समाचार सङ्कलनमा भइरहेको अवरोध हटाउन संसद् सचिवालय तयार – Nepal Press

समाचार सङ्कलनमा भइरहेको अवरोध हटाउन संसद् सचिवालय तयार

काठमाडौँ । संघीय संसद सचिवालयले समाचार संकलनको क्रममा भइरहेका अवरोध हटाउन तयार रहेको जनाएको छ । समाचार संकलनमा पत्रकारलाई रोक्ने कुनै योजना नभएको स्पष्ट पार्दै सचिवालयका अधिकारीले कुनै कारणवश कमजोरी भएको पाइएमा सच्याउने तयार रहेको बताएका हुन् ।

सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले मंगलबार ललितपुरमा गरेको ‘संसदीय रिपोर्टिङ, अभ्यास र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले संसदका खबर नागरिकसम्म पुर्याउने  काम सञ्चार जगतको नै भएको बताए । ‘पत्रकारलाई संसद, समितिका बैठक प्रवेश र दिनुपर्ने सूचनाका बारेमा केही गुनासो आएका छन् । ती गुनासो फेरि नदोहरिने गरी समाधानका लागि सभामुखज्यूस्तरमा पनि हामी छलफल गरिरहेका छौँ । केही दिनमा नतिजा पनि देखिने छ ।’ संसद् र सांसद्को सुरक्षाको लागि संसद भवन, सिंहदरवार लगायतका क्षेत्रमा जाँच हुने गरेकाले त्यसलाई अन्यथा नलिन पनि अनुरोध गर्दै कतै त्रुटी भएको भए सुधारका लागि मातहतका निकायलाई निर्देशन दिने पनि उनले बताए ।

विधेयक निर्माणको क्रममा नागगरिकको सहभागीता बढाउनका लागि पनि सञ्चारमाध्यमले विधेयकको मस्यौदाको बारेमा एक–एक गरि सामग्री दिए राम्रो हुने महासचिव गौतमको भनाई थियो । अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधि सभासँगै राष्ट्रिय सभालाई पनि उत्तिकै प्राथमिकताका साथ रिपोर्टिङमा राख्न पत्रकारलाई आग्रह गरे । नीति निर्माणमा राष्ट्रिय सभाको भूमिका झन महत्वपूर्ण हुने भएकाले पनि उत्तिकै प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो ।

सञ्चारकर्मीले संसद्मा पाउने पहुँचका आधारमा सूचना प्रभावकारी हु्ने र लबीसम्म पुग्दा सांसदसँगको पहुँच हुने भएकाले संसदीय रिपोर्टिङमा प्रत्यक्ष सहभागी हुनुको फाइदा धेरै भएको सचिव फुयाँलले बताए । संघीय संसद सचिवालयका प्रवक्तासमेत रहेका सहसचिव डा.रोजनाथ पाण्डेले संसद र संसदीय समितिको विश्लेषणात्मक समाचार कम आउने गरेको बताए । आफूले नबोलेका विषय पनि कतिपय अवस्थामा समाचार बन्ने गरेको उल्लेख गर्दै उनले त्यस्तो नगर्न पत्रकारसँग आग्रह गरे । स्रोतको सूचना लिइसकेपछि सुरक्षामा पनि ख्याल गर्नुपर्ने भन्दै प्रवक्ता पाण्डेले सकारात्मक कुरा पनि स्रम्प्रेषण गर्न सुझाव दिए ।

संसद् सचिवालयका सहप्रवक्तासमेत रहेका उपसचिव दशरथ धमलाले पूरानो नेटवर्किङमा समस्या आएकाले सं्रसदमा हुने प्रत्यक्ष प्रसारणको अडियोमा समस्या देखिएको बताए । सुरक्षा जाँचका नाममा पत्रकारलाई दुख दिने नियत नभएको उल्लेख गर्दै उनले विशेष परिस्थितिमा बाहेक अरु समयमा पत्रकारलाई कतै नरोकिएको धारणा राखे । अनुभवी पत्रकार संसदीय रिपोर्टिङमा जानुपर्ने उनको सुझाव थियो ।

अन्तरक्रियामा प्रस्तुति राख्दै संसदीय मामिला पत्रकार समाजका पूर्व महासचिव बबिन शर्माले संसद्ले स्वार्थ बाझिएका विषय लुकाउन खोज्ने गरेको, सुरक्षा संवदेनशीलताको नाममा दुख दिने गरिएको गुनासो गरे । पत्रकारले पनि अध्ययन गरेर मात्रै खबर लेख्नुपर्नेमा जोड दिँदै यसमा सञ्चारमाध्यमले पनि पत्रकारको क्षमता अभिवृद्धिका लागि लगानी गर्नुपर्ने आवश्यकता औल्याए । उनले संसद्को प्रक्रिया नबुझेरै रिपोर्टिङमा जाँदा समस्या भएको उदाहरण दिँदै प्रक्रियागत विषय बुझेर जानुपर्नेमा जोड दिए ।

संसदीय मामिला पत्रकार समाजका अध्यक्ष सञ्जीव बगालेले पछिल्लो समय संसद्भन्दा पनि बालुवाटार शक्तिशाली भएको भन्दै त्यस्तो हुन नहुनेमा जोड दिए । त्यसका लागि सबै पत्रकार रिपोर्टिङमा पनि जानुपर्ने उनको भनाइ थियो । अझैँ पनि संसदको रिपोर्टिङमा समस्या रहेको जानकारी गराउँदै सभामुख, सचिवालयले ती समस्या तत्काल समाधान गर्ने उनले विश्वास व्यक्त गरे ।

संसदीय मामिला पत्रकार समाजका पूर्व अध्यक्ष नारायण काफ्लेले संसद्मा सांसद्को हाजिरी दैनिक राखिदिन पनि सुझाव दिएका छन् । संसदीय रिपोर्टिङमा देखा परेका समस्या समाधान हुँदै गएको बताउदैँ उनले पत्रकारले पनि संसदीय अभ्यासको बारेमा ध्यान दिनुपर्ने कुरा धेरै रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर