‘ढाकाको राजधानी’ घोषणामा म्याङलुङकी उपमेयरको कविता- ‘वान पिस हैन घरमै बुनी लाउँछौँ गुन्यु चोली’ – Nepal Press

‘ढाकाको राजधानी’ घोषणामा म्याङलुङकी उपमेयरको कविता- ‘वान पिस हैन घरमै बुनी लाउँछौँ गुन्यु चोली’

म्याङ्लुङ । तेह्रथुमलाई प्रदेश १ मा ढाकाको सबैभन्दा उर्वर बजार मानिन्छ । तेह्रथुममा पनि म्याङ्लुङ बजार क्षेत्रबाट ढाकाको बजार राम्रोसँग फस्टाएको छ । यहाँको ढाकाको बजार देश देखी विदेशसम्म छ ।

स्थानीय महिला उद्यमी र श्रमिकहरूको बहुसङ्ख्यक सहभागिता भएको तेह्रथुमे ढाका कपडा उद्यमले सोमबार दिउँसोबाट खास मान्यता पाएको छ ।

नेपाल सरकारको सङ्घीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले म्याङ्लुङ नगरपालिकासँग मिलेर संयुक्त कार्यक्रम गर्दै तेह्रथुमलाई ‘ढाकाको राजधानी’ घोषणा गरेको छ । घोषणा गर्न सङ्घीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेल नेतृत्वमा सहसचिवहरु नै आएका थिए ।

तेह्रथुम जिल्लाका दुई नगरपालिका र चार गाउँपालिका सहितका छ पालिकाका प्रमुख तथा उपप्रमुखहरू उपस्थित भएका थिए ।

सदरमुकाम म्याङ्लुङ टुँडिखेलमा भएको राजधानी घोषणाको ताम्रपत्र मन्त्रालयले म्याङ्लुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेलाई हस्तान्तरण गरिएको थियो ।

राजधानीको मान्यता दिइएको ताम्रपत्रमा लेखिएको छ, ‘ढाकाको राजधानी तेह्रथुम । घोषणा मिति २०७९/०३/२० ।’

तेह्रथुम नेपालकै पहिलो र एक मात्रै ढाकाको राजधानी भने हैन । यस अगाडि लुम्बिनी प्रदेशको पाल्पा पनि ढाकाको राजधानी घोषणा भइसकेको छ । २०७८ चैत १२ गते पाल्पा जिल्ला ढाका कपडाको राजधानी घोषित भएको थियो ।

घोषणा सभामा लुम्बिनी प्रदेश सरकारका कानून, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्ती देखी सङ्घीय सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायण प्रसाद शर्मा दुवाडी देखी तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाही लगायतका सरोकारवालाहरूको भव्य उपस्थिति रहेको थियो ।

तेह्रथुमलाई ढाकाको राजधानी घोषणा हुनु र नहुनुमा के फरक छ भन्ने बारेमा मन्त्रालयका सहसचिव नारायण प्रसाद शर्मा दुवाडीले मन्तव्य राखेका थिए । तीन महिना अगाडिको पाल्पाको राजधानी घोषणको औचित्य बारेमा पनि दुवाडीले नै कुरा राखेका थिए ।

दुवाडीका अनुसार नेपालको व्यापार घाटा कम गर्न, स्थानीय उत्पादनलाई निर्यातमूलक बनाउन देखी ढाकाको औद्योगिक परिणाम उत्पादन गरेर सीप, पूँजी र प्रविधिमा विकास गर्न राजधानी घोषणाले धेरै अर्थ राख्ने उनले बताए । भने, ‘अब गुरु योजना बनाएर ढाकाको रिसर्च इन्स्टिच्युट खोल्न म तेह्रथुमका सबै पालीका प्रमुखहरूलाई आग्रह गर्दछु ।’

स्थानीय र संघ सरकारले संयुक्त रूपमा जिल्लालाई ढाकाको राजधानी घोषणा गरेपछि व्यवसायी उत्साहित भएका छन् ।

तेह्रथुमको ढाका उत्पादक समाजका संस्थापक अध्यक्ष भीम ल्वागुनका अनुसार घोषणाले जिल्लाको ढाका उद्योगको पहुँच राष्ट्रिय रूपमा पुगेको र उद्योगलाई सकरामतक टेवा पुग्ने ल्वागुनले बताए ।

ल्वागुनका अनुसार ६० वटा दर्ता भएर सक्रिय भएका जिल्लाका उद्योग र ती उद्योगले गर्ने वर्षको १० करोड हाराहारीको निर्यातमा राजधानी घोषणाले विशेष अर्थ राख्नेछ । घोषणलाई घोषणा मात्रै नबनाएर दीर्घकालीन सहयोग र हौसला आवश्यक भएको ल्वागुन बताउँछन् ।

भन्छन्, ‘राजधानी घोषणा नहुँदै चलेको तेह्रथुमे ढाकालाई राजधानी घोषणाले थप फाइदा पुग्नेछ ।’

ल्वागुनका अनुसार तेह्रथुममा ढाकाको प्रारम्भ २०३८ सालबाट सुरु भएको हो भने वृहत् व्यवसायिक रूप भने २०५१ सालपछि व्यापक भएको हो । त्यही व्यापकताको पछिल्लो कडिको रूपमा राजधानी घोषणा भएको हो ।

ढाकाको राजधानी घोषणाले उत्साहित व्यवसायी मात्रै छैनन् । जनप्रतिनिधिहरू पनि छन् । राजधानी घोषणा कार्यक्रममा स्वागत मन्तव्य दिएकी म्याङ्लुङ नगरपालिकाकी उपमेयर जमुना कार्की सुवेदीले कविताबाटै उत्साह पोखिन् ।

कार्यक्रम सञ्चालक म्याङ्लुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरिराज भट्टराईले घोषणा कार्यक्रममा स्वागत गर्न बोलाउँदा आएकी उपमेयर जमुना कार्की सुवेदीले ढाकाकै कविता सुनाउँदै स्वागत गरिन ।

उनको कविता यस्तो थियो:

घरघरमा तान
तेह्रथुमको पहिचान

दाजुभाइ छोरा बढिबा र काका
सबको शिरमा कत्ति सुहाको तेह्रथुमे ढाका

आमाछोरी दिदी बैनी सबको एकै बोली
वान पिस हैन घरमै बुनी लाउँछौँ गुन्यु चोली

लागि गुराँससँगै हाम्रो ढाका पहिचान
यसै गरी अघि बढोस् तेह्रथुमको सान


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *