घरेलु टोली इंग्ल्यान्ड भारतसँग १० विकेटले पराजित – Nepal Press

घरेलु टोली इंग्ल्यान्ड भारतसँग १० विकेटले पराजित

लन्डन- भारतले इङ्ल्यान्डसँगको एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलामा पनि शानदार सुरुवात गरेको छ। पहिलो खेलमा सोमबार १० विकेटको जित हात पार्दै भारतले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ।

पहिला ब्याटिङ गरेको इङ्ल्यान्ड २५ ओभर २ बलमा एक सय १० रनमा अलआउट भएको थियो। घरेलु टोलीलाई सस्तोमा समेट्न भारतका जसप्रित बुमराह एक्लैले ६ विकेट लिए। बुमराहले ७ ओभर २ बलमा केवल १९ रनमात्र खर्चिएका थिए। शीर्ष तीन ब्याट्सम्यानलाई आउट गरेका बुमराहलाई मोहम्मद सामीले पनि गतिलो साथ दिए।

सामीले ७ ओभरमा ३१ रन खर्चिएर ३ विकेट लिए। इङ्ल्यान्डका सुरुका ६ मध्ये चार जना ब्याट्सम्यानले खाता खोल्न सकेनन्। कप्तान तथा विकेटकिपर जोस बटलर एक्लैले ३० रन बनाए। डेभिड विलीले २१ र मोइन अलीले १४ र ब्रेडन कार्सले १५ रन बनाए। भारतले १८ ओभर ४ बलमा विकेट नगुमाई लक्ष्य पुरा गर्‍यो। भारतका रोहित शर्मा ७६ र शिखर धवन ३१ रनमा अविजित रहे।

यसअघि भारतले इङ्ल्यान्डसँगको तीन खेलको टी-२० शृंखला २-१ ले जितिसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *