एमाले महासचिव भन्छन् : गभर्नरमाथि प्रहारको कारण नबुझ्दा श्रीलंकाकरणको जोखिम – Nepal Press

एमाले महासचिव भन्छन् : गभर्नरमाथि प्रहारको कारण नबुझ्दा श्रीलंकाकरणको जोखिम

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कालो धनलाई सेतो बनाउने प्रयासमा अवरोध बन्दा गभर्नर महाप्रसाद अधिकारीमाथि आक्रमण भइरहेको दावी गरेका छन् ।

एमालेको विभागमा गभर्नरलाई राखिएको भनेर उत्पन्न गरिएको विवाद असान्दर्भिक बनिसकेको उनले बताए ।

आज आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरले गभर्नरलाई असफल बनाउन खोज्नुनको कारण नबुझ्ने हो भने नेपालको श्रलिंकाकरण हुने जोखिम रहेको पनि उल्लेख गरे ।

पोखरेलले भने, ‘अहिले पैसा हरायो भनिएको छ । पैसा किन हरायो भन्दा कालोलाई सेतो बनाउन खोज्दा हरायो । गभर्नर यसको विपक्षमा थिए । गभर्नरको नीति फलो गरेको भए पैसा हराउने नै थिएन ।’

उनले अगाडि थपे, ‘एमालेले विभाग गठन गर्दा राखेको नामलाई जोडेर हल्लाखल्ला गर्नुपर्ने विषय हो र ? एमालेका विभागमा कति सदस्य छन्, कुनै चासो छ ? कसैले प्रश्न गर्‍या छ ? गभर्नरका विषयमा आक्रमण ब्ल्याकलाई ह्वाइट बनाउने योजना असफल भएका कारणले नै हो भन्ने बुझेनौं भने श्रीलंकाकरण हुने जोखिमबाट देशलाई जोगाउन सक्छौं ?’

गभर्नर असफल हुनु भनेको देशमा वित्तीय संकट खडा गर्नेहरुलाई प्रोत्साहन गर्नु भएको पोखरेलले टिप्पणी गरे ।

‘एमालेले उनी पार्टीको विभागका सदस्य होइनन् भनिसक्या छ । गभर्नरले आफैंले भनिसक्या छ । त्यसैले यो बहस असान्दर्भिक छ । कालोधनलाई सेतो बनाउन नपाउँदा उहाँमाथि आक्रमण भएको हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर