स्वतन्त्रको ‘वेभ’ ले जन्माएका प्रश्नहरू – Nepal Press
विचार

स्वतन्त्रको ‘वेभ’ ले जन्माएका प्रश्नहरू

· अहिलेको स्वतन्त्र राजनीतिक वेभ धैर्यता र परिपक्व संगठनको अभावले अराजक शक्तिको रूपमा त बदलिने त होइन ?

· के स्वतन्त्रहरूको सहकार्य भएर सफल पार्टी बन्ला ? कसले गर्ला हरेक फरक-फरक विशेषताका व्यक्तित्वलाई संगठित ?

· अनि त्यो पार्टीले जनभावना अनुरूप राजनीतिक अजेण्डा तयार गरेर वैकल्पिक राजनीतिक कोर्स सुरू गर्ला ?

संविधानसभाको पहिलो निर्वाचनपछिको विजयोत्सवमा नयाँशक्तिको रूपमा उदाएका नेताहरू घाँटीभरी मालाहरूले सजिए । गर्विलो ढाँचामा ओजपूर्ण भाषण दिँदै मिडियामा छाए । त्यसबेला जनतामा पनि एउटा आशाको सञ्चार भयो र धेरैले यो एउटा सुनौलो बिहानी हो कि भनेझैं माने पनि । सोचे- अब देशले पक्कै कोल्टो फेर्छ, गरिब र निमुखाले पनि अब आत्मसम्मानको जिन्दगी जिउन पाउने छन् ।

तर, निकै विकट ऐतिहासिक संघर्षबाट तयार भएको त्यो महत्वपूर्ण मोड (क्रिटिकल जंक्चर) लाई हामीले सदुपयोग गर्न सकेनौं । चाहे ४६ सालमा भनौं वा ७ सालमा भनौं अन्य कुनै पनि मोडहरू जहाँ असहज तर अनुपम अवसर सृजना भएका थिए, तर कुनैमा पनि हामी खरो उत्रिन सकेनौं र त आज पनि कसैको प्रतीक्षा वा आशमा आफ्ना आँखा बिच्छ्याएर बसिराखेका छौं ।

सत्ताप्रतिको असन्तुष्टि एउटा साझा अन्तर्राष्ट्रिय परिदृश्य नै हो । चाहे विकसित हुन् वा विकासशील वा अविकसित । सबै देशमा तत्कालीन राज्यसत्ताप्रति जनगुनासो हुन्छ नै । तर, हाम्रो जस्तो अविकसित देश, जहाँ कानूनको परिपालना राम्रो छैन, ठूलाबडालाई कानुन लाग्दैन, आर्थिक औजार तथा राजनीतिक प्रणालीहरूको राम्रो व्यवस्था बस्न सकेको छैन, त्यहाँका जनतामा राज्यप्रतिको असन्तुष्टि बढी सघन हुन्छ ।

पछिल्ला ६०-७० वर्षमा राजनीतिक परिघटनाहरू छिटो-छिटो परिवर्तन भैरहेकोले पनि हुनसक्छ, नेपालीहरूको राजनीतिक चेत निकै राम्रो मानिन्छ । यस्तो चेतले देशको शासनव्यवस्थालाई प्रजातान्त्रिक मोडमा लैजान मद्दत गर्‍यो तर सामाजिक परिवर्तन र समृद्धिको लागि राजनितिक चेत मात्र पर्याप्त नहुने रहेछ । केही विद्वानहरूको भनाइलाई मान्ने हो भने देश विकास हुनमा त्यहाँका राजनीतिक र आर्थिक संस्था र संरचनाहरू समावेशी हुनुपर्ने तथा स्वतन्त्र मिडिया हुनुपर्ने अवस्थालाई पूर्वसर्तको रूपमा लिएको देखिन्छ । नेपालमा धेरै हदसम्म मिडिया स्वतन्त्र देखिए पनि राजनीतिक तथा आर्थिक संस्थाहरू व्यवहारतः समावेशी हुनसकेका छैनन् भन्ने विज्ञहरूको राय छ ।

