नेपाली अर्थतन्त्र श्रीलंकाकरणको कति टाढा कति नजिक ? यस्ता छन् सूचक – Nepal Press

नेपाली अर्थतन्त्र श्रीलंकाकरणको कति टाढा कति नजिक ? यस्ता छन् सूचक

काठमाडौं । नेपालभन्दा ठूलो अर्थतन्त्र भएको श्रीलंका यतिबेला चरम संकटमा छ । श्रीलंका इन्धन, खाद्यान्न र औषधिलगायतका अत्यावश्यक वस्तुसमेत आयात गर्नै नसक्ने अवस्थामा पुगेपछि नेपालको अर्थतन्त्रसँग जोडेर अनेकन टिप्पणी, आशंका र बहस भइरहेका छन् ।

केही महिनायता नेपालको अर्थतन्त्र श्रीलंकाकै पथमा जान लागेको विषयले सडकदेखि सदनसम्म र सामाजिक सञ्जाल तताएको छ । देशको अर्थतन्त्र श्रीलंका जस्तै चरम संकटमा छ त ? तथ्यांकले के देखाउँछ ?

श्रीलंकाको मुद्रा यतिखेर निकै कमजोर देखिएको छ । जब नोभेम्बर २०१९ मा गोटबय राजपक्षले सत्ता सम्हाले एक डलर १७९ रूपियाँमा सटही हुन्थयो । तर अहिले त्यो ३६० रुपियाँभन्दा बढी छ ।

उसो त अमेरिकन डलरको तुलनामा नेपाली मुद्रा पनि दिनप्रतिदिन कमजोर बन्दै गइरहेको छ । १ अमेरीकी डलरबराबर १२८ रूपैयाँभन्दा बढी छ ।

अर्थविद् डा. दिलनाथ दंगाल नेपालको अर्थतन्त्र बिग्रँदै गएको तर श्रीलंकाकै हैसियतमा नरहेको भन्दै सतर्क भने हुनुपर्ने बताउँछन् । ‘दुई वर्षअघि श्रीलंकाको हालत पनि यस्तै थियो । श्रीलंकाले विशेष सावधानी नअपनाउँदा अहिले संकटको भूमरीमा रुमल्लिरहेको छ ‘, उनले भने । श्रीलंका अहिले सन १९४८ मा बेलायतबाट स्वतन्त्र भएयताकै सबैभन्दा गम्भिर आर्थिक संकटसँग जुधिरहेको छ ।

विदेशी मुद्रामा नेपाल र श्रीलंकाको अवस्था

नेपाल राष्ट्र बैंकका अनुसार मुलुकसँग अहिले ११ खर्ब ७६ अर्ब रूपैयाँ विदेशी विनिमय सञ्चिति छ । २०७८ असार मसान्तमा .१३ खर्ब ९९ अर्ब ३ करोड रूपैयाँ बराबर विदेशी विनिमय सञ्चिति थियो । त्यसयता २०७९ जेठसम्म आइपुग्दा १५.९ प्रतिशतले विदेशी मुद्रा सञ्चितिमा कमी आइसकेको छ ।

श्रीलंकामा हाल देखिएको समस्याको प्रमुख कारण पनि विदेशी मुद्रा अभाव नै हो । पछिल्लो समय नेपालमा पनि विदेशी मुद्राको सञ्चिति घट्दै गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखिाउँ छ । तर गत बैशाखको तुलनामा जेठमा भने विदेशी मुद्रा सञ्चिती झण्डै ३० अर्बले बढेको छ । नेपालसँग अहिले भएको विदेशी मुद्राले ७.५३ महिनाको वस्तु आयात र ६.७३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ ।
यता श्रीलंकासँग विदेशी मुद्रा रित्तिसकेको छ ।

खुम्चदो रेमिट्यान्स वृद्धिदर

नेपालको अर्थतन्त्रको महत्वपूर्ण औजारको रूपमा रहेको रेमिट्यान्स (विप्रेषण) ९ खर्ब ४ अर्ब १८ करोड रूपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा ३.८ प्रतिशतको वृद्धि हो । रेमिट्यान्स घटेको छैन । तर, वृद्धिदरमा भने संकुचन आएको देखिन्छ । सन् २०१६ मा विश्वमा सबैभन्दा बढी रेमिट्यान्समा निर्भर मुलुकको सूचीमा नेपाल थियो । त्यतिबेला जीडीपीमा रेमिट्यान्सको योगदान ३१ प्रतिशतभन्दा बढी थियो । अहिले जीडीपीमा रेमिट्यान्सको योगदान २४ प्रतिशतको हाराहारीमा छ । विप्रेषण बढ्दै गए विदेशी मुद्रा सञ्चितीको चाप घट्दै जाने गर्छ । अहिले मुलुकमा ठूलो परिणाममा हुण्डि मार्फत रेमिट्यान्स भित्रने गरेको अनुमान केन्द्रीय बैंककै छ ।

तर, श्रीलंककाको रेमिट्यान्स तीब्र गतिमा ओरालो लागेको छ । सन् २०१९ को नोभेम्बरमा ५१.५ करोड डलर रहेको श्रीलंकाको रेमिट्यान्स पछिल्लो पटक एप्रिल महिनासम्म आइपुग्दा झरेर २४.८९ करोड रहेको छ ।

पेट्रोलियम पदार्थको ऋणमा नेपाल, अभावमा श्रीलंका

श्रीलंकाको सरकारले ऊर्जा संकटका कारण आवतजावत कम गर्न दुई हप्ताका लागि विद्यालयसँगै राज्य सञ्चालित कम आवश्यक संस्थाहरू बन्द गरेको थियो । श्रीलंकाले पेट्रोलियमको आवश्यकता विदेशबाट आयात गरेर पूरा गर्ने गरेको छ तर यो वर्षको सुरूदेखि उसले तेल र ग्यासको आयातका लागि पैसा तिर्न सकिरहेको छैन । यसको कारण अर्थतन्त्रको अरू सबै पक्षमा मन्दी देखिएको छ ।

नेपालले पनि इन्धन आयात गरेर माग धानिरहेको छ । इन्धनमा आयल निगम मासिक ४ अर्ब रूपैयाँभन्दा बढी घाटामा छ । आयल निगमले इन्धनको ऋण तिर्न राष्ट्रिय वाणिज्य बैंकसँग ३ अर्ब रुपैयाँ ऋण लिने प्रक्रिया पनि अघि बढाएको जनाएको छ । नेपालको इन्धनको माग भारतीय आयल कार्पोरेसनले धानिरहेको छ । इन्धनमा ज्यादा घाटा व्यहोरेको नेपालले खपत घटाउन दुई दिन सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको थियो । तर, यो निर्णय एक महिना लागू भएर बन्द भयो ।

सोधानान्तर स्थिति

मुलुकको सोधानान्तर २ खर्ब ८८ अर्ब रूपैयाँले घाटामा छ । कुनैपनि देशको अर्थतन्त्रको स्वास्थ्य स्थिर छ कि छैन भनेर नाप्ने प्रमुख औजारसमेत रहेको भुक्तानी सन्तुलनसमेत भनेर चिनिने सोधानान्तर स्थिति २ खर्ब ७९ अर्बले घाटामा छ । आयात ज्यादा हुने देशमा सोधानान्तर स्थिति घाटामै हुने गरेको छ ।

बार्षिक बजेटभन्दा बढी आयात

नेपालको अर्थतन्त्र आयातमुखी हो । यहाँको आयातको ग्राफ वार्षिक बजेटभन्दा ठूलो छ । गत वर्ष सरकारले १६ खर्बको बजेट ल्याएको थियो तर मध्यावधि समीक्षामार्फत त्यसलाई १५ खर्बमा झारियो । यसै वर्ष ११ महिनामै १८ खर्बभन्दा बढीको वस्तु तथा सेवा आयात भइसकेको भन्सार विभागको तथ्यांक छ ।

असार एक महिनाको आयात थप हुँदा यो वर्ष झण्डै २० खर्ब आयात हुने आंकलन विज्ञले गरेका छन् । देशको व्यापारघाटा २५ प्रतिशतले वृद्धि भएको छ । आयातको तुलनामा निर्यात ज्यादै न्यून छ । निर्यात २ खर्ब पनि पुगेको छैन । आर्थिक वर्ष २०७७/७८ मा नेपालमा वार्षिक १४ खर्बभन्दा बढी वस्तु तथा सेवा आयात भएको तथ्यांक भन्सार विभागसँग छ ।

श्रीलंकाको व्यापारमा भुक्तानी सन्तुलन घाटाको सबै रेकर्ड तोडेर १० अर्ब डलर हाराहारी पुगेको छ ।

पुँजीगत खर्चको अवस्था

आर्थिक वर्ष २०७८/७९ मा ५७.२३ प्रतिशत पुँजीगत खर्च भएको छ । यो भनेको पुँजीगत खर्चलाई विनियोजित रकमको आधारमा यो वर्ष २ खर्ब १६ अर्ब रुपैयाँ खर्च भएको हो । अघिल्लो वर्ष ६४.६९ प्रतिशत पुँजीगत खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । रकमको आधारमा २ खर्ब २८ अर्ब ३० करोड रुपैयाँ खर्च भएको हो ।

पुँजीगत खर्चमा सरकार कमजोर देखिदा यसको असर लगानीमा पर्ने गरेको छ । जसका कारण बैकिङ क्षेत्रमा बर्षेनी तरतलता अभावको घाउ बल्झिरहेको छ । अहिले पनि बैंकहरूसँग लगानी गर्ने पार्यप्त रकम नभएको बैंकर्सहरू नै बताउँछन् । यसले आर्थिक गतिविधिमा संकुचन ल्याउने विज्ञहरूले बताइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *