देउवालाई निधिको सुझाव- पार्टीभित्रै गठबन्धन बलियो बनाउनुस् (भिडिओ) – Nepal Press

देउवालाई निधिको सुझाव- पार्टीभित्रै गठबन्धन बलियो बनाउनुस् (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति एवं नेता विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवालाई आफ्नै पार्टीभित्र गठबन्धन बलियो बनाएर लैजान सुझाव दिएका छन् ।

जारी केन्द्रीय समिति बैठकमा आफ्नो कुरा राख्दै निधिले पाँच दलबीच मात्र तालमेल गरेर नहुने आउँदो निर्वाचनमा कांग्रेस सफल हुन पार्टीभित्र पनि गठबन्धनको खाँचो औंल्याएका हुन् ।

‘१४औं महाधिवेशनमा तपाईंविरुद्ध म, शेखरजी, प्रकाशमानजी उम्मेदवार हुनुन्थ्यो । कांग्रेसमा सभापतिबाहेकका शक्ति केन्द्र र उपकेन्द्र धेरै छन् । र, यी केन्द्र र उपकेन्द्रलाई एकताबद्ध गरेर लैजाने चुनाव जित्न र पार्टीको सुदृढीकरणका लागि अत्यावश्यक छ । मैले उहाँलाई भनेको छु- जुन काम तपाईँको काँधमा छ । ६ महिनाभन्दा बढी नाघिसक्यो विभागलगायतका विभिन्न काम बाँकी छन् । यी सबैमा हामी सहयोग गर्छौं’, उनले भने ।

स्थानीय चुनावमा कांग्रेसले बढी सिट ल्याएको र प्रदेश र संघको निर्वाचनमा त्योभन्दा बढी उद्देश्य लिएर बहुमत आउने गरी काम गर्नुपर्नेमा निधिको जोड थियो ।

‘स्थानीय चुनावमा मेयर-उपमेयर, अध्यक्षको टिकट वितरणमा असन्तुष्टि भएर कतिपय ठाउँमा स्वतन्त्र साथीहरूले जितेका छन् । उनीहरूलाई पनि आउँदो चुनावमा कांग्रेसको पक्षमा लाग्न मिलाएर लैजानुपर्छ’, उनले भने ।

विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे कांग्रेसले नै नेतृत्व गर्दै दिशानिर्देश गर्नुपर्ने निधिको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर