सियारीमा चिकित्सकीय सेवाको पशु हाटबजार सञ्चालन – Nepal Press

सियारीमा चिकित्सकीय सेवाको पशु हाटबजार सञ्चालन

रुपन्देही ।ग्रामीण क्षेत्रमा व्यवस्थित पशु हाटबजार नहुँदा समस्या झेलेका रुपन्देहीको दक्षिणी क्षेत्रका किसानलाई सहजता बनाउनेगरी संचालनमा ल्याइएको छ ।

सियारी गाउँपालिका वडा नं २, च्याङ्गठामा विश्व बैँकको पाँच करोड ऋण अनुदानमा हाटबजार तयार भएपछि स्थानीयलाई सहज भएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले यो बजारको शुभारम्भ गर्दै ग्रामीण क्षेत्रमा यस्ता हाटबजारले किसानको पहुँच पुग्ने बताए ।

हाटबजारमा पशुको स्वास्थ्य जाँच, तिनीहरुको खरिद बिक्री, दाना पानी खुवाउने व्यवस्था गरिएको छ । गाई भैँसी बिक्री नभए केही दिनलाई होल्डिङ सेन्टरमा राख्न सकिन्छ । किसान तथा व्यापारीलाई खाजा, खाना र आराम गर्ने स्थल बनेको छ । पशु हाटबजारमा प्राविधिक र व्यवस्थापकीय सेवा गाउँपालिकाले गर्ने छ ।

उत्पादनशील गाईभैँसी र मासुका लागि पाडो, राँगो र भैँसी राख्ने व्यवस्था छ । हाटबजार सञ्चालनको व्यवस्थापनका लागि खरिदकर्ताबाट भने तीन सय रुपैँया लिने गाउँपालिकाले जनाएको छ । पशु हाटबजार दुई विघा क्षेत्रफलमा फैलिएको छ । यहाँबाट एक हजार पशु चौपाया खरिद बिक्री गर्न सकिन्छ । रुपन्देहीबाट मासुका लागि पाडो, राँगो र भैँसी काठमाडौँ, पोखरा र चितवनमा जान्छ भने उत्पादनशील गाईभैँसी विशेष गरि छिमेकी जिल्लामा लैजाने गरिएको छ ।

किसानलाई गाईभैँसीको बजारीकरणमा सहज होस् भन्ने उद्देश्यका साथ नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले हाटबजार निर्माण गरेको आयोजना प्रमुख गान्धीराज उपाध्यायले बताए ।

हाटबजारमा पशु चिकित्सकको व्यवस्था गरिएको छ । जहाँ किसानले ल्याएका पशु चौपायाको निशुल्क उपचार हुने गाउँपालिकाका पशु शाखा प्रमुख गणेश खनालले जानकारी दिए । अत्याधुनिक पशु हाटबजारमा निःशुल्क विशेषज्ञ चिकित्सकीय सेवा लिन पाइने भएपछि किसानहरु खुसी भएका छन् ।

हाटबजारमा पशु चौपाया बिक्री गर्दा उचित मूल्य पाइने र सहजरुपमा बिक्री गर्ने वातावरण तयार भएकोे किसानहरुको अनुभव छ । धेरै व्यापारीसँग मोलतोल गर्न सकिने भएकाले पनि किसानहरुले आफ्नो उचित मूल्य पाउने विश्वास गरेको मायादेवी गाउँपालिकाका किसान दिपचन्द्र यादवले बताए ।

स्थानीय नजरे आलमले पशु हाट नभएकाले धेरै समस्या झेलेका किसानलाई सहज बनाएको जनाएका छन् । हाटबजार सञ्चालनका लागि समिति गठन गरिएको छ । सियारी च्याङ्गठा पशु हाटबजार सञ्चालक समितिले साप्ताहिक हाटबजार अन्तरगत हरेक आइतबार बजार सञ्चालनमा ल्याउने गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर