मधेसको कृषि मन्त्रालयमा जनमतका कार्यकर्ताले लगाए ताला
जनकपुरधाम । मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा जनमत पार्टीका कार्यकर्ताहरुले बुधबार तालाबन्दी गरेका छन् ।
योजनाहरुमा भएको भ्रष्टाचारको छानबिन, कृषकहरुको रकम भुक्तानी र किसान आन्दोलनताका प्रदेश सरकारले बनाएको अध्ययन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने सिंचाइको व्यवस्थालगायतको माग राख्दै तालाबन्दी गरिएको हो । पार्टीले जनकपुरमा प्रदर्शनपछि कृषि मन्त्रालयमा तालाबन्दी गरिएको जनमतका नेता बीपी साहले जानकारी दिए ।
उनले माग पूरा नभएसम्म तालाबन्दी जारी रहने र जोर जबरजस्ती गरे उत्पन्न हुने परिस्थितिको जिम्मेवारी प्रदेश सरकारले लिनुपर्ने चेतावनीसमेत दिएका छन् ।
प्रदर्शनमा जनमतका कार्यकर्ताहरुले प्रदेश र संघ सरकारविरुद्ध नाराबाजी गरेका थिए । किसानको माग सम्बोधन नगरिएसम्म आन्दोलन जारी रहने जनमत पार्टीले जनाएको छ ।
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनअगाडि महिनौंसम्म जनमत पार्टीले मधेसका विभिन्न जिल्लामा किसान आन्दोलन गरेको थियो । अहिले फेरि किसान आन्दोलन थाल्ने तयारी जनमत पार्टीले गरेको छ ।