पैसा नभै चुनाव जित्न सकिन्न, मन्त्री भएपछि चुनाव खर्च असुल्न थाल्छन् : प्रचण्ड (भिडिओ)
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पैसा नहुने र अनेक खालका तिकदम गर्न नजाने चुनाव जित्न नसकिने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ९ औं स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष प्रचण्डले चुनावमा खर्च गर्न नसक्नेले र अनेक खालका तिक्रदम गर्न नजानेले चुनाव नजित्ने बताएका हुन् ।
उनले २०६४ को चुनावमा माओवादीबाट जो उठेपनि जित्ने अवस्था रहेको बताउँदै अब त्यस्तो अवस्था नरहेको बताए ।
उनले भने, ‘निर्वाचन प्रणाली सुरुमा त क्रान्तिको रापताप हुँदाखेरि जो उठेपनि जित्ने जस्तो भएको थियो २०६४ को चुनावमा माओवादी भनेर उठाइदिएपछि जितिहाल्ने जस्तो भएको थियो । अहिले त्यस्तो छैन । अब धेरै पैसा खर्च गर्न सकेन भने अनेक खालका तिकदम गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गाह्रो छ ।’
उनले चुनावमा खर्च गरेको पैसा मन्त्री भएपछि असुल्ने गरेको समेत खुलाए । उनले भने,‘सांसद हुने बेला करोडौं खर्च गरेर सांसद किन हुन्छन् त मान्छे सांसद नभई मन्त्री प्रधानमन्त्री हुन पाउँदैन । मन्त्री र प्रधानमन्त्री हुन करोडौं खर्च गर्न पर्ने भयो । सांसद भइसकेपछि मन्त्री हुन त्यहाँ पनि अनेक खालका खेलहरु खेल्नुपर्यो मन्त्री भएपछि लगानी उठाउनुपर्यो त्यत्रो लगानी गरिसकेको छ । अनि त्यहाँ भ्रष्टचार संस्थागत हुन्छ । ’
उनले निर्वाचन प्रणाली गहिरो भुमरीमा फस्न लागेको भन्दै चिन्ता व्यक्त गरे ।
‘गाउँपालिकाको चुनावमा १० करोड खर्च गरेर जितेर आउनुभएको देखिएको छ । एउटा गाउँपालिकाको अध्यक्षले १० करोड खर्च गर्ने भनेपछि संघ र प्रदेशको चुनावमा त उनीहरुले ५० औं करोड अरबौं खर्च गर्ने भए श्रमजीवि जनताले चुनाव जितेर आउने भनेको त सपना जस्तो हुने भयो । दलाल पूँजीपतिहरु आउने खतरा दिनप्रतिदिन बढ्दो छ । यसलाई गहिरो गरी राजनीतिक दलसँग छलफल गर्नुपर्यो । हामीले ल्याएको निर्वाचन प्रणाली खतरामा पर्यो भनेर जनतालाई सडकमा ल्याउनुपर्यो ठूलोठूलो आन्दोलन गर्नुपर्यो नत्र त यो निर्वाचन प्रणालीले देशलाई कहाँ लैजान्छ । भन्न सकिदैन’ उनले भने ।