जापानमा सत्तारुढ दललाई दुईतिहाइ बहुमत, संविधान संशोधनले गति लिने विश्लेषण
टोकियो । जापानको सत्तारुढ दललाई उपल्लो सदनमा दुईतिहाइ बहुमत प्राप्त भएको छ । आइतबार सम्पन्न निर्वाचनमा सत्तारुढ दलले संविधान संशोधनका लागि आवश्यक दुईतिहाइ बहुमत प्राप्त गरेको हो ।
आज सार्वजनिक निर्वाचन परिणामअनुसार लिबरल डेमोक्र्याटिक पार्टी एक्लैले बहुमत प्राप्त गर्दा गठबन्धनलाई दुईतिहाइ बहुमत मिलेको हो ।
१२५ सीटका लागि भएको निर्वाचनमा लिबरल डेमोक्र्याटिक पार्टी एक्लैले ६३ सीटमा जित हासिल गरेको छ । अब संविधान संशोधनको प्रक्रियाले गति लिने जापानका सञ्चारमाध्यमहरुले विश्लेषण गरेका छन् ।
पूर्वप्रधानमन्त्री सिन्जो आबेले संविधान संशोधन गरी जापानको सेना दोस्रो भूमिमा लड्न पाउने व्यवस्था गर्ने भन्दै त्यसका लागि पहल गर्दै आएका थिए ।
चुनावी प्रचारका क्रममा आबेको गोली हानी हत्या भएपछि लगत्तै भएको चुनावमा लिबरलले बहुमत प्राप्त गर्नुलाई कतिपयले ‘आबेको विरासत’ बलियो भएको भनी तर्क गरेका छन् ।