संसदमा महेश बस्नेतको प्रश्नः एम अधिकारी खोजेर बस्ने कि एस देउवा, जे शर्माहरुलाई कारवाही गर्ने ? (भिडिओ) – Nepal Press

संसदमा महेश बस्नेतको प्रश्नः एम अधिकारी खोजेर बस्ने कि एस देउवा, जे शर्माहरुलाई कारवाही गर्ने ? (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले आफ्नो पार्टीको आर्थिक विभागका सदस्य एम अधिकारीको खोजी गर्नुको साटो विभिन्न ढंगले राज्यको दोहन गरिरहेका नेताहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।

आजको संसद बैठकमा कटाक्षपूर्ण अभिव्यक्ति दिँदै उनले यस्तो माग गरेका हुन् । सांसद बस्नेतले बैठकको शून्य समयमा राखेको संक्षिप्त मन्तव्य यस्तो थियोः

‘केही साथीहरु एमाले अर्थ विभागका सदस्य एम अधिकारी खोजिरहेका छन् । विदेशी शक्ति गुहारेर राष्ट्रपति र प्रधानमन्त्री पालैपालो बनेर राज्यको दोहन गर्ने र परिवारवाद लाद्ने नेता एस देउवा, माओवादी नेता पी दाहाल र नेतृ ए राणा देउवालाई खोजेर कारवाही गर्नुपर्ने होइन र ? बजेटमा रातारात सेटिङ गरेर कर र भन्सारका दररेटहरु गडबड गरेर सीसीटिभी लगायतका प्रमाणहरु नष्ट गर्ने र ६ अर्बभन्दा बढी कमिसन गडबडी गर्ने माओवादी नेता जी शर्माको खोजी गरेर कारवाही गर्नुपर्ने होइन र ?
पेट्रोलियमको भाउ, महंगी र कालोबजारीलाई प्रोत्साहन गर्ने कांग्रेस नेता डी बडुलाई कारवाही गर्नुपर्ने होइन र ? मल अभाव र पुस्तक अभाव गराइ किसान र विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्ने एम यादव र डी पौडेलहरुलाई कारवाही गर्नुपर्ने होइन र ? प्रधानन्यायाधीशलाई महाअभियोग लगाइ प्रक्रिया अवरोध गरेर कामु खाइरहेका डी कार्कीहरुलाई कारवाही गर्नुपर्ने होइन र ? एमसीसी पास गर्न व्याख्यात्मक टिप्पणी गर्ने र एसपीपी सम्झौता गरेर मुलुकलाई महाशक्ति राष्ट्रको सैन्य रणनीतिको अंशियार बनाउने एस देउवा र एम खड्का लगायतलाई कारवाही गर्नुपर्ने होइन र ?

(बस्नेतले बोल्दाबोल्दै सभामुखले माइक काटिदिएका थिए ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर