चिया बगानमा काम गर्ने तीन किशोरीले किन गरे ‘सामूहिक आत्महत्या’ ? – Nepal Press

चिया बगानमा काम गर्ने तीन किशोरीले किन गरे ‘सामूहिक आत्महत्या’ ?

काठमाडौं । झापाको कचनकवलमा आइतबार बिहान एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका तीन किशोरीले सामूहिक आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । तीनैजना किशोरी स्थानी चिया बगानका मजदुर हुन् ।

झापा प्रहरी प्रमुख विश्वमणी पोखरेलले प्रारम्भिकरुपमा घटना आत्महत्या नै देखिएको बताए । ‘अरु त्यस्तो केही देखिँदैन’, एसपी पोखरेलले भने ।

कचनकवल–५ पाठामारीका १६ वर्षीया करिना गणेश, १७ वर्षीया अन्जली गणेश र १६ वर्षीया शर्मिला गणेश स्थानीय सुनकोशी चिया बगानमा रहेको बयरको रुखमा झुन्डिएको अवस्थामा फेला परेका थिए । उनीहरु तीनै जना त्यही चिया बगानका मजदुर हुन् ।

पोस्टमार्टमपछि तीनै जनाको शव सोमबार बिहान अन्त्येष्टि भएको कचनकवल–५ का वडाध्यक्ष मोहम्मद नुर आलमले जानकारी दिए । ‘हामी पनि अचम्मित र स्तब्ध छौँ । तीनै जनाले एकैपटक आत्महत्या कसरी गरे होला भनेर सोच्न पनि सक्दैनौँ’, वडाध्यक्ष आलमले भने ।

झापाका प्रहरी प्रमुख पोखरेलले पोस्टमार्टमको रिपोर्टपछि थप कुरा भन्न सकिने बताए । आत्महत्याको सम्भावना बलियो देखिएको भन्दै प्रहरीले कसैलाई पनि नियन्त्रणमा लिएको छैन ।

स्थानीयका अनुसार कमजोर आर्थिक अवस्थाका कारण सानै उमेरमा पढाई छाडेका तीनै जना स्थानीय चिया बगानका मिल्ने कामदार थिए ।

करिना र शर्मिलाको घर घटनास्थलदेखि करिब ६/७ मिटर दुरीमा पर्छ भने अन्जलीको घर करिब दुई किलोमिटर टाढा रहेको छ ।

‘परिवारको आर्थिक अवस्थाका कारण उनीहरु सानै उमेरमा चिया बगानको मजदुर बने । उनीहरु तीनै जनाको परिवार भनेको हरेक दिन कमाएर बिहान बेलुकाको छाक टार्नुपर्ने अवस्थाका हुन्’, वडाध्यक्ष आलम भन्छन् ।

शुक्रबार साँझ अन्जली आफन्त पर्ने करिनाको घरमा पाहुना लाग्न आएकी थिइन् । शनिबार दिउँसो १२ बजेतिर उनीहरु घरबाट बाहिर निस्किएको र अपरान्ह साढे ४ बजेसम्म सँगै देखिएको स्थानीयलाई उदृत गर्दै आलमले बताए ।

‘गाउँघरमा वल्लो घर, पल्लो घर जाने चलन हुन्छ । बेलुका नआएपछि आफन्तकहाँ गएर बसेकी भनेर परिवारले सोचेको रहेछ’, आलमले भने ।

अन्जलीको परिवारमा आमा–बुबा, दाई, बहिनी र भाई छन् । सिक्किममा मजदुरी गर्दै आएका उनका बुबा छोरीको घटनाबारे थाहा पाएपछि आइतबार साँझ घर फर्किएका छन् । करिनाको परिवारमा बुबा बिरामी छन् भने दिदी र दाई पनि छन् । आमा भने छैनन् । यस्तै, शर्मिलाको परिवारमा चार जना बहिनी र बुबा आमा रहेका छन् ।

‘घरमा कुनै झगडा भएको जस्तो पनि देखिँदैन । आत्महत्या गर्न सक्ने अरु कारण पनि छैन । त्यसमा पनि तीनै जना झुन्डिएको अवस्थामा भेटिएकाले प्रहरीले गम्भीर भएर अनुसन्धान गरिदियोस् भन्ने हाम्रो आग्रह छ’, वडाध्यक्ष आलमले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *