तेह्रथुमको कंक्रिटविहीन लिम्बू संस्कृतिमैत्री चो:लुङ पार्क
वसन्तपुर (तेह्रथुम) । धेरै पूर्वाधार निर्माण गर्दा प्राकृतिक संरचना मासेर कंक्रिट ठड्याउने बेथिति हामी माझ छ । अझ पार्कहरू निर्माण गर्दा त कंक्रिटको प्रयोग अनिवार्य नै । तर, यसलाई चिर्दै तेह्रथुमको लालिगुराँस नगरपालिका वडा नम्बर ३ को चो:लुङ पार्क नमूना रूपमा बनाइएको छ ।
ढुंगामाटो र काठपातको प्रयोग गरी पार्क बनेको छ । यहाँ आयातित नभइ स्थानीय जातका र जंगलबाट लालीगुराँस ल्याएर रोपिएको छ ।
लालीगुराँसको राजधानी तीनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्रको गेटवे टाउन वसन्तपुर बजार नजिकैको यो पार्कले लिम्बू जातिको संस्कृति बोकेको छ । लालीगुराँस नगरपालिकाका मेयर तथा लेखक अर्जुनबाबु माबोहाङको अवधारणामा बनेको पार्क याम्थुङ्बा संस्कृतिको प्रतिबिम्बको रूपमा रहेको हो ।
लिम्बू भाषामा चो: भन्नाले लक्ष र लुङ भन्नाले ढुंगा हुन्छ। अर्थात आदिम ढुंगासँग जोडिएको लिम्बू संस्कृति झल्काउने विभिन्न खुराक पार्कमा छन् । लिम्बू जातिको संग्रहालय र १६ फिट अग्लो कल्चरल ढुंगा पार्कका मुख्य आकर्षण हुन् । करिब ५० रोपनी क्षेत्रमा फैलिएको पार्कको उद्घाटन वरिष्ठ कवि बैरागी काँइलाले २०७६ पुस ५ मा गरेका थिए ।
प्रकृति र संस्कृतिको सुन्दर संयोजनको पार्क मध्यपहाडी राजमार्ग नजिकै भएकोले आगन्तुकहरू बाक्लो देखिन्छन् । लिम्बू संस्कृतिका म्युजिक भिडिओ, डकुमेन्ट्री, फिल्म तथा अन्य सुटिङले समेत पार्कको लोकप्रियता बढाएको छ ।