सिरहामा मिटरब्याजपीडितको प्रदर्शन, सीडीओसमेत सुदखोरसँग मिलेको आरोप
सिरहा । सिरहाका मिटरब्याजपीडितहरूले गोलबजारमा प्रदर्शन गरेका छन् । उनीहरूले सुदखोरले आफूहरूलाई उठीबास लगाएको साथै सुकुम्बासीसमेत बनाएको भन्दै न्याय मागेका हुन् ।
गोलबजारमा सम्रिका महतो, श्रद्धादेवी साह, गीतादेवीलगायतका साहुकरबाट घरबारविहीन भएका दर्जनौं पीडित प्रदर्शनमा उत्रिएका छन् । साहुकरहरूले कानुनविपरीत ३६ प्रतिशत ब्याज लिएको, कपाली तमसुकको भरमा सावाँलाई तेब्बरभन्दा बढी बनाएर आफूहरूलाई फसाइएको भन्दै पीडितहरूले प्रदर्शन गरेका हुन् ।
पीडितहरूका अनुसार गृहमन्त्रालयले मिटरब्याजीहरूलाई कारबाही गर्न सीडीओलाई परिपत्र गरे पनि कारबाही भने गरिएको छैन । आन्दोलनमा संयोजन गरिरहेका मनोजकुमार पासवानले भने, ‘पीडकसँगको मिलेमतोमा सीडीओले मुद्दा दर्ता गरिदिएका छैनन् । यो अन्यायपूर्ण हो ।’
मधेस प्रदेशका अधिकांश जिल्ला साहुकरबाट पीडित भएकाहरू संगठित भएर ठूलो आन्दोलनको तयारी गरिरहेको अभियन्ता संघर्ष दाहालले बताए ।
महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाहीलगायतका जिल्लामा १० हजारभन्दा पीडित रहेको अभियन्ताहरू बताउँछन् ।