काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लिने परीक्षामा अर्को एउटा गम्भीर त्रुटी भेटिएको छ । आइतबारभएको मानविकीतर्फ स्नातक तह दोस्रो वर्षको परीक्षामा एउटा प्रश्नै ‘गायब’ भएपछि परीक्षार्थी अन्योलमा परेका थिए ।
पूर्णांक ७० रहेको नेपाली विषयको प्रश्नपत्रमा त्रुटी भेटिएको हो । उक्त प्रश्नपत्रको एक नम्बरमा दुईवटा प्रश्नमा उत्तर दिन भनिएको छ । दुई प्रश्नलाई बराबर ३ र ३ गरी ६ अंकभार दिइएको छ । तर, प्रश्न भने एउटा मात्रै छ ।
प्रश्नपत्रको १ (क) मा लेखिएको छ– तलको अनुच्छेदमा रेखाङ्कित अक्षरीकरण र अक्षर संङ्ख्याङ्कनसमेत गर्नुहोस : तर, तल कुनै पनि अनुच्छेद दिइएको छैन । सिधै १ (ख) मा अर्को प्रश्न सोधिएको छ ।
प्रश्नै नभएपछि त्यसमा कुनै अंक आउने कुरा भएन । पहिलो नम्बरकै प्रश्न भएकाले परीक्षा सुरु हुनासाथ हल्लाखल्ला भयो । परीक्षार्थीले गार्ड बसेका शिक्षकसँग गुनासो गरे । विभिन्न कलेजबाट त्यसरी गुनासो आएपछि त्रिविले हतार–हतार एउटा अनुच्छेद प्रिन्ट गरेर कलेजमा पुर्याएको थियो ।
परीक्षा अवधिभित्रै उक्त चिर्कटो परीक्षार्थीलाइ बाँडिएपछि परीक्षा सामान्यरुपमा सञ्चालन भएको एक विद्यार्थीले बताए । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले सामान्य त्रुटी भएकाे बताए । तर उक्त त्रुटी प्रश्नपत्र बाडेको ५ मिनेटमा नै थाहाँ भएपछि समस्याको समाधान गरिसकेकाे उनकाे भनाइ छ ।
उनले नेपाल प्रेससँग भने, ‘प्राविधिक रुपमा सामान्य त्रुटी भएको रहेछ । प्रश्नपत्र बाडेको ५ मिनेटमा नै हामीले सबै ठाँउँमा उक्त समस्याबारे जानकारी गराएर समाधान गरिसक्यौ । प्रश्नमा जुन कुरा छुटेको थियो, त्यो कुरा एक लाइन एसएमएसमार्फत सबैलाई जानकारी गरायौ र उक्त समस्या ठाउँको ठाउँ समाधान भइसकेको कुराे हाे ।’