एमालेमात्रै नेकपाको निरन्तरता हो: पोखरेल, माओवादी र समाजवादीका नेता-कार्यकर्तालाई एमालेमा फर्कन आह्वान (भिडिओ) – Nepal Press

एमालेमात्रै नेकपाको निरन्तरता हो: पोखरेल, माओवादी र समाजवादीका नेता-कार्यकर्तालाई एमालेमा फर्कन आह्वान (भिडिओ)

सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा विभाजन भइसकेपछि नेकपा एमालेमात्रै नेकपाको निरन्तरता भएको दाबी गरेका छन् । आज सुर्खेतमा आयोजित पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले माओवादी र समाजवादीका नेताहरुलाई एमालेमा फर्किन र बलियो कम्युनिष्ट आन्दोलन निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।

‘हिजो संविधान निर्माणपछि अब नेपालको राजनीति विकास र समृद्धिमा होमिनेछ र हाम्रो प्रतिस्पर्धा कांग्रेससँग हुनेछ भनेर निष्कर्ष निकालेका थियौं’, उनले भने, ‘तर, केही तत्वले नेकपाभित्र विग्रह पैदा गरे । पार्टी अध्यक्षविरुद्ध मोर्चाबन्दी गर्ने, घेराबन्दी गर्ने काम भयो । त्यसपछि एउटा पार्टीको नेता प्रचण्ड बन्नुभयो । अर्को पार्टीको नेता माधव नेपाल बन्नुभयो । नेकपा एकताको पक्षमा छैनन् भनेर अध्यक्ष ओलीमाथि आरोप लगाइयो ।’

उनले प्रचण्डले नेतृत्व गरेको माओवादीमा माओवादीमात्रै भएको र माधव नेपालले नेतृत्व गरेको पार्टीमा एमालेमात्रै देखिएको बताए ।

‘आज प्रचण्ड नेतृत्वको पार्टीभित्र नेकपा देखिन्छ कि देखिँदैन ? दैखिँदैन, त्यहाँ माओवादीमात्रै देखिन्छन् । माधवको पार्टीमा नेकपा देखिन्छन् देखिँदैनन, त्यहाँ एमालेमात्रै देखिन्छ’, नेता पोखरेलले भने, ‘एमालेलाई हेर्नुभयो भने नेकपा देखिन्छ । नेकपाको भावनाको नेतृत्व गर्ने पार्टीको रुपमा एमाले स्थापित भएको छ । अहिले माओवादी केन्द्र र एकीकृत समाजवादीमा रहेका साथीहरु प्रचण्डको, माधव नेपालको नेतृत्वमा होइन, कमरेड ओलीको नेतृत्वमा आउनुहोस् । बलियो कम्युनिष्ट बनाउने हो भने कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने हो भने आउनुहोस् । म यहाँबाटै यहाँहरुलाई आह्वान गर्दछु ।’

उनले जनताले बनाएको संविधानको आधारमा राष्ट्र निर्माणको अभियान पूरा गर्नुपर्ने देखिएको बताए । तर सत्ता गठबन्धनले त्यसको उल्टो गर्दै आइरहेको उनले आरोप लगाए ।

‘गठबन्धनको न कुनै लक्ष्य छ न त उद्देश्य छ । निश्चित स्वार्थको झुण्ड हो यो । यसको एकैमात्र उद्देश्य नेकपा एमालेलाई रोक्नेमात्रै छ’, महासचिव पोखरेलले भने, ‘हिजो नेकपामा हुँदा हरेक कदमको विरोध गर्ने प्रचण्ड र माधव अहिले ती सबै कुराको खुलेर सर्मथन गर्दै आइरहेक छन् । एमसीसीदेखि नागरिकता विधेयक पारितसम्मका घटनाक्रमले त्यो कुरा पुष्टि गरेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर