गल्याङका पूर्वमेयरमाथि एमालेको अनुशासन कारबाही, चुनावमा अन्तर्घात गरेको आरोप
काठमाडौं । नेकपा एमालेले स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्वमेयर रहेका जिल्ला कमिटी सदस्य भुपराज अधिकारीलाई गत स्थानीय चुनावमा अन्तर्घात गरेको आरोपमा कारबाही गरेको छ । अधिकारीलाई ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको हो ।
दुईपटकसम्म सोधिएको स्पष्टीकरणको जवाफ नआएपछि अधिकारीलाई पार्टीले कारबाही गरेको हो । उनलाई असार ३१ गते शुक्रबारको मितिमा जिल्ला कमिटी अध्यक्ष सूर्यप्रसाद गैरे (पारस)ले पार्टी अनुशासनको कारबाही गरिएकोबारे जानकारी गराएका हुन् ।
गल्याङ नगरपालिकास्तरीय समीक्षा बैठकमा उठेको विषय र अन्य धेरै प्रमाणहरुका आधारमा अधिकारीमाथि गम्भीर सवालहरु उठेको भन्दै एमालेले स्पष्टीकरण सोधेको थियो । गल्याङमा जिल्ला अध्यक्ष गैरेले मेयरको टिकट पाएपछि निवर्तमान मेयर अधिकारी असन्तुष्ट थिए ।
उनमाथि मेयरमा गैरेलाई हराउन विपक्षीसँग मिलेको आरोप छ ।