माओवादीबाट कुटिएका हवल्दारको जाहेरी भएन दर्ता, प्रहरीबाटै मिल्न दबाब – Nepal Press

माओवादीबाट कुटिएका हवल्दारको जाहेरी भएन दर्ता, प्रहरीबाटै मिल्न दबाब

रुपन्देही । रोल्पामा प्रहरी हवल्दारलाई कुटपिट गर्ने माओवादीका कार्यकर्ता तीन दिन बित्दासम्म पक्राउ परेका छैनन् । उल्टो घाइतेलाई आरोप लगाउने गरी रिपोर्ट तयार गर्न प्रहरीलाई नेताहरूले दबाब दिन थालेको बताइएको छ ।

मंगलबार बेलुका रोल्पाको त्रिवेणी गाउँपालिका-७ अँधेरीखोलामा सोही ठाउँका प्रहरी हवल्दार रामकुमार बाँठालाई खिमविक्रम केसी, केशव बिसीसहितका ९जनाको समूहले मरणाशन्न हुने गरी कुटपिट गरेका थिए । केसी माओवादीबाट उम्मेदवार भएकोमा वडाध्यक्षमा पराजित भएका थिए ।

किटानी जाहेरी दिँदा पनि अहिलेसम्म दर्ता नभएको भन्दै पीडितले उल्टै दोषीलाई छुटाउन माओवादी नेता वर्षमान पुन तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले दबाब दिएको बताएका छन् ।

मंगलबारको घटना भएपनि प्रहरीले बुधबार साँझसम्म मुद्दा दर्ता नगरी मेलमिलाप गर्न दबाब दिएको घाइते बाँठाले आफन्तलाई बताएका छन् । उनको टाउको तथा शरीरका विभिन्न भागमा घाउ खत तथा निलडाम छ । सो वडाका वडाध्यक्ष मानबहादुर घर्तीले घरबिदामा गएका प्रहरी हवलदार बाँठा स्थानीय माओवादी कार्यकर्ताको कुटाईबाट गम्भीर घाइते भएको र प्रहरीले समेत घाइतेलाई साथ नदिएको स्थानीयले सुनाएको बताए ।

घर बिदामा जाँदै गरेका प्रहरी हवल्दार बाँठामाथि स्थानीय माओवादी कार्यकर्ता खिमविक्रम केसीको समूहले कुटपिट गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी विनोद घिमिरेले जानकारी दिएका छन् । डीएसपी घिमिरेका अनुसार कुटाइ खाने हवल्दार बाँठा प्युठानबाट सुनवलस्थित दंगामा सरूवा भएका थिए । बाँठा रमाना लिएर बिदामा घर जाँदै गर्दा बाटोमा बसिरहेका माओवादीका कार्यकर्तासँग भेट भएको थियो । मोटरसाइकलमा सवार बाँठाले माओवादी कार्यकर्तालाई बाटोमा किन बसिरहेका हो ? भनेर सोधेपछि विवाद सुरु भएको थियो । उनीमाथि कुटपिट तथा आक्रमण गर्ने सबैले मदिरा सेवन गरेको कुरा खुल्न आएको डिएसपी घिमिरेले बताए । घिमिरेले दुवैपक्षलाई आज पनि छलफलमा राखेको पत्रकारलाई बताएका छन् ।

पीडित हवल्दार बाँठाले जिल्ला प्रहरी कार्यालय रोल्पामा पुगेर ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गर्न खोजेपछि प्रहरी अधिकारी भने छलफलबाटै समस्या समाधान गर्ने उपायको खोजीमा लागेका हुन् । पहिले यो घटनामा पीडक केसीलाई साथ दिने दार्बोट प्रहरी चौकीका हवल्दार साइकुमार चौधरीलोई गलत रिपोर्ट दिएको भन्दै जिल्लामा बोलाइएको छ ।

घाइते बाँठाले आफूले गलत गरेको भए जुनसुकै कारबाही भोग्न तयार भएको तर अपराधीलाई कुनै हालतमा कसैको दवावमा छोड्न नदिन मानवअधिकारवादीसँग अपील गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *