नागरिकता विधेयकमा गठबन्धनका नेताको बलमिचाइँ देखियो : विमला राई (भिडिओ) – Nepal Press

नागरिकता विधेयकमा गठबन्धनका नेताको बलमिचाइँ देखियो : विमला राई (भिडिओ)

काठमाडौं । राष्ट्रियसभा सदस्य विमला राईले नागरिकता विधेयक संसदमा पेस गर्दा गठबन्धन दलका शीर्ष नेताले बलमिचाइँ गरेको टिप्पणी गरेकी छन् ।

सोमबारको बैठकमा उनले प्रक्रियामाथि प्रश्न उठाउँदै नागरिकताजस्तो संवेदनशील विषयमा संसदको अवमूल्यन गरेको र सांसदको स्वविवेक निर्णय गर्ने अधिकारको पनि अवमुल्यन गरेको आरोप लगाइन् ।

उनले भनिन्, ‘जुन तरिकाले प्रतिनिधिसभाबाट हाम्रो सभामा आएको छ, त्यो प्रक्रियामा मेरो असमति छ । यो विधेयक पहिलेको सरकारले प्रतिनिधिसभामा पेस गरेर २२ महिना प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भएर एउटा निचोडको अवस्थामा आएर एउटा प्रतिवेदन आइसकेपछि अहिलेको सरकारले त्यही प्रतिवेदनमा केही सच्याउनैपर्ने प्रावधान भए प्रतिवेदनमा संशोधन गर्न लगाएर समितिबाट फिर्ता ल्याउन सक्थ्यो । त्यो नगरेरै एकदमै अनाहक रूपमा यो विधेयकलाई फिर्ता लगेर कसको दबाब, कसको चाहना, कसको चालमा के भइरहेको छ, थाहा छैन ।’

विधेयकमा केही राम्रा प्रावधान पनि भएकाले फिर्ता गर्न पनि नसकिने उनले बताइन् ।

उनले भनिन्, ‘साढे ६ लाखभन्दा बढी युवायुवती अहिले नागरिकताविहीन छन् । तिनले नागरिकता पाउनुपर्छ । यो कुरा हामीले पहिले पनि उठाएको हो । विशेषगरी एकल आमाका सन्तानलाई जुन नागरिकता दिइने प्रावधान आएको छ, त्यो एकदमै सही छ । त्यो सही भएका कारणले पनि हामीले यो विधेयक फिर्ता गर्न अप्ठ्यारो परिरहेको छ ।’

सांसद राईले विधेयकमा विवाह गरी आएको महिलाले अंगीकृत नागरिकता प्राप्त गर्नका लागि एक दिन पनि कुर्नु नपर्ने प्रावधान डरलाग्दो भएको बताइन् ।

‘सार्क मुलुकमा हेर्ने हो भने भारत, अफगानस्थान र श्रीलंकामा वैवाहिक अंगीकृत नागरिकता ७ वर्षमा पाइन्छ । पाकिस्तानमा ५ वर्ष, माल्दिभ्समा १२ वर्ष पर्खिनुपर्छ । बंगलादेशमा २ वर्ष । नेपालमा आएको भोलिपल्ट । किन यस्तो प्रावधान राखियो ? ७ वर्ष भनेर भन्दाभन्दै यो सरकारले किन यसरी बलमिचाइँ गर्‍यो ?’

नागरिकता विधेयकमा लैंगिक र पितृसत्ताको बलमिचाइँ प्रष्ट देखिएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *