सक्कली वाम: एकै ठाम – Nepal Press
नेपाल चिन्तन

सक्कली वाम: एकै ठाम

कम्युनिष्ट शक्तिको लागि अत्यन्तै उर्बर भूमि मानिएको नेपालमा कम्युनिष्टबीचको आपसी टुटफुट र विग्रहको कारण नेपालको समाजवादी आन्दोलनले संकटको सामना गर्दै आएको छ । २०१५ सालमा जम्मा चार सीटबाट जीतको सुरुवात गरेको कम्युनिष्ट शक्ति २०७४ सालसम्म आउँदा झन्डै १७४ अर्थात करिव ६३ प्रतिशत स्थानमा विजय हासिल गर्ने चरणमा आइपुग्यो । स्वाभाविक रुपमा गरिखाने तथा मेहनतकस वर्गको हित र उत्थानको नारा र दर्शन बोकेर विश्वभर सञ्चालित कम्युनिष्ट आन्दोलनको प्रभाव नेपालमा पनि पर्दै जानु अनौठो विषय भएन ।

उन्नाइसौं शताब्दीबाट सुरु भएको कम्युनिष्ट आन्दोलनले बीसौं शताब्दीको अन्तिम चरणमा आउँदा विश्वव्यापी संकटको सामना गर्नुपर्‍यो । सन् १९१७ मा तत्कालीन सोभियत संघबाट विश्व राजनीतिमा उदाएको कम्युनिष्ट शक्तिले सन् १९४५ देखि १९९० सम्म करिब ४५ वर्ष चरम शीतयुद्धको सामना गर्दै अघि बढ्यो । अन्तमा सोभियत संघको आफ्नै आन्तरिक कमजोरी, उसको चरम आर्थिक संकट र पूँजीवादी शक्तिको विश्वव्यापी घेराबन्दीको कारण पूर्वसोभियत संघको समाजवादले नब्बेको दशकमा ठूलो धक्का व्यहोर्न पुग्यो ।

यस्तो धक्का केवल सोभियत संघको नितान्त आन्तरिक कमजोरीले गर्दामात्रै नभएर सत्तरीको दशकदेखि विश्व कम्युनिष्ट ध्रुवमा देखापरेको विभाजनको पनि प्रमुख भूमिका रहेको देखिन्छ । पूर्वसोभियत संघ र चीनको बीचमा देखापरेको विभाजनले विश्व कम्युनिष्ट आन्दोलनमा अपूरनीय क्षति भएको पाटो महत्वपूर्ण छ ।

कुनै पनि व्यक्ति वा आन्दोलनको उत्थान र पतन हुनुमा बाह्यभन्दा पनि आन्तरिक कमजोरी नै प्रधान हो ।

यसबाट के पुष्टि हुन्छ भने कुनै पनि व्यक्ति वा आन्दोलनको उत्थान र पतन हुनुमा बाह्यभन्दा पनि आन्तरिक कमजोरी नै प्रधान हो । एकातिर पूर्वसोभियत संघको आन्तरिक कमजोरीले गर्दा सोभियत मोडलको समाजवादी सत्ताको अन्त्य भयो भने अर्कातिर चीन र तत्कालीन सोभियत संघबीचको अन्तरविरोधले गर्दा विश्व कम्युनिष्ट आन्दोलनले धक्का व्यहोर्नुपर्‍यो । यस्तो धक्का पूर्वसोभियत संघमा मात्रै नभएर कम्युनिष्ट शासन र प्रभाव भएका प्रायः सबै मुलुकहरुले भिन्नभिन्न रुपमा व्यहोर्नुपरेको यथार्थ लुकेको छैन ।

नेपाल पनि त्यसबाट अछुतो छैन भन्ने कुरा नेपालको पटक-पटकको विग्रह र विभाजनले पुष्टि गर्दै आएको छ । धेरै इतिहासतिर फर्कनु र ऐतिहासिक तथ्यको विश्लेषण गर्नु यो आलेखको ध्येय नभएकाले त्यतातिर नजाऔं । तर, एकता र विभाजनको एउटा लामो कालखण्ड पार गरेर नेपालको कम्युनिष्ट आन्दोलन यो चरणमा आइपुगेको कुरा भने साँचो हो ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बीचमा भएको पार्टी एकताले नेपालको कम्युनिष्ट ध्रुवमा एउटा आशाको सञ्चार गराएको थियो । तर, देश, जनता, र कम्युनिष्ट आन्दोलनको रक्षा र विकासभन्दा पनि कम्युनिष्ट नेताहरुमा परिवारवाद, गुटवाद र फुटवाद हावी हुँदा एकताले सुम्पिएको ऐतिहासिक दायित्व र जिम्मेवारी भने पूरा हुन सकेन । यसको पछाडि नेताहरुका आ-आफ्नै स्वार्थ र चाहनाले काम गरेको कुरा प्रचण्डले तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीप्रति लगाएका १९ बुँदे संगीन आरोपले झनै पुष्टि गर्न पुग्यो । उक्त १९ बुँदे आरोपपत्रको अन्तिम परिणाम निर्विकल्प विभाजन नै थियो र सो आरोप सोही प्रयोजनको लागि ल्याइएको थियो । त्यसपछिको अवस्थाबारे त झन् बताउनैपरेन । परिणाम के भयो भन्ने कुरा छर्लङ्ग नै छ ।

विश्व कम्युनिष्ट आन्दोलन जस्तो प्रकारको आन्तरिक कारणले रक्षात्मकमात्र होइन, कुनै बेला लगभग समाप्त नै भएको भनी पूँजीवादी खेमाले विश्वभरि नै प्रचार गर्‍यो । नेपालको कम्युनिष्ट आन्दोलन पनि मूलतः आन्तरिक अन्तरविरोध र अन्तर्द्वन्द्वले गर्दा विभक्त हुँदै आएको छ । यसको फाइदा विश्व कम्युनिष्ट आन्दोलनमा पूँजीवादी ध्रुवले नै उठायो । नेपालमा पनि पूँजीवादी पार्टीले उठायो ।

पूँजीवादी शक्तिलाई पराजित गर्नु समाजवादी आन्दोलनको एकमात्र ध्येय हो । नेपालमा आफूलाई सक्कली कम्युनिष्ट भन्ने दलहरु अझै अस्तित्वमा छन् भने फेरि एकपटक पूँजीवादी शक्तिको विरुद्ध एक हुने वा तालमेल गरेर जानुपर्ने अवस्था सृजना भएको छ ।

सत्तरीको दशकमा अमेरिकाले चीनलाई सोभियत संघको ध्रुवबाट अलग गरेर उसले रणनीतिक साझेदारको हात अगाडि बढायो । फलस्वरूप अमेरिकाले चीनलाई प्रयोग गरेर सोभियत संघलाई कमजोर बनाएको इतिहास जीवित हुँदै गर्दा नेपालमा पनि नेकपाको विभाजनपछि भएको निर्वाचनमा नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रलाई प्रयोग गरेर अर्काे कम्युनिष्ट पार्टी तथा कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा एमालेलाई अलि कमजोर बनाएको अवस्था ताजै छ ।

त्यसैले कम्युनिष्ट आन्दोलनलाई पराजित गर्न कम्युनिष्ट आन्दोलनलाई नै खरिद गर्ने पूँजीवादी रणनीतिको सफल प्रयोग पूँजीवादी खेमाले नेपालमा गर्न पुग्यो । पूँजीवादलाई अन्त्य गरी समाजवादी राज्य र अर्थतन्त्र व्यवस्था स्थापना गर्ने महान उद्देश्य बोकेका कम्युनिष्ट दलहरु पूँजीवादबाटै प्रयोग भएर समाजवादी आन्दोलनलाई कमजोर तुल्याउने कारक बन्नुपर्दा उनीहरुलाई रत्तिभर पनि प्रायःश्चित छैन । बरु नेकपा एमालेलाई कमजोर बनाइयो भनेर गर्व गर्दै हिँडिरहेको अवस्था छ । जुन कम्युनिष्ट आन्दोलनको लागि अत्यन्तै विडम्बनाको विषय हो ।

अवस्था यही रहने हो भने नेपालमा आउँदै गरेको संघ र प्रदेशको चुनावमा कम्युनिष्ट पार्टीहरुको अन्तरविरोधमा टेकेर नेपालमा पूँजीवाद हावी हुने सम्भावना देखिन्छ । यस्तो स्थितिलाई एउटा सक्कली कम्युनिष्ट भन्ने दलहरुले बढावा दिन किमार्थ पनि हुँदैन । पूँजीवादी शक्तिलाई पराजित गर्नु समाजवादी आन्दोलनको एकमात्र ध्येय हो । नेपालमा आफूलाई सक्कली कम्युनिष्ट भन्ने दलहरु अझै अस्तित्वमा छन् भने फेरि एकपटक पूँजीवादी शक्तिविरुद्ध एक हुने वा तालमेल गरेर जानुकाे विकल्प छैन । अन्यथा आवेश र उत्तेजनाको निर्णयको निरन्तरताले महिनौं होइन, वर्षाैं वा दशकौंसम्म पनि आत्मालोचित हुने अवसर मिल्नेछैन ।

(लेखक शाह कर्णाली प्रदेश एमाले संसदीय दलका प्रमुख सचेतक हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *