नेकोस राष्ट्रिय क्रिकेट संघको आयोजनामा अम्पायरिङ तथा स्कोरिङ तालिम सुरु
काठमाडौं। नेकोस राष्ट्रिय क्रिकेट संघको आयोजनामा आजदेखि इलाममा तीन दिने ‘ओ’ लेभल क्रिकेट अम्पायरिङ तथा स्कोरिङ तालिम सुरु भएको छ । कार्यक्रममा नेपालका विभिन्न ठाउँबाट महिला तथा पुरुष प्रशिक्षार्थीहरुले सहभागिता जनाएका छन । तालिम तीन दिनसम्म चल्ने नेकोस राष्ट्रिय क्रिकेट संघका सह सचिव चेतनाथ पौडेलले बताए।
जिल्ला समन्वय समिति कार्यालय इलामको सभाहलमा सुरु भएको कार्यक्रमको उद्घाटन इलाम नगरपालिकाका मेयर केदार थापाले गरेका थिए । सो अवसरमा मेयर थापाले जिल्लामै पहिलो पटक यस किसिमको कार्यक्रम आयोजना गरेकोमा नेकोस राष्ट्रिय क्रिकेट संघलाई धन्यबाद दिए ।
साथै उनले इलाममा २०४२/४३ तिर क्रिकेट भित्रिएपनि यो खेलको विकास विस्तार हुन नसकेको अवस्थामा यो कार्यक्रमले जिल्लामा क्रिकेट गतिविधिहरु बढ्ने विश्वास व्यक्त गरे ।
कार्यक्रम उदघाटनको क्रममा बोल्दै नेकोस राष्ट्रिय क्रिकेट संघका अध्यक्ष बिप्लभ घोषले नेपालको मेचीदेखि महाकालीसम्म क्रिकेटमय बनाउने अभियान अन्तर्गत यो कार्यक्रम आयोजना गरेको बताए । उनले नेपाल क्रिकेट संघसँगको सहकार्य तथा जिल्ला र प्रदेश क्रिकेट संघको समन्वयमा अगामी दिनहरुमा यस्ता कार्यक्रमहरुलाई निरन्तर रुपमा अगाडि बढाउने बताए ।
नेकोस राष्ट्रिय क्रिकेट संघको मुल उदेश्यनै ग्रासरुट क्रिकेटलाई माथी उठाउने तथा बिभिन्न जिल्लाहरुमा क्रिकेट गतिविधिहरु संचालन गर्ने अध्यक्ष घोषले बताए । उनका अनुसार नेपालमा महिला क्रिकेटको सम्भावना भएपनि महिला क्रिकेट प्रतियोगिताहरु कम आयोजना भएको हुँदा निकट भबिष्यमै नेकोस राष्ट्रिय क्रिकेट संघले महिला क्रिकेट प्रतियोगिता आयोजना गर्ने बताए ।
उनले कार्यक्रममा सहभागी महिला तथा पुरुष प्रशिक्षार्थीहरुलाई शुभकामना दिदै क्रिकेटमा पनि भविष्य रहेको र सबैले आ आफ्नो क्षेत्रबाट क्रिकेट विकासमा जोड दिनुपर्ने बताए ।
कार्यक्रमका मुख्य प्रशिक्षक तथा आइसीसी प्यालनका अम्पायर बुद्धि बहादुर प्रधानले नेकोस राष्ट्रिय क्रिकेट संघले आयोजना गरेका यस किसिमको कार्यक्रमले नेपालको हरेक ठाउँमा क्रिकेट चलायमान हुने र भविष्यमा देशले राम्रा अम्पायर र स्कोर पाउने आशा ब्यक्त गरे ।
उनले यस्ता कार्यक्रमहरु देशका विभिन्न ठाँउमा आयोजना हुनुपर्नेमा जोड दिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट पाएको अनुभवहरु यो कार्यक्रममा साझा गर्न पाउदा गर्व लागेको उनले बताए । कार्यक्रममा आईसीसी प्यानल अम्पायर वृद्धि बहादुर प्रधान सहित लेभल टु अम्पायर कमलेश ठाकुरले प्रशिक्षण दिनेछन् ।
उदघाटन कार्यक्रममा प्रदेश–१ क्रिकेट संघका सदस्य टिकाराम पुरी, जिल्ला क्रिकेट संघ इलामका अध्यक्ष अर्जुन पौडेल, जिल्ला समन्वय समिति कार्यालय इलामका सदस्य लगायत क्रिकेटसँग सम्बन्धित विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो ।