महंगीको चित्र देखाउँदै ज्ञवालीले भने- मलाई ट्रोल गरेर भान्सा सस्तो हुन्छ ? (भिडिओ) – Nepal Press

महंगीको चित्र देखाउँदै ज्ञवालीले भने- मलाई ट्रोल गरेर भान्सा सस्तो हुन्छ ? (भिडिओ)

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नियन्त्रणहीन ढंगले मूल्यवृद्धि भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले आजको संसद बैठकमा विभिन्न वस्तु तथा सेवाहरूमा भएको मूल्यवृद्धिको तथ्यांकसमेत प्रस्तुत गरे ।

ज्ञवालीले पछिल्लो एक वर्षमै खाद्यान्नमा ४० प्रतिशत मूल्यवृद्धि भएको बताए । मूल्यवृद्धिको मारमा परेका जनतालाई सरकारले राहत दिने र मूल्य नियन्त्रणमा लाग्नुको साटो विषयान्तर गर्ने प्रयास गरिरहेको उनको आरोप छ ।

ज्ञवालीले भने, ‘यतिबेला मध्यमवर्गलाई पनि आच्छुआच्छु परिरहेको छ । बहुआयामिक गरिबीले आक्रान्त नागरिकको संख्या ठूलो छ । थोरै भए पनि उनीहरूको लागि के गर्न सकिन्छ भन्ने अहिलेको साझा विषय बन्नुपर्ने होइन ? तर, सरकार विषयान्तर गरेर एम अधिकारी खोजेर बसेको छ ।’

मूल्यवृद्धिको विषयमा बोल्दा आफूलाई ट्रोल गरिएको भन्दै उनले चित्त दुखाए ।

‘अमेरिकामा खाना खाएको मेरो फोटो राखेर उहाँहरूको भान्सा सस्तो होस, मेरो शुभकामना छ,’ ज्ञवालीले भने, ‘तर, गम्भीर विषयलाई पन्छाएर हामीले कता ध्यान दिइरहेका छौं भन्ने चिन्ताको कुरा हो ।’

केही दिनअघि मूल्यवृद्धिको विषयमा चर्चा गर्ने क्रममा ज्ञवालीको एउटा भनाइमाथि ट्रोल गरिएको थियो । उनले महंगीका कारण आफ्नो भान्सामा समेत दुईथरि तरकारी पकाउन नसक्ने स्थिति भएको बताएका थिए । तर, ज्ञवालीले विभिन्न परिकारसहित खाना खाइरहेका पुरानो तस्बिर भाइरल बनाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर