झण्डै यथास्थितिमा एमसीसी पास भएको थियो, व्याख्यात्मक टिप्पणीले ठूलो ढाडस दियो : माधव नेपाल (भिडिओ) – Nepal Press

झण्डै यथास्थितिमा एमसीसी पास भएको थियो, व्याख्यात्मक टिप्पणीले ठूलो ढाडस दियो : माधव नेपाल (भिडिओ)

‘दक्षिण र पश्चिमको प्रभावमा रहेको कांग्रेस र कम्युनिष्ट भनिने एमाले एमसीसी पास गर्न मिलेका थिए’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले र कांग्रेस मिलेर झण्डै एमसीसी एथास्थितिमा पारित गरेको टिप्पणी गरेका छन् ।

आफूहरुले व्याख्यात्मक टिप्पणीको अस्त्र अघि सारेर देशको खड्को टारेको उनको दाबी छ ।

आज आयोजित विश्वको भूराजनीति तनाव र नेपालको स्थितिका विषयक अन्तरक्रियामा बोल्दै नेपालले कम्युनिष्ट पार्टीकै नेता प्रधानमन्त्री भएका बेला नेपालमा एमसीसी भित्र्याइएको बताए ।

उनले भने, ‘एमसीसी मात्र होइन, आइपीएसमा नै नेपाल जोडिने स्थिति आएको थियो । कम्युनिष्ट भनिएको एमाले र दक्षिण तथा पश्चिमी शक्तिको प्रभावमा रहेको नेपाली कांग्रेस मिलेर झण्डै यथास्थितिमा एमसीसी पारित गरेका थिए । तर, हामीले व्याख्यात्मक टिप्पणीबिना पारित गर्नु हुँदैन भनेर अडान लियौं ।’

अन्तर्राष्ट्रिय अभ्यासलाई समेत ध्यानमा राखेर आफूहरुले व्याख्यात्मक टिप्पणीको उपाय अघि सारेको नेपालले बताए ।

उनले थपे, ‘हामी कुनै पनि सैन्य गठवन्धन मान्दनौं भनेर हामी व्याख्यात्मक टिप्पणीमा घोषणा गरेका छौं । ३० दिनको सूचना दिनर कुनै पनि बेला नेपालले सम्झौताबाट ब्याक हुन सक्ने पनि उल्लेख भएको छ । यसले देशलाई ठूलो ढाडस दियो । जनताको भावना व्याख्यात्मक टिप्पणीमा प्रतिबिम्बित भएको छ ।’

नेपालले कम्युनिष्ट पार्टीकै सरकारको पालामा एसपीपी सम्झौता पनि गर्न खोजिएको नेपालको भनाइ छ ।

‘सरकारको स्वीकृति लिएर सेनाले चिठी पठाएको रहेछ । त्यो पनि कम्युनिष्ट सरकारको पालामा । त्यस्तो चिठी सेनाले पठाउनै हुँदैनथ्यो । त्यो अवस्थामा हामीले शेरबहादुर देउवालाई दवाव दियौं र सरकारले निर्णय लियो ।’

नेपालले भर्खरै पनि आफू र प्रचण्डले देउवालाई एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्र लेख्न भनेको उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *