित)

  1. nepal press le lyayeko bisaya bastuu mali ekdam ramroo lagxa tara alii communist le lekhe jasto alii biased type ko hunxa samachar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर