नेवानीमा नमूना भ्रष्टाचार- प्रोक्सी एजेन्सीमार्फत विमान चार्टर्ड गर्दा घाटाको सम्झौता – Nepal Press

नेवानीमा नमूना भ्रष्टाचार- प्रोक्सी एजेन्सीमार्फत विमान चार्टर्ड गर्दा घाटाको सम्झौता

काठमाडौं । पिक सिजनको बेला आफ्नो उडान नभरी प्रतिस्पर्धी कम्पनीको ‘प्रोक्सी एजेन्सी’ लाई नेपाल वायु सेवा निगम (नेवानी) को ट्वीनटर जहाज चार्टर्ड अनुमति दिइदा प्रतिदिन लाखौं रुपैया मिलेमतोमै नोक्सानी पारिएको खुलेको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र कमर्सियल डाइरेक्टर जनकराज कालाखेतीले समिट एयरका सन्चालकको प्रोक्सी एजेन्सीसँग पोखरा-जोमसोम-पोखरा र काठमाडौं-लुक्ला-काठमाडौं लगायतका रुटमा चार्टर्ड सम्झौता गर्दा निगमलाई घाटा भएको पाएको हो ।

निगमका अध्यक्ष युवराज अधिकारीमाथि छानबिन गर्न गठिन समितिले पर्यटकीय गन्तव्यमा पिक सिजनका बेला ‘प्रोक्सी एजेन्सी’ मार्फत चार्टर्ड उडान गर्दा निगमलाई घाटामा पारेर व्यक्तिगत फाइदा लिइएको ठहर गरेको छ । जबकी सिजनका बेला ती गन्तव्यमा निगमले आफ्नै नियमित उडान गर्न सक्छ ।

नेपाल प्रेसलाई प्राप्त प्रमाण अनुसार यसै वर्षको मार्च महिनादेखि निगम र सुभ टुर्स एण्ड ट्राभल्स प्रालिबीच विभिन्न जिल्लामा चार्टर्ड उडान भर्ने सम्झौता भएको थियो । सम्झौतामा निगमको तर्फबाट वाणिज्य विभागका प्रमुख जनकराज कालाखेती र सुभ ट्राभल्स का तर्फबाट निर्देशक सन्जिमा शर्माको हस्ताक्षर छ ।

शुभ ट्राभल्स समिट एयरको ‘प्रोक्सी एजेन्सी’ हो भन्ने प्रमाण सन्जिमा अर्याल शर्माको ‘स्टाटस’ले पनि जनाउँछ । उनी समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्कीको स्वकीय सचिव हुन् । समिट एयरको उनी कर्मचारी रहेको परिचपत्र समेत यहाँ देख्न सकिनेछ ।

मार्च, अप्रिल, मे महिना महिनाको पिक सिजन हो । पोखरा-जोमसोम-पोखरा उडान नेपाल वायु सेवा निगमले आफैं भर्न पनि सक्छ । तर, प्रोक्सी एजेन्सीमार्फत चार्टर्ड गर्दा काठमाडौंबाट पोखरा पुगेको र पोखराबाट काठमाडौं फर्किएको खर्चसमेत निगमले व्यहोरेको पाइएको छ ।

त्यस्तै जहाज ‘क्रु’ पोखराको वाटर फ्रन्ट रिसोर्टमा बसेको खर्च तथा इन्जिनियरसहितको सबै खर्च पनि निगमले व्योहेरेको छ । विमान चार्टर्ड गर्ने बेला प्रचलित चार्ज १७३० डलर हुनुपर्नेमा १३१० प्रति ब्लक आवरमा सम्झौता गरेको बताइएको छ ।

फ्युल चार्जको हिसाबले विमानको चार्टर्डमा मात्र निगमलाई १७ हजार डलरभन्दा बढी घाटा भएको छ । ६७ हजार ३१७ डलर हुनुपर्नेमा सम्झौताबमोजिम एजेन्सीले ५० हजार २१७ डलरमा ३२ घण्टा उडान भरेको पाइएको छ । यसबाहेक उडान कर्मचारीको खर्च र काठमाडौंबाट पोखरा तथा पोखराबाट काठमाडौं दैनिक विमान आवतजावतको खर्च पनि निगमले नै भर्नुपरेको छ ।

३ मे २०२२ देखि लागू भएको चार्टर्ड सम्झौता मे महिनासम्म लागू हुने भनिएकोमा चुनावका कारण निगमले केही अगाडि सम्झौता रद्द गरेको थियो । पोखराबाट जोमसोम र जोमसोमबाट पोखरा उडानका फाइदा एजेन्सीले कमायो । तर निगमले भने काठमाडौंबाट रित्तो जहाज पोखरा पुर्‍याइदियो र पोखराबाट रित्तो जहाज काठमाडौं ल्याउँदाको खर्च पनि व्यहोर्नुपर्‍यो ।

नाफा कमाउनका गरिनुपर्ने जहाज चार्टर्डमा निगमले जानाजान घाटा व्यहोरेर किन गर्नुपर्‍यो ? छानबिन समिति स्रोतले यसलाई नमूना भ्रष्टाचार भनेको छ । सिजनमा आफैंले उडान नभरी चार्टर्ड गर्न दिने र चार्टर्ड्डमा जानाजान निगमलाई घाटा हुनेगरी किन सम्झौता गरियो ? यसबारेमा प्रतिक्रिया लिन खोज्दा कार्यकारी अध्यक्ष अधिकारी र कमर्सियल डाइरेक्टर कालाखेती दुवैजना सम्पर्कमा आउन चाहेनन् ।

निगमले सम्झौता रद्द गर्नभन्दा अघि अर्थात चैत मसान्तसम्म सुभ ट्राभल्सले पोखरा-जोमसोम-पोखरा करिब ३३ घण्टा चार्टर्ड्ड उडान गरेको थियो । त्यस्तै काठमाडौं-लुक्ला-काठमाडौं ४ घण्टा र पोखरा-भैरहवा-पोखरासमेत गरी जम्मा ३८ घण्टा चार्टर्ड्ड उडान गरेबापत निगमलाई ५० हजार २१७ डलर तिरेको थियो ।

जबकी तत्कालीन फ्युल चार्जअनुसार उक्त रकम १७ हजार डलरभन्दा कम रहेको निगमका उच्च अधिकारीहरू बताउँछन् । जानाजान घाटाको व्यापार गरेर प्रोक्सी एजेन्सी धनी बनाइएको हो वा निगमका सम्बद्ध अधिकारीहरुले आफ्नो गोजीमा केही लाख रकम पार्न यस्तो नमूना भ्रष्टाचार गरेका हुन् ? छानबिन समितिको रिपोर्टले नै बताउला ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर