श्रीलंकापथमा नेपाल ! अनियन्त्रित मूल्यवृद्धि र विदेशी मुद्राको संकटले दलदलमा अर्थतन्त्र
कुन कुन वस्तुमा कति बढ्यो मूल्य ?
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादीका शीर्ष नेता तथा प्रस्तावित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपाल ढिलाचाँडो श्रीलंकाकै अवस्थामा पुग्ने भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखे । उनको पार्टी सहभागी सरकारले एक वर्षको कार्यकाल पूरा गर्नुभन्दा ३ दिनअघि मात्रै श्रेष्ठले सो निष्कर्ष सार्वजनिक गरेका हुन् ।
सत्तारुढ दलकै जिम्मेवार नेताले यस्तो निष्कर्ष पुगिसकेपछि यो एक वर्षमा शेरबहादुर देउवा नेतृत्वको सरकारले देशको अर्थतन्त्र कहाँ पुर्यायो भन्ने सहज अनुमान गर्न सकिन्छ ।
दुई दिनअघि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि देशको अधोगतिमा ब्रेक नलाग्ने हो भने श्रीलंकाभन्दा नेपाल तल पुग्ने प्रक्षेपण गरे । प्रतिपक्षी दलका नेता भएकाले उनले सरकारप्रति पूर्वाग्रह राखेर अतिरञ्जित टिप्पणी गरेको मान्न सकिएला । तर, अर्थतन्त्रका समग्र सूचकहरूले नेपाल श्रीलंकाको बाटोमा छैन भन्ने प्रमाणित गर्दैनन् । खासगरी आकाशिँदो मूल्यवृद्धि, वैदैशिक मुद्राको सञ्चितिको गिरावट र बढ्दो परनिर्भरताले देशको अर्थतन्त्रलाई गम्भीर संकटतर्फ धकेलेको छ ।
सरकारले नै विदेशी मुद्रा सञ्चिति सकिँदै गएको भन्दै अटोमोवाइल्स लगायतका विलासीताका वस्तु आयातमा रोक लगाएको छ । धेरै वस्तु आयातमा एलसी खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्थासमेत गरेको छ । त्यसका बाबजुद सुधारको संकेत देखिएको छैन । अस्ति भर्खरै नेपाल राष्ट्र बैंकले निकालेको तथ्यांकअनुसार पनि नेपालको विदेशी मुन्द्रा सञ्चिति थप ओरालो लागेको देखिएको छ भने, मूल्यवृद्धि आकाशिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार देशको अर्थतन्त्र दिनानुदिन कमजोर बन्दै गएको छ । देशको विदेशी मुद्रा सञ्चिति १५.९ प्रतिशतले घटेको छ । चालू आवको ११ महिनासम्ममा विदेशी मुद्रा सञ्चिति २ खर्ब २२ अर्ब १९ करोड रूपैयाँले घटेको हो । गत वर्षको सोही अवधिमा विदेशी मुद्रा सञ्चिति १३ खर्ब ९९ अर्ब ३ करोड रूपैयाँ रहेकोमा २०७९ जेठ मसान्तसम्म ११ खर्ब ७६ अर्ब ८४ करोड रूपैयाँ रहेको राष्ट्र बैंकले बताएको छ । अघिल्लो वर्षभन्दा यो वर्ष २ खर्ब २२ अर्ब विदेशी मुद्रा सञ्चिति घटेको देखिन्छ ।
जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत पुगेको छ । पछिल्लो एक महिनामा मात्रै मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ७.४३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.४४ प्रतिशत रहेको छ । २०७९ जेठ मसान्तसम्म वार्षिक विन्दुगत मासिक औसत मुद्रास्फीति ६.०९ प्रतिशत रहेको छ ।
त्यस्तै, यो आवको ११ महिनासम्म थोक मुद्रास्फीति १४.७७ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा थोक मुद्रास्फीति ९ प्रतिशत मात्रै रहेको थियो । चालु आवको ११ महिनामा ५.७७ प्रतिशत थोक मुन्द्रस्फीति भएको छ ।
यो सरकार निर्माण भएपछि चालु खाता दोब्बरभन्दा पनि धेरै घाटामा गएको छ । पछिल्लो ११ महिनामा चालु खाता ५९५ अर्ब ६३ करोड घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिमा २९८ अर्ब ११ करोड घाटामा थियो ।
आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा कुल वस्तु निर्यात ५३.३ प्रतिशतले वृद्धि भई १८५ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३७.८ प्रतिशतले वृद्धि भएको थियो । निर्याततर्फ थोरै सुधार देखिन्छ ।
त्यस्तै आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा कुल वस्तु आयात २७.५ प्रतिशतले वृद्धि भई १७६३ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २५.७ प्रतिशतले बढेको थियो । आयातको वृद्धि निर्यातको भन्दा परिमाणमा निकै उच्च छ । त्यसैले वैदेशिक व्यापार घाटाको अन्तराल झन् झन् फराकिलो बनिरहेको छ । यो अवधिमा रेमिटान्स ३.८ प्रतिशतले मात्र वृद्धि भएको छ ।
अर्थतन्त्रको ऐना भनिने नेप्से परिसूचकले पनि अहिलेको दुरावस्थालाई राम्ररी झल्काउँछ । अघिल्लो वर्ष आजकै दिन नेप्से परिसूचक २८५४ अंकमा रहेको थियो । त्यसमा ठूलो पहिरो गएर १९२७ अंकमा झरेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष नेप्से परिसूचकमा ९२७ अंकको गिरावट देखिन्छ ।
पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य अत्यधिक वृद्धि भएको छ । नेपाल सरकारले पनि पेट्रोलियम पदार्थको कर घटाउने भनेर हल्ला चलाए पनि नेपाल आयल निगमलाई ऋण नै लिन बाध्य पारेको छ । अघिल्लो आवको असार अन्तिममा पेट्रोल प्रतिलिटर १२८ रूपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १११ रूपैयाँ रहेको थियो । खाना पकाउने एलपीजी ग्यास १४२५ रूपैयाँ थियो । चालु आवको असारमा आइपुग्दा पेट्रोल प्रतिलिटर १८१ रूपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १७२ रूपैयाँ पुगेको छ । त्यस्तै ग्यास प्रतिसिलिण्डर १८ सय पुगेको छ ।
अघिल्लो वर्षको तुलनामा यो वर्षको असारमा पेट्रोल प्रतिलिटर ५३ रूपैयाँ महंगो भएको छ । मटिट्तेल तथा डिजेल ६१ रूपैयाँ प्रतिलिटर महंगो भएको छ । पछिल्लो १ वर्षमा खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ३७५ रूपैयाँ मूल्यवृद्धि भएको छ ।
मूल्यवृद्धि अनियन्त्रितः केमा कति बढ्यो ?
दैनिक उपभोग्य वस्तुको मूल्य पनि अघिल्लो वर्षको तुलनामा यो वर्ष अत्यधिक वृद्धि भएको छ । खानेतेलको मूल्य सबैभन्दा धेरै बढेको खुद्रा व्यापार संघ बताउँछ । सनफ्लावर तेल प्रतिलिटर ३५५ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा सनफ्लावर प्रतिलिटर २३० रूपैयाँ थियो । १ वर्षमा नै तेल प्रतिलिटर १२५ रूपैयाँ मूल्यवृद्धि भएको हो ।
भटमासको तेलमा पनि अत्यधिक मूल्यवृद्धि भएको छ । अघिल्लो वर्ष असारमा २२० रूपैयाँ प्रतिलिटर रहेको तेलको अहिले ३१५ रूपैयाँ मूल्य खुद्रा व्यापार संघले तोकेको छ । १ वर्षमा प्रतिलिटर ९५ रूपैयाँ तेलको मूल्यवृद्धि भएको हो । त्यस्तै अघिल्लो असारमा काँचो तोरीको तेल प्रतिलिटर २४० रूपैयाँ थियो । तर अहिले प्रतिलिटर ३८० पुगेको छ ।
अघिल्लो वर्ष ९ सय प्रतिलिटर रहेको नेपाली घिउ अहिले प्रतिलिटर १२ सय पुगेको छ । अघिल्लो वर्षको असारमा ९५ रूपैयाँ प्रतिकेजी रहेको चिनी अहिले १०५ पुगेको छ । चिनी १ वर्षमा प्रतिकेजी १० रूपैयाँ मूल्य वृद्धि भएको हो । सेतो केराउको मूल्य पनि प्रतिकेजी अघिल्लो वर्ष १२० मूल्य रहेकोमा अहिले २ सय प्रतिकेजी पुगेको छ । १ केजी केराउमा ८० रूपैयाँ मूल्यवृद्धि भएको छ ।
दालमा पनि अत्यधिक मूल्य वृद्धि भएको छ । अघिल्लो वर्षको असारमा प्रतिकेजी १४० रूपैयाँ रहेको मुसुरोको दाल अहिले १७५ रूपैयाँ पुगेको छ । रहरको दाल पनि प्रतिकेजी ३५ रूपैयाँ मूल्य वृद्धि भएको छ । अघिल्लो असारमा प्रतिकेजी १७० रहेकोमा हाल १८५ रूपैयाँ पुगेको छ ।
भारतले केही दैनिक उपभोग्य वस्तुको निर्यात बन्द गरेपछि चामल पनि बन्द हुने भन्दै बोरामा नै व्यापारीले ५० देखि २ सयसम्म मूल्यवृद्धि गरेका छन् ।