पार्टीका सुप्रिम कमाण्डरले आफूखुसी टिकट बाँड्ने प्रचलन, कार्यकर्तामा आधारित (क्याडरबेस) दलगत राजनीति, पेशागत राजनीतिक भ्रातृ संगठनहरूको अव्यवसायिक भूमिका, सहयोगी वा आलंकारिक भूमिकामा मात्र महिला, जनजाति तथा पिछडिएका वर्गको समावेशीताले राजनीतिक समावेशीतालाई ओझेल पारेको अवस्था छ । हित जोडिएका पक्षहरूले चन्दा वा अन्य प्रभावमा पारेर नीतिगत भ्रष्टाचार (पोलिसी करप्सन) गरी कानून तथा अर्थ विधेयक आउने गरेकाले राजनीतिक तथा आर्थिक संस्थामा समावेशीता दस्तावेजमा मात्र सीमित भएको विज्ञहरू बताउँछन् ।

मैदानमा ओर्लने घोषणा गरिसकेका वा ओर्लने क्रममा रहेका व्यक्तिमध्ये कतिमा चाहीँ त्यो राजनीतिक दूरदर्शीता र काम गरेर देखाउने दृढ इच्छाशक्ति होला ? केहीमा त पक्कै हुनुपर्छ र केही पक्कै पनि नेताको पंतिमा दरिने छन् । तर, के यो वेभले नेपालको राजनीतिक संस्कारलाई परिस्कार गर्नसक्ला ?

अहिले स्वतन्त्र उम्मेदवारहरूले जित हासिल गर्नुलाई मतदाताले राजनीतिक स्टन्ट भनेर अर्थ्याउने पनि गरेका छन् । राजनीतिक अजेन्डाविनाका जनप्रतिनिधिले जनताका समस्यालाई न्याय गर्न सक्दैनन् र उनीहरू एउटा निजी कम्पनीका सीईओजस्ता तलबी कार्यकारी मात्र हुन् भन्नेहरूले पनि एकखाले विचारको प्रतिनिधित्व गरिराखेको देखिन्छ । त्यस्तै अर्को एउटा बलियो धारले चाहीँ स्वतन्त्र उम्मेदवारहरूले पाएको मतलाई अहिलेका पार्टीहरूले जनतालाई बेवास्ता गर्दै गरेका गम्भीर गल्ती र सत्तामोहको कुटिल चालबाट प्रेरित ‘दण्डमत’ को रूपमा समेत चित्रित गरेका छन् । हुन पनि यी पार्टीहरूले जेजस्ता सिद्धान्त र वैचारिक भिन्नताले आफूलाई आभूषित गर्न खोजे पनि सत्ताका लागि हरेक पार्टी हरेक अर्को पार्टी वा गुटसँग अल्पकालीन वा दिर्घकालीन गठजोड (समकालीन लिट्रेचरमा भन्नुपर्दा अप्राकृतिक गठबन्धन) गर्न हरहमेसा तयार भएको कुरा जनतामाझ छर्लंग छ । त्यसैले जनताले जे हुन्, जस्ता हुन्, यी सब एकै हुन् भन्ने खालको सिधासाधा बुझाई गरेर बरु अनटेस्टेड व्यक्तिलाई हेर्न खोजेको देखियो ।

यहाँ स्वतन्त्र उम्मेदवारहरूको मतलाई ‘दण्डमत’ भनिरहँदा हालका सत्ता साझेदारहरू (सत्तामा र विपक्षमा रहेका दलहरू) लाई केही राहत पनि महसुस होला किनकी अब गल्ती गर्न छोडौं, केही निर्वाचन क्षेत्रहरूमा युवा र नाम चलेकाहरूलाई पनि उठाइदिऔं अनि त हामी सच्चिइहाल्छौं नि भन्ने उनीहरूलाई परेको हुन सक्छ । तर, यो नयाँ वेभलाई त्यस्तो सतही रणनितिले थेग्न सक्ला र, जबसम्म आफैभित्रको समस्यालाई समाधान नगरी अर्कोबाट त्यसको निरूपण खोजिन्छ ?

यहाँनेर आसन्न निर्वाचनभन्दा पर यो खालको राजनितिक चाल लम्बिने छैन, तर यदि लम्बिइहाल्यो भने त्यसले देशलाई हालकै अवस्थामै बल्झाइराख्नसक्छ भनेर भनेर भनियो भने त्यसमा सहमति जनाउने कति होलान् ? सायद यो प्रश्नको उत्तर त्यति सजिलो छेन जुन अहिल्यै दिइहाल्न सकियोस्, तर आउने केही वर्षभित्रमा हामीले यो महसुस गर्न पाउने छौं । जे होस् नयाँ खालको राजनितिक सुरूवातको प्रारम्भिक लक्षण हुनसक्छ यो स्वतन्त्र व्यक्तिहरूको सफलता ।

त्यसो त हालका पार्टीका युवामनहरूले (युवामन भन्नाले उमेरको निरपेक्षतालाई स्वीकार गर्न खोजिएको होइन, बल्की वैचारिक नयाँपनलाई) गम्भिर भएर सोच्न लाग्नु पर्‍यो र आफूलाई यु टर्न गराएर बदल्न तयार हुनुपर्‍यो । यहाँनेर एक पार्टीकी युवा नेत्रीले भनेको कुरा स्मरण गर्न वाञ्छनीय हुन आउँछ । उनले भनेकी छन् कि उनको विश्वास संगठित राजनितिमा छ र एक्लो जोस र क्षमताले समग्र समाजलाई धेरै टाढा डोर्‍याउन सक्दैन । उनको उद्गार अहिलेको तरंगभन्दा बिलकुल भिन्न भए पनि कटु सत्य त होइन ? उत्तर समयको गर्भमै छ ।

नेपालमा स्वतन्त्र व्यक्तिहरूलाई भोट किन ? यो कतै विश्वव्यापीकरणको प्रभाव त होइन ? यूरोपका फ्रान्स, फिनल्याण्ड, न्युजिल्याण्ड, डेनमार्क लगायतका देशहरूमा कार्यकारी प्रमुखहरू युवा र धेरैजसो गैरराजनितीक पृष्ठभूमिबाट आएका छन् । त्यसैगरी क्यानडा, अमेरिका, बेलायतजस्ता देशहरूमा पनि धेरैजसो युवा र छोटो समयमात्र राजनीतिमा लागेकाहरू कार्यकारी प्रमुखमा निर्वाचित भएका छन् । भारतमा दिल्लीका मुख्यमन्त्री केजरीवालले पनि नेपाली युवामा छुट्टै छाप छोडेका छन् । अझ युक्रेनका राष्ट्रपति जेलेन्स्कीले त हिरोगिरी नै पेस गरिरहेका छन् यतिबेला ।

विदेशी नेताहरू आफ्नो अजेन्डालाई जनमतले अस्वीकार गर्नासाथ वा आफ्नो राजनीतिक करिअरमा सानो कन्ट्रोभर्सी आउनासाथ राजनीति छोडेर अन्य कामतिर लागि हाल्छन् (दृष्टान्त : बेलायती पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन जो हाल अल्जाइमरसम्बन्धी अनुसन्धान गर्ने संस्थामा आबद्ध छन् ) । तर, हामीमा राजनिति भनेको आजीवन गरिने पेसाको रूपमा चिनिन्छ । राजनीतिका सुरूवाती दिनहरूमा महान क्रान्तिकारी र निष्ठावान देखिएका नेताहरूले पनि लामो राजनितिक जीवन बिताउने क्रममा आफ्नै कार्यकर्ताको चँगुलमा फसेर कमजोर र भ्रष्टाचारी बनेका कयौं उदाहरण छन्, त्यसैले पार्टीका नेताहरूले यो तीतो सत्यलाई बुझ्न जरुरी छ । यस्तै यस्तै पारा छ अन्य अविकसित मुलुकहरूमा पनि । जस्तो कि जिम्बाबे, पाकिस्तान, भारतलगायत धेरै अफ्रिकन मुलुकहरू ।

सूचना र सञ्चारमाथि हरेक व्यक्तिको पहुँच भएको अवस्थामा माथिका अन्तर्राष्ट्रिय परिदृष्यहरूले पनि नेपाली मतदाताहरूलाई नेता र भोट भनेको चिज कुनै पार्टी विशेष र व्यक्ति विशेषको पेवा होइन रहेछ भन्ने बुझाउन मद्दत गरिरहेको छ । गाउँका एक सोझा मतदाता भन्दै थिए, म त पैसा पनि लिने हो, सबैलाई भोट पनि दिन्छु भन्ने हो तर भोट मनले खाको मान्छेलाई नै दिने हो ।

हालका स्वतन्त्र उम्मेदवारको सफलतालाई बुझ्न खोज्दा हामीले विवेकशील पार्टीलाई बिर्सियौं भने त्यो अन्याय नै हुन्छ । विवेकशीलको उदय र अभियानको जगमा नै हालका स्वतन्त्र उम्मेदवारहरूको सफलता बिराजमान छ । त्यतिखेर विवेकशीलकी एक युवा नेत्रीले ल्याएको मतलाई सम्झने हो भने पनि काठमाडौंका मतदाताहरू एउटा नयाँ नेतालाई स्वागत गर्न तयार छन् भन्ने बुझिन्थ्यो । तर, के यतिका धेरै ठाउँमा यति धेरै मत स्वतन्त्रलाई जानुले एउटा उम्मेदवारको खोजीलाई मात्र ईंगित गर्छ कि यसले अर्को कुनै सन्देश पनि जारी गर्दैछ ? यो कुनै वेभ नै त होइन ? कतै जनता स्थायी राजनीतिको लागि प्रत्यक्ष निर्वाचित शक्तिशाली कार्यकारी प्रमुखको त अपेक्षा गर्दै छैनन् ? प्रतिपक्ष निर्वाचित शक्तिशाली कार्यकारी प्रमुख बारेमा अन्य लेखमा चर्चा गर्दै गरौँला ।

यतिखेर स्वतन्त्र उम्मेदवार भएर राजनिति गर्न खोज्नेहरूको लहर नै आएको देखिन्छ । अझ एउटा नयाँ पार्टीले आफ्नो नाम नै ‘स्वतन्त्र’ पार्टी राखेको देख्दा अनुमान गर्न सकिन्छ कि ‘स्वतन्त्र’ भन्ने शब्दको यतिखेर ब्राण्ड भ्यालु कति छ भनेर ? आउँदो प्रादेशिक तथा संघीय चुनावमा दलगत उम्मेदवारकै हाराहारीको संख्यामा स्वतन्त्र उम्मेदवार मैदानमा ओर्लिए भने छक्क नपर्दा हुने भो । तर, यो आकर्षण अहिलेका स्वतन्त्र उम्मेदवारहरूको चुनावी सफलतालाई मात्र देखेर उत्पन्न भएको हो भने त्यसले नेपाली राजनितिका आकाशलाई धेरै उज्यालो नबनाउन सक्छ । हावाको वहाबतिरै हिँड्न खोज्नु एउटा बुद्धिमानी काम हुनसक्ला तर त्यै वहाब सधँ कायम रहन्छ भन्नु कति दूरदर्शीता होला ?

मैदानमा ओर्लने घोषणा गरिसकेका वा ओर्लने क्रममा रहेका व्यक्तिमध्ये कतिमा चाहीँ त्यो राजनीतिक दूरदर्शीता र काम गरेर देखाउने दृढ इच्छाशक्ति होला ? केहीमा त पक्कै हुनुपर्छ र केही पक्कै पनि नेताको पंतिमा दरिने छन् । तर, के यो वेभले नेपालको राजनीतिक संस्कारलाई परिस्कार गर्नसक्ला ?

यति चाहीँ अनुमान लगाउन सकिन्छ कि अबको राजनीतिक पथ हिजोको जस्तो स्थापित पार्टीहरूले देखाएको सीधारेखामै चाहीँ पक्कै हुनेछैन र यसको अवयवमा देख्न सकिने परिवर्तन आउने छ । यदि सम्भाव्यताको सिद्धान्तलाई मान्ने हो भने नौवटा कालो तथा एउटा सेतो गोटी भएको बक्साबाट नहेरी गोटी निकाल्दा सेतो गोटी निस्कन सक्ने सम्भावना १० प्रतिशत मात्र छ र त्यो दशौं पटकमा पनि हुन सक्छ । त्यसैले आजसम्म राम्रो अवस्था आउन सकेन भनेर निराश हुने कुरै छैन किनकी जनता गोटी बदल्न थाकेका छैनन् भने नेताले नेतृत्वका तौरतरिका बदल्न किन थाक्ने ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *