शेयर बजारको चेन इफेक्ट: राज्य, लगानीकर्ता र ब्रोकरको गुम्यो अर्बौं रकम
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा शेयर बजारले गति लिन नसक्दा लगानीकर्ताले खर्बौं रुपैयाँ गुमाए । शेयर बजार बढ्नु र घट्नुको नाफा वा नोक्सानको भागीदार लगानीकर्तामात्र हुँदैनन् । त्यसको प्रत्यक्ष असर राज्यको आम्दानीमा समेत पर्छ ।
सरकारले शेयर बजारबाट गत वर्ष १० अर्ब ३५ करोड ३० लाख ६० हजार रुपैयाँ राजस्व संकलन गरेको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ । जुन अघिल्लो वर्षको तुलनामा ४ अर्बभन्दा कम हो । सरकारले पूँजीगत लाभकरमा बजेटमार्फत दुई खालको दर निर्धारण गरेको थियो । अल्पकालीन (एक वर्षभन्दा कम अवधिमा शेयर खरिद बिक्री गर्ने) कारोबारीका लागि ७.५ प्रतिशत र दीर्घकालीन (एक वर्षभन्दा बढी अवधि राखेर शेयर बिक्री गर्ने) का लागि ५ प्रतिशत निर्धारण गरिएको छ ।
अघिल्लो वर्ष १४ अर्ब १३ करोड रुपैयाँ पूँजीगत लाभकर उठेको थियो । गत आर्थिक वर्ष झण्डै ९ सयले बजार घटेको थियो । यसबाट लगानीकर्ताको खर्बौं गुम्यो । सरकारका नीति बजारमैत्री नबन्दा राज्यसमेत घाटामा गएको लगानीकर्ताको बुझाइ छ ।
२०७८ भदौ २ गते इतिहासमै उच्च ३१९९ विन्दूको रेकर्ड बनाएको शेयर बजार लगातार घट्दै गएर १८०० विन्दूको आसपासमा रह्यो । अहिले बजार २००० को आसपासमा घुमिरहेको छ । शेयर बजारको आफ्नै गति र चक्र हुन्छ । कतिपय अवस्थामा राजनीतिक र मनोवैज्ञानिक कारणले बजारलाई बढी प्रभाव पारिरहेको हुन्छ ।
ब्रोकर पनि घाटामा
शेयर बजार घटेपछि धितोपत्र दलालको आम्दानीमा पनि धक्का लागेको छ । शेयर कारोबार गरेवापत ०.२७ प्रतिशत देखि ०.४ प्रतिशतसम्म शुल्क ब्रोकरहरुले लिँदै आएका छन् । यस्तो शुल्कबाट २०७८/७९ मा ५ अर्ब ९७ करोड रुपैयाँ उठाएका थिए । यो रकम अघिल्लो वर्ष ११ अर्ब रुपैयाँभन्दा बढी थियो ।
नेपालमा अहिले ५० वटा ब्रोकर कम्पनी रहेका छन् । लगानीकर्ताले शेयर कारोबार गरेको रकमबाट प्राप्त हुने कमाइ नै धितोपत्र दलालको आम्दानी हो ।
५० हजार रुपैयाँसम्म शेयर खरिदबिक्री गर्दा लगानीकर्ताबाट कारोबार रकमको ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, पाँच लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखभन्दा माथि एक करोड रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत शुल्क लिन पाउने व्यवस्था नेपाल धितोपत्र बोर्डले गरेको छ । एक करोडभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत कारोबार शुल्क लाग्छ ।
क्लोज आउटको रेट पनि घट्यो
शेयर बजारमा कारोबार गर्न नजानेर लगानीकर्ताले करोडौं रुपैयाँ जरिवाना तिर्दै आएका छन् । शेयर कारोबार गर्न नजान्नेहरुबाटै सीडीएसले जरिवानास्वरुप ९ करोड ७८ लाख रुपैयाँ उठाएको छ । अघिल्लो वर्ष यस्तो रकम १५ करोड रुपैयाँ थियो ।
अघिल्लो वर्षको तुलनामा क्लोज आउटबाट उठ्ने रकम घटेको छ । सीडीएसका प्रवक्ता सुरेश न्यौपानेले लगानीकर्ताहरु संयमित र जानकार भएर कारोबार गर्न थालेको बताए । आफूसँग नभएको शेयर बिक्री गरे सो कारोबार क्लोज आउटमा पर्ने गर्छ । मानौं, दोस्रो बजारमा कुनै लगानीकर्ताको १० कित्ता शेयर छ । तर, उसले १० लेख्ने ठाउँमा भूलवस एउटा शून्य थपेर १०० कित्ताको आदेश दाखिला गर्यो भने सो कारोबार क्लोज आउटमा पर्छ ।
चाँडो नाफा कमाउन डिम्याट खातामा नआई शेयर बेच्ने, बैंकमा रोक्का भएको शेयर बेच्ने, आफ्नो डिम्याट खातामा नहेरी शेयर बिक्री आदेश दिने, ब्रोकर कम्पनीले तीनपुस्ते नभिडाइ आदेश दाखिला गर्दा, कम्पनीको नाम नमिल्ने जस्ता कारणले क्लोज आउटको समस्या हुने गरेको छ ।