विकासे आयोजनामा राजनीति नगर्न एमाले उपाध्यक्षको चेतावनी – Nepal Press

विकासे आयोजनामा राजनीति नगर्न एमाले उपाध्यक्षको चेतावनी

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकास निर्माणका काममा अनावश्यक राजनीति गरेर निर्माण सम्पन्न हुन लागेका योजनामा भाँजो नहाल्न चेतावनी दिएका छन् ।

लामो समय अरुले मेहनत गरेर आएका, निर्माण सम्पन्न भएका योजनामा जस लिने नाममा अनावश्यक भ्रम सृजना गरेर स्थानीयलाई अलमलमा पारेको भन्दै पौडेलले विकासे योजनामा अनावश्यक राजनीति नगर्न भनेका हुन् ।

बुटवल उपमहानगरपालिका वडा नं. १५ र सैनामैना नगरपालिका वडा नं. १ लाई जोड्ने दानव नदी (कर्साघाट) पुलको सोमबार उद्घाटन गर्दै पौडेलले तिनाउ दानव करिडोर निर्माणका विरुद्ध अनावश्यक र भद्दा राजनीति गरिएको भन्दै विकास निर्माणका काममा राजनीति नगर्न उनको आग्रह थियो ।

करिडोर निर्माण गर्दा तिनाउ दानव नदीको बहाव क्षेत्र छोडेर सडक बनाउने र नदी किनारमा जोखिम मोलेर बसेकाहरुलाई जबर्जस्त हटाउने नभई राम्रो र व्यवस्थित ठाउँमा पूर्वाधार विकास गरेर स्थानान्तरण गर्ने भन्दै अरुको बहकावमा नलाग्न नदी किनारमा बसेकाहरूलाई पनि सुझाव दिए ।

बुटवलबासीको माग र भावना अनुरूप विकासका आयोजना अगाडि सारिएको भन्दै पौडेलले तिनाउ र दानव नदीको दुवैतर्फको किनारमा करिडोर निर्माण हुँदा बुटवलको सुन्दरता झनै थपिने बताए ।

विकासनिर्माणको हिसाबले रुपन्देही जिल्ला मात्र होइन सिंगो लुम्बिनी प्रदेश नै अब्बल रहेको उल्लेख गर्दै पौडेलले केही वर्षभित्रै विकासको मोडल हेर्न रुपन्देही आउने वातावरण बन्ने बताए ।

रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य बनेका पौडेलले अन्तर्राष्ट्रिय विमानस्थलको दोश्रो चरणको काम, तिनाउ नदीमाथि नेपालकै पहिलो सिग्नेचर ब्रृज र बुटवलदेखि चन्द्रौटासम्मको सडक चौडा बनाउने कामको प्रकृया पनि केही समयभित्रै सुरु गरिने बताए । बुटवल-तानसेन सडकखण्डलाई सुरक्षित बनाउन सिद्धबाबामा सुरुङमार्ग र बुटवल नारायणगढ सडक निर्माण पूरा हुँदा बुटवल देशकै प्रमुख सहरको रूपमा स्थापित भइसक्ने उनको दाबी थियो ।

उनले ५० वर्षपछिको बुटवलको परिकल्पना गरी विकास आयोजना संचालन भइरहेको उल्लेख गर्दै आयोजनालाई समयमा सम्पन्न गराउने काममा नागरिकको साथ र खबरदारीको खाँचो रहेको बताए ।

कुल १ सय २७ मिटर लम्बाई र ११ मिटर चौडाईको दानव नदी पुल १३ करोड ९० लाख ३६ हजारको लागतमा निर्माण सम्पन्न भएको हो । पुल निर्माणको लागि अर्घाखाँची बाबुल जेभि रुपन्देहीले २०७४ साल असार २९ गते ठेक्का सम्झौता गरी काम सुरु गरेको थियो ।

सैनामैना नगरपालिका वडा नं १ र बुटवल उपमहानगरपालिका वडा नं १५ जोड्ने सो पुल १२७ मिटर लामो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर