आदिकवि भानुभक्तसँग झगडा गरेर ‘अमर’ बनेका गिरिधारी भाट!
इटहरी । आज भानु जयन्ती । दुई शताब्दी अगाडि जन्मेका भानुभक्त नेपाली भाषाका आदिकवि हुन् । सन् १९६५ मा बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट छापिएको ‘हिरोज् एण्ड बिल्डर्स् अफ नेपाल’ पुस्तकमा नेपालका चर्चित कूटनीतिज्ञ, नेता तथा प्राज्ञिक व्यक्तित्व ऋषिकेश शाहले भानुभक्तले सुगौली सन्धिपछिको तनावग्रस्त नेपाली मानसपटलमा साहित्यबाट ऊर्जा भरेको तर्क गरेका छन् ।
आदिकविको व्यक्तित्व उजागर गर्ने मुख्य श्रष्टा हुन् मोतीराम भट्ट । भट्टले १३१ वर्ष अगाडि भानुभक्तको जीवनी छापे । बनारसको भारत जीवन प्रेसबाट छापिएको संक्षिप्त जीवनीको नाम हो, ‘कवि भानुभक्तको जीवनचरित्र’ । यो जीवनी तयार गर्न भट्टले भानुभक्तका भतिजा रामदत्तसँग सहकार्य गरेको लेखेका छन् ।
यो जीवनीमा कवि भानुभक्त किन आदिकवि हुन् भन्ने तर्क दिँदै भट्टले लेखेका छन्, ‘गोर्खा राज्यमा हुन त धेरै नामका कवि भानुभक्तभन्दा पैह्ले भये तर कविताको मर्म जानी भाषा पद्य लेख्ने कविहरुमा आदिकवि भानुभक्त नै हुन् ।’ सन् १९४८ मा अहिलेको सिंगो नेपाललाई गोर्खा नै भनिन्थ्यो । नेपाल भन्न थालिएको त धेरै भएकै छैन । सात सालको प्रजातन्त्रपछि मात्रै नेपाल भन्न थालिएको हो । नेपाल चै काठमाडौंलाई भनिन्थ्यो ।
अझ रोचक कुरा पूरा देशलाई नेपाल भन भनेर राजाले सूचना नै सार्वजनिक गर्नुपरेको थियो । पहिलो संसद पुस्तकमा लेखक जगत नेपालले त्यसको उदाहरणको रुपमा राजा महेन्द्रलाई दिएका छन् । राजा महेन्द्रले पहिलो आम निर्वाचनको संघारमा काठमाडौंमात्रै नभएर सिंगो मुुलुकलाई नेपाल भन्न उर्दी जारी गर्दै भनेका थिए, ‘काठमाडौंलाई मात्र नेपाल भन्ने बानी वा चलन मलाई राम्रो लागेन । अब उप्रान्त काठमाडौंलाई मात्र नेपाल भन्ने बानीलाई प्रत्येक नेपालीमात्रैले हटाई महाकालीदेखि मेचीसम्मलाई नेपाल भन्ने र राजधानीलाई काठमाडौं भन्ने बानी गरुन् । यो मेरो अपिल छ ।’
२०१५ माघ २९ गतेको गोरखापत्रमा आएको राजा महेन्द्रको अपिलमा थप अर्को अपिल प्रकाशन भएको थियो । जसमा लेखिएको थियो, ‘श्री ५ महाराजाधिराजको सदिच्छाअनुसार प्रत्येक देशवासीले आजैदेखि, अहिलेदेखि नै उचित तरिकाले आफ्नो आफ्नो पुरानो बानी सपार्न प्रयत्नशील हुनुपरेको छ ।’ यहाँ बानी भन्नाले काठमाडौंलाई नेपाल र देशलाई गोर्खा भन्ने नभएर काठमाडौंलाई काठमाडौं नै र देशलाई नेपाल भन्ने कुरा गरिएको हो ।
भानुभक्तको मृत्युको २२ वर्षपछि छापिएको यो जीवनीले भानुभक्तलाई नेपालको विभूति बनाउने तर्कलाई बलियो बनायो । नेपाली गजलका पायोनियर मानिने स्वयं भट्ट पनि विभूति बन्न सफल भए ।
भानुभक्तको जीवनमा धेरैले चिन्ने नाम हो घाँसी । भानुभक्तलाई केही गर्नुपर्छ लोकको लागि भन्ने भनेर प्रेरणा दिने भनिएका घाँसीको बारेमा धेरै चर्चा भइसकेको छ । यो सामग्रीमा भानुभक्तसँग झगडा गरेर चर्चामा आएका एक संधियारको चर्चा गरिएको छ । उनी थिए गिरिधारी भाट ।
भाटसँग भानुभक्तको खेतको साँध जोडिएको थियो । साँधकै विषयमा भाटसँग भानुभक्तको झगडा पर्यो । कानूनी लफडा भए । अन्ततः भानभुक्तले मुद्दा जिते । मुद्दा जिते पनि भानुभक्तले कवितामा स्पेस दिएकाले आज भाट पनि ‘अमर’ भएका छन् । भानुभक्तको जीवनमा चर्चा हुने एक पात्र भएर उनी बाँचिरहेका छन् ।
भट्टले लेखेको भानुभक्तको जीवनीमा जग्गा विवादको जरो यस्तो लेखिएको छ, ‘रम्घामा कवि भानुभक्तको एक जग्गा थियो, तेसै खेतको साँध एक गिरिधारी भाटका खेतसित थियो । ई दुवै खेतका बीचमा एक खोलो थियो । अकस्मात् एक वर्ष खोलाले भानुभक्तको खेत खाइदियो । गिरिधारी भाटले बगर आवादी गर्याे । तिनताकका ऐनबमोजिम गिरिधारीको भोग पाको हो, पछि ४/५ वर्षपछि तेसै खोलाले भानुभक्तको जग्गामा बगर छाडी फेरि भाटको खेत बेहिसाब मिच्यो र भानुभक्तले ऐनबमोजिम खोलाले छाडेको बगर ३/४ वर्ष आवादी गरी भोग गर्दा भाटले मेरो जग्गा मिची भानुभक्तले भोग गर्यो भनी बादी हाल्दा भानुभक्तले इजहार दिये ।’
भानुभक्तले आफ्नो कवितामै गिरिधारी भाटको प्रसंग ल्याएका छन् । एउटा कवितामा यो प्रसंग ल्याएर भनिएको छ,
ख्यामित् यस गरिधारीले अति पिर्यो व्थर्थै गर्यो झेल पनि
यस्का झेल उतार्नलाई सजिलो यो हो व्यहोरा भनी
ख्यामितलाई चढाउनाकन यहाँ क्यै श्लोक कविता गर्याँ
मेरा श्लोक सुनिबक्सियोस् झगडा छीनिन्छ पाउ पर्याँ
अन्ततः भानुभक्तले मुद्दा जितेर आफ्नो खेत आफ्नै बनाए । तर, उनले अड्डामा धाएको तनावको कथा भने अहिलेका सेवाग्राहीले पाएकोभन्दा कम छैन । कर्मचारीले भोलि भन्ने कुरालाई व्यंग गर्दै भानुभक्तले कवितै तयार गरेका थिए । उनको कवितांश यस्तो थियोः
बिन्ती डिट्ठा बिचारीसित क–कति गरुँ चुप रहन्छन् न बोली
बोल्छन् ता ख्याल् गर्याँझैं अनि पछि दिनदिन् भन्दछन् भोलि भोलि
की ता सक्तीन भन्नू कि तब छिनी दिनू क्यान भन्छन् इ भोलि
भोलि भोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली
यसरी हरेक कुरालाई कविताको भाषामा भन्न सक्ने खुबीको भव्य तारिफ भट्टले भानुभक्तको जीवनीमा गरेका छन् । विक्रम संवत् १८७१ असार २९ मा जन्मेर १९२५ असोज ६ मा देहत्याग गरेका भानुभक्तको काव्य खुबीबारेमा भट्टले तारिफ गरेका छन् ।
उनले लेखेका छन्, ‘रातदिनका बोलीचालीमा बराबर कविता भर्नसक्ने सामथ्र्य केवल इनै कविमा अझतक् देखियाको छ । पछि हुनेहरुका बयान पछि नै हुनन् ।’