सुर्खेतका आधा जनप्रतिनिधिले अझै बुझाएनन् निर्वाचन खर्च विवरण
कसले बुझाए, कसले बुझाएनन् ?
सुर्खेत । सुर्खेतमा नौ पालिकाका निर्वाचित जनप्रतिनिधिमध्ये करिबले आधाले खर्च विवरण अझै बुझाएका छैनन् । निर्वाचन सम्पन्न भएको करिब दुई महिना बित्दापनि निर्वाचनका समयमा आफूले गरेको खर्चको विवरण नबुझाउने प्रतिनिधिहरूको संख्या ठूलो छ ।
सुर्खेतका ९ पालिका र समन्वय समितिसमेत गरी ५२२ जनप्रतिनिधि निर्वाचित भएका छन् । यो भनेको कार्यपालिका सदस्य बाहेकको संख्या हो । यसमध्येबाट जिसस उपप्रमुख सचिनकुमार बडुलालसहित २५९ जनाले मात्र निर्वाचन खर्च पेस गरेका छन् । जिससका अन्य ८ जनाले बुझाएका छैनन् ।
आयोगले जिसस प्रमुख र उपप्रमुखका लागि साढे दुई लाख तथा सदस्यका लागि साढे एक लाख रूपैयाँ खर्च गर्न पाउने व्यवस्था गरेको छ ।
यी प्रतिनिधिले बुझाएनन् विवरण
२०७४ सालमा नगरप्रमुख बनेका गुर्भाकोट नगरपालिकाका प्रमुख हस्तबहादुर पुनः यस पटक पनि उनी नगरप्रमुखमा दोहोरिएका छन् । उपप्रमुखमा मैना विक पनि दोहोरिएकी हुन् । उनीहरूले अहिलेसम्म आफ्नो खर्च विवरण बुझाएका छैनन् । पाँच वर्षे कार्यकाल काम गरेर फेरि उही पदमा दोहोरिए पनि उनीहरूले निर्वाचन आयोगको निर्देशनलाई अटेर गर्दै आएका छन् ।
१४ वडा रहेको यो नगरपालिकाका ७२ जना प्रतिनिधिले निर्वाचन खर्च विवरण बुझाउन सकेका छैनन् ।
यस्तै, चौकुने गाउँपालिकाबाट निर्वाचन प्रतिनिधिहरूले पनि अहिलेसम्म विवरण बुझाएका छैनन् । अध्यक्षमा माओवादीबाट खड्का विक निर्वाचित भएका थिए । उपाध्यक्षमा कांग्रेसका नरबहादुर वान्तोला रहेका छन् । ५२ निर्वाचित जनप्रतिनिधिले हालसम्म खर्च विवरण नबुझाएको निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।
प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले हालसम्म पनि निर्वाचन आयोगमा खर्च विवरण पेश गरेकी छैनन् । नगरपालिकाबाट जम्मा तीन जनाले मात्रै आयोगमा विवरण बुझाएका छन् । विवरण बुझाउनेमा वडा नं. पाँचका वडाध्यक्ष लोकबहादुर शाही, वडा नं. १३ का सदस्य रत्न बहादुर बोहरा र वडा नं. ८ की महिला सदस्य सुमित्रा कोइरालाले मात्रै विवरण बुझाएकी छिन् । उपप्रमुख नीलकण्ठ खनालले पनि आफ्नो खर्च विवरण बुझाउन सकेका छैनन् ।
बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारी र उपाध्यक्ष लक्ष्मी पुन मगरले पनि हालसम्म निर्वाचन खर्च विवरण बुझाएका छैनन् । यो पालिकाबाट ३५ जनाले निर्वाचन खर्च विवरण पेश गरेका छन् ।
यस्तै, पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले खर्च विवरण बुझाए पनि उपप्रमुखमा दोहोरिएकी मुक्तिदेवी रेग्मी पुरीले भने निर्वाचन आयोगमा खर्च विवरण बुझाउन अटेर गरेकी छिन । यो पालिकाबाट निर्वाचित भएका ५७ जनाले विवरण बुझाएका छन् ।
सुर्खेतको चिङ्गाड गाउँपालिकाका अध्यक्ष बोधविक्रम जिसी र उपाध्यक्ष मिनाकुमारी रोकायले आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन् । यो पालिकाबाट २९ जनाले विवरण बुझाएको तथ्यांक आयोगसँग छ ।
यस्तै, सिम्ता गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्द र उपाध्यक्ष गोमा शर्मा रेग्मी सहित ३३ जनाले खर्च विवरण बुझाएका छन् । लेकबेशी नगरपालिकाका प्रमुख उमेश कुमार पौडेल र उपप्रमुख विमला खडलुकसहित ५१ जनाले खर्च विवरण बुझाएका छन् ।
त्यस्तै, भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकाल र उपप्रमुख धनसरा बोहरासहित ५० जनाले खर्च विवरण बुझाई सकेका छन् ।
प्रदेश निर्वाचन कार्यालय प्रमुख दुर्गा चालिसेले चुनावमा सहभागी भएका सबै उम्मेदवारले एक महिनाभित्रमा विवरण बुझाउनुपर्ने बताए ।
उनले भने, ‘जित वा हार जे भएपनि निर्वाचन सम्पन्न भएको एक महिनाभित्रमा खर्च विवरण बुझाइसक्नुपर्छ । उहाँहरू सबैले कानूनका बारेमा जानकार हुनुपर्ने हो । कम्तीमा जितेका जनप्रतिनिधिले समयमै निर्वाचन खर्च विवरण दिनपर्थ्यो । असार तीन गते फेरि सूचना निकालेका पनि थियौँ । तर आधा जति आउनुभएन । हामीकहाँ आएका सबैको विवरण केन्द्रमा पठाइदिएका छौँ ।’