झण्डावाल र अत्यावश्यक सेवाका सरकारी गाडी सार्वजनिक बिदामा चलाउन पाइन्छ: गृह मन्त्रालय
काठमाडौं । गृह मन्त्रालयले झण्डावाल र अत्यावश्यक सेवाका सरकारी गाडी सार्वजनिक बिदामा चलाउन सवारी पास आवश्यक नपर्ने बताएको छ ।
मन्त्रालयले झण्डावाल सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सवारी साधनहरुलाई सार्वजनिक बिदाको दिन चलाउन सवारी पास आवश्यक नपर्ने बताएको हो ।
केही दिनदेखि सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन चलाएको भन्दै विभिन्न समूहको सरकारी सवारी साधन रोक्ने, चावी खोस्ने लगायतका गतिविधिहरु गरेको थियो ।
मन्त्रालया सचिवस्तरको बुधबारको निर्णयानुसार अत्यावश्यक सरकारी सवारी साधनहरुलाई सार्वजनिक बिदाको दिन चलाउन सवारी पास आवश्यक नपर्ने हुँदा सोही बमोजिम आवश्यक व्यवस्था मिलाउन प्रहरी प्रधान कार्यालय, नक्साल र सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको छ । साथै सो बारेमा सर्वसाधारणलाई समेत सुसूचित गराउन भनेको छ ।
साथै मन्त्रालयले सरकारी सवारी साधन बिदाको दिन समेत चलाउनुपर्ने भएमा अनिवार्य सवारी पास लिनुपर्ने व्यवस्था कडाईका साथ लागू गराउन निर्देशन दिएको छ ।
अत्यावश्यक सवारी साधनहरु वाहेकका सरकारी सवारी साधन बिदाको दिन समेत चलाउनुपर्ने भएमा अनिवार्य सवारी पास लिनुपर्ने व्यवस्था कडाईका साथ लागू गर्न निर्देशन दिएको हो ।