फटाहाहरूले राणा शासनजस्तै रोलक्रम लगाएर मन्त्री फेरिरहेका छन्ः विप्लव (भिडिओ) – Nepal Press

फटाहाहरूले राणा शासनजस्तै रोलक्रम लगाएर मन्त्री फेरिरहेका छन्ः विप्लव (भिडिओ)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देशमा राजनीतिक अस्थिरता गहिरिएको र संसदवादी पार्टीहरू देशको नेतृत्व गर्न असफल बनेको टिप्पणी गरेका छन् । उनले राणा शासनमा जस्तै रोलक्रम लगाएर मन्त्री बन्ने भद्दा खेल भइरहेको बताए ।

पार्टीको जनपत्रिका अनलाइन उद्घाटन गर्दै विप्लवले संसदवादी पार्टीका नेताहरू खान र कुम्ल्याउन मात्रै मन्त्री बन्ने गरेको भन्दै निन्दा गरे ।

उनले भने, ‘तीन तीन महिनामा मन्त्री फेर्ने, देशको अर्थतन्त्र तहसनहस पार्ने, खाने कुम्ल्याउने, जनताप्रति कुनै पनि उत्तरदायी काम नगर्ने जटिल परिस्थिति देखिन्छ । यतिको भद्दा मजाक इतिहासमा कमै पाइन्छ ।’

जनतालाई महंगीले थिचेको बेला नेताहरु कोही दौरा सुरुवाल सिलाउन त कोही थन्क्याउन तल्लिन रहेको विप्लवले बताए ।

‘संसदवादी पार्टीहरू देशको नेतृत्व गर्न असफल भइसकेको छन् । हरेक वर्ष सरकार परिवर्तन भइरहेको छ । मन्त्रीहरू फेरिइरहेका छन् । एकप्रकारले मन्त्री बन्ने रोलक्रम जस्तो चलेको छ । जंगबहादुर राणाको भन्दा पनि भद्दा खेल भइरहेको छ । पालोपालो केही महिना मन्त्री हुने, कुम्ल्याउने, लुट्ने खाने, देशको सम्पत्ति उडाउने, फर्किने र फेरि अर्को मन्त्री बन्ने । फटाहाहरुको रोलक्रम चलिरहेको छ,’ उनले भने ।

उनले पूँजीवादमा कुनै मानवीयता नभएको टिप्पणी गरे ।

मानव पूर्खाले मानवजातिको हितका लागि सूचना र सञ्चारको प्रयोग गरेको साधन आज मानव जातिलाई नै खतरामा पार्ने प्रवृत्तिको कब्जामा पर्न थालेको उनको भनाइ छ ।

विप्लवले भने, ‘त्यसकै निम्ती आज हामी देख्छौँ कि पुँजीवादले जनताको सूचना सञ्चारको साधनलाई पनि आफ्नो निम्ति प्रयोग गरेर आफ्नो लुटको हतियार बनाउने प्रयत्न गरिरहेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *