त्रिविको चरम लापरबाही : यस्ता छन् ‘जुम्ल्याहा’ प्रश्न पत्र !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत बीबीए छैटौँ सेमेस्टरको नेपाली राजनीति र समाज विषयको परीक्षा आज भइरहेको थियो । त्रिविकै सम्बन्धनप्राप्त मोडर्न नेपाल कलेज, किस्ट कलेज, पिपल्स क्याम्पस, पब्लिक यूथ क्याम्पस लगायतका विद्यार्थीहरूको परीक्षा केन्द्र पद्मकन्या क्याम्पसमा परेको थियो ।
विद्यार्थीहरू परीक्षा केन्द्रमा पुगेसँगै हात हातमा प्रश्न पत्र आयो । प्रश्न पत्र हेर्दा विद्यार्थीहरू आश्चर्यचकित भए ।
प्रश्न पत्रको माथिल्लो भागमा विषयको नाम हुने ठाउँमा नेपाली राजनीति र समाज नै उल्लेख थियो, तर प्रश्नहरू भने सोही विषयका थिएनन् । विद्यार्थीहरूका अनुसार ती प्रश्नहरू पाँचौँ सेमेस्टरको समाजशास्त्र विषयका थिए । विद्यार्थीहरूले आपत्ति जनाएर आन्दोलनमा उत्रिए । परीक्षा तितरबितर भयो ।
त्यसपछि बाहिर निस्किएर आन्दोलन गरिरहेका विद्यार्थीहरूलाई सूचना आयो–अर्को प्रश्न पत्र आइसक्यो परीक्षा दिन आऊ ।
केही विद्यार्थीहरू भित्र पसेर परीक्षा पनि दिन सुरु गरे । त्यत्तिकैमा अर्को परीक्षा केन्द्रबाट अर्कै सन्देश आयो । जुन सन्देशमा पछिल्लो पटक प्रयोग भएको प्रश्न पत्र सङ्कर देव क्याम्पसले यस वर्षका ‘प्रि–बोर्ड’मा प्रयोग गरेको प्रश्न पत्र रहेको भनिएको थियो ।
यसरी आजको परीक्षामा प्रयोग गर्न खोजिएको र सङ्कर देव क्याम्पसको प्रिबोर्डमा प्रयोग भएको दुवै प्रश्न पत्र नेपाल प्रेसको हात लागेको छ । दुवै प्रश्न पत्र हामीले यहाँ प्रस्तुत गरेका छौ ।
दुवै प्रश्न पत्रमा प्रयोग भएका प्रश्नहरू हेर्दा दुरुस्तै मेल खान्छन्–‘जुम्ल्याहा’ जस्तै ।
त्रिविको यस्तो गम्भीर लापरबाहीपछि विद्यार्थीहरू झन् आक्रोशित भएका छन् । उनीहरूले आन्दोलन गरिरहेका छन् ।
यसरी दुई पटक प्रयोग भएका प्रश्न पत्रहरूका गम्भीर त्रुटि देखिएपछि आजको परीक्षा रद्द गरिएको छ । त्रिभुवन विश्वविद्यालयले एक विज्ञप्ति जारी गर्दै ‘विशेष कारणबस् रद्द गरिएको’ जनाएको छ ।